News 24 Television
ठेकेदारको लापरवाही, स्थानीयलाई सास्ती  

ओखलढुङ्गा । अधिकांश निर्माण कम्पनीको लापरबाहीका कारण ओखलढुंगाका थुप्रै योजनाहरु प्रभावकारी रुपमा अघि बढ्न सकेको छैन । कतिपय निर्माण कम्पनीहरुले ठेक्का लिएको लामो समयसम्म पनि काम नै सुरु गर्दैनन् भने कतिले म्याद सकिन लागेपछि काम सुरु गर्छन् । 

अनेक बाहना बनाएर म्याद थप्दै जाने तर समयमा काम नसक्ने ठेकेदारहरुका कारण एकातिर नागरिकहरुले दुख पाइरहेका छन् भने अर्कोतर्फ विकासको गति सुस्त भइरहेको छ । 

दैनिक निकै ब्यस्त हुने १२ किलोमिटरको यो सडक ग्राभेलका लागि २०७६ पुस ७ गते ठेक्का सम्झौता भएको थियो । भ्याट बाहेक १४ करोड ७५ लाख ८५ हजार २ सय ५५ रुपैयाँमा ठेकेदार कम्पनी एमएस कान्छाराम कन्सट्रक्सन कम्पनी प्रालिसंग ठेक्का सम्झौता भएको थियो । 

२ वर्षभित्रमा सडक ग्राभेल गरिसक्ने सम्झौता गरिएको भएपनि ५ बर्ष वित्न लाग्दा समेत काम अपुरै छ । निर्माण कम्पनीले पेटी ठेकेदारलाई काम दिएर सुरु गरिएको बिचमै काम रोकेको र समयमा नसकेको भन्दै स्थानीयले केहि समय अघि संघर्ष समिति नै बनाएर सम्बन्धित निकायको ध्यानाकर्षण गराएका थिए । 

त्यसको पनि सुुनुवाई नभएपछि काम अलपत्र पार्ने ठेकेदारको गोबरसहितको तस्बिर र ब्यानर बोकेर विरोध गर्ने, राजमार्गको सडक अवरुद्ध पार्नेजस्ता विरोधका कार्यक्रमहरु अघि बढाइयो । स्थानीयको दबाबपछि रोकिएको काम थालिएपनि अझैसम्म पुरा नहुँदा नागरिकले दुख पाइरहेका छन । 

ठेक्का सम्झौतापछि काम पुरा गर्न भन्दै ३ पटक म्याद थप भैसकेको छ । अन्तिम पटक थपिएको म्याद पनि गत पुस २९ मै सकियो । तर काम भने अझै सकिएको छैन । यता ठेक्का लगाउने निकाय पूर्वाधार विकास कार्यालय ओखलढुंगाले भने काम अन्तिम चरणमा पुगिसकेको प्रतिक्रिया दिएको छ । 

वर्षातको समयमा यो सडकमा सवारी साधन नै डुब्ने अवस्था हुन्छ भने हिउँदको समयमा धुलोले बस्ती नै ढाकिन्छ । पटक पटक म्याद थपेर पनि काम पुरा नहुदा स्थानीय आजित बनेका छन् ।  जिल्लाका सरोकारवाला निकाय ठेकेदार कम्पनी संग लाचार बन्दा विकासले गति नपाएको उनिहरुको बुझाई छ ।

प्रकाशित मिति: शुक्रबार, माघ २५, २०८१  ०८:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update