News 24 Television
लागू औषध नियन्त्रण गर्न प्रहरीको महाअभियान शुरु

काठमाडौं । नेपालमा लागूऔषध दुब्र्यवसनीको अवस्था डरलाग्दो छ । माध्यामिक तहकै विद्यार्थीहरु नै बढी भन्दा बढी लागूऔषध दुब्र्यवसनीमा फसेको देखिन्छ । दुब्र्यवसनीसँगै लागूऔषध कारोबारी पनि बढिरहेका छन् । त्यसैले प्रहरीले यसलाई नियन्त्रण गर्नका लागि लागूऔषधविरुद्धको महाअभियान नै शुरु गरेको छ । 

नेपालमा पछिल्लो समय लागू औषध दुब्यवसनीहरु बढिरहेका छन् । विद्यालय तहदेखि नै युवाहरु बढी भन्दा बढी यस्ता दुब्र्यवसनीमा फसिरहेका छन् । दुब्र्यवसनी रोक्नका लागि नेपाल प्रहरीले विभिन्न समयमा सचेतनामुलक कार्यक्रमहरु पनि चलाइरहेकै छ । तर पनि झन् झन् दुब्र्यवसनी बढिरहेको छ । त्यसैले प्रहरीले शनिवारदेखि लागुऔषध बिरुद्धको महाअभियान नै सञ्चालन गरेको छ । 

महाअभियानको शुभारम्भ गर्दै गृहमन्त्री रमेश लेखकले नेपाललाई लागुपदार्थ मुक्त देशको रुपमा स्थापित गर्न सबै एकजुट भएर काम गर्नुपर्ने बताए । तीन तहकै सरकारले लागुऔषधबिरुद्धको महाअभियानलाई सफल बनाउन आवश्यक काम गर्नुपर्ने उनको भनाई छ । ६ महिनामा लागुऔषध मुक्त पालिका घोषणा गर्नेगरी अभियान चलाउन लेखकले सुझाएका छन् । निवारण नै गर्ने अभियानमा सिङ्गो समाज नै लाग्नुपर्ने उनको भनाई छ । 

लागूऔषध प्रयोगकर्ता मात्र होइन, कारोबारी पनि उत्तिकै छन् । प्रहरीले दिनहुँजसो लागूऔषध कारोबारीहरुलाई ठाउठाउँबाट पक्राउ गरिरहेकै हुन्छ । त्यसैले लागुऔषधको प्रयोग र कारोबार नियन्त्रणका लागि भएका प्रयासहरुको पुनःविचार आवश्यक रहेको काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल बताउँछिन् । लागुऔषबिरुद्धको महाअभियान नेपाल प्रहरी र स्थानीय सरकारको मात्र नभइ सम्पूर्ण नागरिकको भएको उनले बताइन् । 

आफूहरुको जोडबलले मात्रै लागूऔषध नियन्त्रण हुन नसक्ने ठम्याई प्रहरीको पनि छ । लागुऔषध नियन्त्रण र रोकथाम कुनै एकमात्र निकायबाट सम्भव नरहेकोले सामुहिक दायित्वको विषयलाई सबै मिलेर नियन्त्रण गर्न जरुरी रहेको प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर बताउँछन् । 

विश्वमा करिव ३० करोड र एशियामा मात्रै करिव ६ करोडको हाराहारीमा लागुऔषध सेवनकर्ताहरु रहेको तथ्यांकमा उल्लेख छ ।  जसमध्ये गाँजा र सोबाट निर्मित लागुऔषधको प्रयोगकर्ता झन्डै ८० प्रतिशत रहेको अनुमान गरिन्छ । हरेक वर्ष ७ प्रतिशतका दरले लागू औषध सम्बन्धी मुद्धा दर्ता हुने क्रम बढिरहेको छ । अपराध बढाउनेमध्येको एउटा मुल कारण लागुऔषध रहेको बताउनु भयो । 

लागूऔषधकै कारण अपराध पनि बढ्ने गरेका छन् । त्यसका लागि पनि लागुऔषध नियन्त्रण आवश्यक छ । युवा पुस्ता दुब्र्यवसनीमा फस्दै जाने हो भने आगामी दिनमा एउटा पुस्ता नै प्रभावित हुने जोखिम रहन्छ । त्यसैले काठमाडौं उपत्यकाभित्र शुरु गरिएको लागुऔषध नियन्त्रणसम्बन्धी महाअभियान देशब्यापी रुपमा नै पुर्याउन आवश्यक छ । 

प्रकाशित मिति: आइतबार, फागुन १८, २०८१  ०६:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update