News 24 Television
सीमानाकामा तस्करको रजगज, पत्रकारलाई त्रासदी

रुपन्देही । पत्रकारहरुको शान्ति सुरक्षा र प्रेस स्वतन्त्रताको रक्षाको माग गर्दै रुपन्देहीका पत्रकारहरु आन्दोलित भएका छन् । पत्रकार राधेश्याम विश्वकर्मामाथि तस्करहरुको समूहले गरेको दुव्र्यवहार र आक्रमणको प्रयासमा संलग्नलाई कारबाहीको माग गर्दै पत्रकारहरु आन्दोलित भएका हुन् । 

यसअघि रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेलाई २४ घण्टाको अल्टिमेटम दिएर ज्ञापन पत्र बुझाएका पत्रकारहरुले बिहीबार जिल्ला प्रशासन अगाडि धर्ना दिए । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिसहति पत्रकारसम्बद्ध विभिन्न संघसंगठनले आन्दोलनप्रति ऐक्यबद्धता जनाएका छन्  । 

आफ्नो मागहरुबारे प्रशासन गम्भिर नभएको आरोप लगाउँदै रुपन्देहीको भैरहवास्थित लुम्बिनी प्रेस क्लबले चरणवद्ध आन्दोलनको कार्यक्रम घोषणा गर्दै जिल्ला प्रशासन कार्यालय रूपन्देहीमा बिहीबार एक घण्टा धर्ना दिएको छ ।

पत्रकार राधेश्याम विश्वकर्मामाथि रुपन्देहीको मर्चवारमा तस्करहरुको समूहले आक्रमण गरेको थियो । आफूलाई दीपेश यादव बताउने व्यक्तिसहित ७–८ जना तस्करहरुको समूहले बैशाख ८ गते विश्वकर्माको संचार उपकरण खोस्ने, भिडियो मेटाउन लगाउने, दुव्र्यबहार गर्ने र भौतिक आक्रमणको प्रयास गरेका थिए । 

धर्ना कार्यक्रममा सहभागी हुन नेपाल भैरहवा आइपुगेकी पत्रकार महासंघको केन्द्रीय अध्यक्ष निर्मला शर्माले रूपन्देहीका पत्रकारहरुको आन्दोलनप्रति केन्द्रिय समितिको एक्येबद्धता रहेको बताइन् । आरोपी पक्राउ नपरेसम्म कुनै पनि हालतमा आन्दोलन नरोकिने र आवश्यक परे यसलाई केन्द्रसम्मै पु¥याइने उनको भनाई छ ।

प्रहरीकै उपस्थितिमा भिडियो डिलिट गर्न लगाउनु र हिरासतबाटै तस्कर भगाउनुले प्रहरी र तस्करको सम्बन्धबारे स्पष्ट पारेको नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाईं बताउँछन् । 

पत्रकार विश्वकर्मामाथिको आक्रमण समग्र प्रेसमाथिकै आक्रमण भएको उनीहरुको भनाई छ । प्रशासनले यो घटनालाई गम्भिरतापूर्वक लिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे बताउँछन् । 

लापरवाही गर्ने प्रहरी अधिकृतहरुलाई स्पष्टिकरण सोधिएको र आरोपीलाई पक्राउ गर्न पक्राउ पूर्जी समेत जारी भइसकेको उनको भनाई छ । प्रहरी हिरासतबाट आरोपी भाग्नुले प्रहरीको कमजोरी देखिएकोले यसमा दोषी देखिने प्रहरीलाई पनि कारवाही गर्ने उनको प्रतिवद्धता छ ।   

भैरहवा–मर्चवार सडक खण्डमा भइरहेको अवैध तस्करीको भिडियो खिच्ने क्रममा यादव सहितको टोलीले पत्रकार विश्वकर्माको क्यामेरा, मोटरसाइकलको साँचो, पत्रकार परिचयपत्र खोसेर उनलाई पनि केहीबेर नियन्त्रणमा राखेका थिए । 

पछि प्रहरी आएपछि प्रहरीकै अगाडी क्यामेरामा भएको दृश्य उक्त समूहले मेटाउन लगाएको थियो । त्यसलगत्तै प्रहरीले तस्करका नाइके यादवलाई पक्राउ गरेको थियो । तर, पक्राउ परिसकेका ब्यक्ति भाग्नुलाई संशयका रुपमा हेरिएको छ । 

पत्रकारको दबाबकाबीच तस्करका नाइके दीपेश पुनः पक्राउ परेका छन् । उनलाई रुपन्देही प्रहरीले नेपाल–भारत सीमानाका कक्रहवाबाट पक्राउ गरेको जनाएको छ । 

प्रकाशित मिति: शुक्रबार, वैशाख १२, २०८२  ०८:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update