News 24 Television
गुरुङ समुदायको महत्वपूर्ण पर्व टहोटे पोखरामा धुमधामले मनाइयो 

काठमाडौं । मंगलवार गुरुङ समुदायको बाहुल्यता भएको पोखरामा सांस्कृतिक पर्व टहोटे पर्व मनाइएको छ । वर्षको दुई पटक साउनको अन्तिम मंगलबार र चैतको अन्तिम मंगलबार उधौली र उघौलीको रुपमा यो पर्व तमु समुदायले मनाउने गर्छन् । यसै अवसरमा पोखरामा बसोवास गदै आएका तमुहरुले मंगलबार पोखराको मुख्य चोकहरुमा परम्परागत भेषभुषा, झाँकी तथा ¥याली सहित ट्होटे पर्व धुमधामसँग मनाएका हुन् । 

टहोेटे पर्व तमु समुदायको ऐतिहासिक र सांस्कृतिक महत्व बोकेको चाड हो, जसले आपसी सद्भाव र पहिचान संरक्षणमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ । पर्वका अवसरमा युवा तथा वृद्धसमेत  उत्साहजनकरुपमा सहभागि भएका छन् । 

विगतमा गाँउ घरमा भुतप्रेत धपाउने र रोग ब्याधि नलागोस् भन्ने उद्देश्यले यो पर्व मनाउने चलन रहेको छ । तर पछिल्लो समय आफनो संस्कृतिको संरक्षण गर्ने र समाजमा रहेका विकृति विंसगतिको अन्त्यको कामना तथा अधिकार प्राप्तिको कामना गदै मनाउन थालिएको छ । 

दुःख दिने तत्वलाई सीमा कटाएर भगाउने र आपसी सद्भाव कायम राख्न यो पर्व मनाउँदै आएको तमु धीं नेपालका अध्यक्ष हुम तमु बताउँछन् ।

ट्होटे पर्व मनाउन कास्कीका स्थानीय तहले सार्वजनिक विदा समेत दिएका छन् । कास्कीको अन्नपूर्ण, मादी र माछापुच्छ्रे गाउँपालिकाले विदा दिएका हुन् । गुरुङ भाषामा ट्होटेंको शाब्दिक अर्थ ट्हो भनेको गाँउ बस्ती र टें भनेको शत्रु धपाउने भन्ने वा शत्रु धपाएर समाज सुरक्षित राख्ने भन्ने बुझिन्छ । व्यक्ति, गाउँ, समाजको सुरक्षाका लागि यो पर्व मनाउँदै आएको गुरुङ समुदायको बुझाई छ । 

हर्ष र उल्लासका साथ मनाइने यो पर्व तमु समुदायको ऐतिहासिक र सांस्कृतिक पहिचानको प्रतीक मानिन्छ । यस्ता सांस्कृतिक पर्वहरूले भिन्न समुदायबीच आपसी समझदारी बढाउने र सामाजिक एकता मजबुत पार्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गुरुङ समुदायका अगुवाहरुले लिएका छन् ।

प्रकाशित मिति: बुधबार, चैत २७, २०८१  ०८:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update