
काठमाडौं । उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले कोभिडले समस्यामा परेको अर्थतन्त्र अहिले बिस्तारै लयमा आउन थालेको बताएका छन्।
अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा नयाँ बानेश्वरमा आयोजित बृहत् खुला रक्तदान तथा नि:शुल्क स्वास्थ्य शिविर कार्यक्रममा उनले अर्थतन्त्रका सुचकहरुले अहिले सकारात्मक देखिएको बताएका हुन् । अर्थतन्त्रलाई लयमा ल्याउन व्यवसायी र उद्यमीहरूको योगदान रहेको पनि सिंहले बताए ।
‘कोभिडका कारण अर्थतन्त्रमा सेडब्याक भएको थियो । यसलाई लयमा ल्याउन व्यवसायी, उद्योगीहरू र नेपालको समग्र अर्थतन्त्रको विकासमा रुचि राख्नेहरू सबै मिलेर अघि बढेकै कारण अहिले अर्थतन्त्रका सकारात्मक संकेत देखिएको छ,’ उनले भने ।
स्वास्थ्य शिविर आयोजना हुनु सकारात्मक रहेको धारणा राखे पहुँच नहुने र तत्काल परिक्षण गर्नुपर्ने विरामीहरूका लागि नि:शुल्क स्वास्थ शिविरको महत्व रहेको उनले बताए ।
नयाँ बानेश्वर व्यापार व्यवसायी संघको आयोजनामा भएको सो कार्यक्रममा बाग्मति प्रदेशका आन्तरिक मामिला मन्त्री सुरजचन्द्र लामिछाने, प्रदेश सांसद दिपेन्द्र श्रेष्ठसहित स्थानीय जनप्रतिनिधिको उपस्थिति थियो ।