
कास्की । मानव सेवा फाउन्डेसनका संस्थापक विजय कृष्णमुर्ती भनेर चिनिने विजय भण्डारीले पोखराको लेकसाइडस्थित बाराही घाटमा कोटीहोमको तयारीका लागि भन्दै गर्न लागेको भूमीपुजनमा घरेलु हात हतियार, फलामको रडसहित गुण्डा लगाएर नगर प्रहरीमाथि आक्रमण गरेको आरोप लागेको छ । कोटीहोम सञ्चालनको विषयमा महानगर र फाउन्डेसनको विवाद अदालतसम्म पुगेपनि विवाद सल्टिन सकेको छैन् ।
पोखरामा कोटीहोम सञ्चालन गर्ने पक्ष र महानगरबीचको विवादका कारण तनावको स्थिति सिर्जना भएको छ । पोखरा महानगरपालिकाले कोटीहोम सञ्चालन गर्न मानव सेवा आश्रमलाई अनुमति नदिएको भन्दै महानगर प्रहरी लगाएर भूमिपूजन बन्द गर्न भनेपछि स्थिति तनावग्रस्त बन्न पुगेको हो ।
उसोतः महानगरपालिकाले कोटीहोम सञ्चालनका लागि अनुमति नदिएको भनेपनि नेपाल ट्रस्टको जग्गा भाडामा आश्रमले लिएको भाडा सम्झौतापछि स्थिति थप तनावमा गएको देखिन्छ । उच्च अदालतमा पुगेका दुबै पक्षको सुनुवाई भइसकेको छ भने कोटीहोम सञ्चालन गर्न दिने गरि अदालतले आदेश जारी गरिसकेको अवस्था छ । तर, महानगरपालिकाले भने कोटीहोम अन्यत्र गर्नुपर्ने भन्दै आएको छ ।
यहि कारण तानवको स्थिति सिर्जना हुँदा प्रहरी र सर्वसाधारण समेत घाइते भएको बताइएको छ । स्थानीय सरकारको अनुमतिबिना कोटीहोम गर्न लागेको भन्दै महानगरले कार्यक्रम नगर्न भनिरहेको छ । यता, महानगरले भने नगर प्रहरी माथि आक्रमण भएको जनाएको छ । झडपमा नगर प्रहरीका १० र कोटीहोम तर्फका ३ जना घाइते भएका छन् ।
घाइते हुनेमा नगर प्रहरी धेरै छन् र उनीहरुलाई टाउकोमा प्रहार गरिएको छ । ढुङ्गा र रड प्रहार गरी सुरक्षामा खटिने नगर प्रहरी माथि भएको घटना निकै निन्दनीय भएको महानगरले जनाएको छ ।
यता पर्यटन व्यवसायीहरुको साझा संस्था पोखरा पर्यटन परिषदले पनि पर्यटकीय स्थलमा वायु र ध्वनी प्रदुषण हुने भन्दै कोटिहोम गर्न नहुने भन्दै विज्ञप्तिनै जारी गरेको थियो । कुनै पनि कार्यकम गर्दा स्थानीय सरकारको स्वीकृति लिनुपर्ने महानगरले जनाएको छ । .
मानव सेवा फाउन्डेसनले भने कोटी होम सञ्चालनका लागि आवश्यक प्रक्रिया सबै पूरा गरेको दाबी गरेको छ । नियोजित रूपमा ठूलै शक्ति कोटीहोम रोक्न लागिपरेको हुँदा त्यसबाट आफू पछि नहट्ने र कुनै पनि हालतमा पोखरामा कोटीहोम सञ्चालन गरेरै छोड्ने विजय कृष्ण मूर्तिले प्रतिक्रिया दिएका छन् ।
फाउन्डेसनले कुनैपनि हालतमा कोटीहोम गर्ने बताइरहेको छ भने पोखरा महानगरले स्थानीय सरकारको स्वीकृति र अनुमति बिना गर्न नदिने बताउँदै आएको छ ।