News 24 Television
ज्ञानेन्द्रले मूर्खता गरे सखाप हुन्छन्  : प्रचण्ड 

रौतहट । माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजतन्त्र फर्किन असम्भव रहेको बताएका छन्।

 ‘जनतासँग माओवादी स् तराई मधेश जागरण अभियान’ अन्तर्गत रौतहट आइपुगेका प्रचण्डले शनिबार पत्रकारहरूसँग कुरा गर्दै पूर्व राजा ज्ञानेन्द्रलाई शासन गर्न मन भए पार्टी खोलेर चुनाव लड्न सुझाव दिएका छन्।

'केही व्यक्तिद्वारा राजा ल्याउने हल्लाहल्ला त गरिएको छ तर  इतिहासको चक्का पछाडि फर्काउन सम्भव छैन,' उनले भने, 'राजालाई राजनीति नै गर्न मन लागेको भए पार्टी खोले हुन्छ । पार्टी खोलेर चुनाव लडेर जिते हुन्छ त्यो अधिकार संविधानले सबैलाई दिएको छ।'

उनले पूर्व राजा ज्ञानेन्द्रलाई मूर्खता गरेर आफ्नो बाँकी रहेको सबै सखाप पार्ने गल्ती नगर्न चेतावनी दिएका छन्। उनले नेपाली जनताले उदारतापूर्वक त्यतिबेला कारबाही गर्नुको सट्टा आरामपूर्वक बस्न दिएको उदारतालाई राजाले कमजोरी सम्झेर जबरजस्ती गर्न खोजियो भने नेपाली जनतालाई यो सह्य नहुने भन्दै यसले ज्ञानेन्द्रलाई सखाप पार्ने उनको भनाइ छ। 

prachanda-1741410692.jpg
'ज्ञानेन्द्रले पहिला पनि केही ठुलठुला गल्ती गरेका छन् मैले त ज्ञानेन्द्रले मूर्खता नै गरेको देख्छ,' उनले भने , ‘अहिले धेरै नभनौँ अब फेरि अर्को मूर्खता गरेर आफ्नो रहेको पनि सबै सखाप पार्ने गल्ती नगरुन् ।’

अर्को एक प्रसङ्गमा उनले आफूहरूले व्यक्तिगत कुलमान घिसिङकै लागि त विद्रोह हुँदैन जनताको लागि यो विद्रोह गर्ने बताए ‌ । 

कुलमानले राम्रो काम गरेर घाटामा गएको विद्युत प्राधिकरणलाई नाफामा लगे लोडसेडिङ अन्त्यमा योगदान पुर्‍याएको र उनको जनतामा राम्रो प्रभाव रहेकाले उनलाई यो सरकारले हटाए जनविद्रोह हुने प्रचण्डको दाबी छ। 

'उनलाई हटाउन, उनलाई सताउन सरकारले जे गर्यो यो नेपाली जनतालाई मन परेको छैन् । यो सरकारले कुलमान हटाउने निर्णय गर्यो भने जनतामा जुन असन्तुष्टि छ त्यो झन् बढ्छ,' प्रचण्डले भने, 'समग्र विषयलाई सोचेर नै अगाडि जानुपर्ने हुन्छ । विनाशकालले विपरीत बुद्धि भनेझैँ यो सरकार उल्टो उल्टो बाटोमा हिँडिरहेको छ।'

 माओवादी केन्द्रले सुरु गरेको तराई मधेश जागरण अभियानले आम जनताको समस्यालाई बुझ्ने र समाधानको लागि पहल गर्ने उनको बुझाइ छ। उनले हुलाकी राजमार्ग क्षेत्रमा बस्ने जनताहरू विकासबाट पछाडि पारिएका र राज्यद्वारा हेपिएका भन्दै त्यसको समाधानको लागि आफूहरूको यो अभियान फलदायी हुने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति: शनिबार, फागुन २४, २०८१  १०:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update