News 24 Television
पोखरा महानगरमा वडाध्यक्षको आतंक, वर्षियो मुक्का 

काठमाडौं । पोखरा महानगरपालिका वडा नम्बर ४ का वडाध्यक्षले महानगरका कर्मचारीलाई हातपात गरेका छन् । वडाध्यक्षले प्रशासन शाखा प्रमुखमाथि हातपात गरेपछि पोखरा महानगरपालिकाका कर्मचारीले सेवा ठप्प पारे । कर्मचारीहरु पेन डाउन गरेर आन्दोलनमा उत्रिएपछि काम लिएर आउने सेवाग्राही भने मर्कामा परेका छन् । 

पोखरा महानगरपालिका वडा नम्बर ४ का वडाध्यक्षले महानगरका कर्मचारीलाई हातपात गरेका छन् । वडाध्यक्षले प्रशासन शाखा प्रमुखमाथि हातपात गरेसँगै यता महानगरका कर्मचारीले सेवा ठप्प पारेका छन् । 

वडा नम्बर ४ का अध्यक्ष देवकृष्ण पराजुलीले मंगलबार प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा प्रशासन महाशाखा प्रमुख ईश्वरीप्रसाद पोख्रेललाई हातपात गरेका हुन् । 

महानगरपालिकाका कर्मचारीलाई तालिममा पठाउँदा सल्लाह नगरेको भन्दै आफूमाथि हातपात गरेको प्रशासन शाखा प्रमुख पोख्रेलले बताए । 

प्रशासकीय अधिकृतको कार्यकक्षमा पुग्नासाथ वडाध्यक्षले अपशब्द बोल्दै हातपात गरेको उनको आरोप छ । वडाध्यक्षले उक्त समयमा मादक पदार्थसमेत सेवन गरेको पोख्रेलले दाबी गरे । 

घटनाका विषयमा कर्मचारी सम्बद्ध ४ संगठनले मंगलबार मेयर र प्रमुख प्रशासकीय अधिकृतलाई २४ घन्टे अल्टिमेटमसहित ज्ञापन पत्र बुझाएका थिए । 

स्थानीय तह कर्मचारी युनियन, स्थानीय तह कर्मचारी संघ, नेपाल राष्ट्रिय कर्मचारी संगठन र एकीकृत सरकारी कर्मचारी संगठनले संयुक्त रूपमा ध्यानाकर्षण बुझाउँदै कर्मचारीमाथि हातपात गर्ने वडाध्यक्षलाई कारबाही गर्न माग गरेको हुन् । उनीहरुको आन्दोलनले सेवाग्राही मर्कामा परेका छन् । काम लिएर महानगर आउनेहरु त्यसै फर्किएका छन् । 

कर्मचारीले २४ घण्टासम्म पनि कुनै सुनुवाइ नभएको भन्दै महानगरको सेवा ठप्प पारेको बताए । स्थानीय तह कर्मचारी संघका रेशम जिसीले कर्मचारीको सुरक्षाको ग्यारेन्टीको माग गर्दै आन्दोलनको कार्यक्रम गरिएको बताए । उनले सुरक्षाको माग सुनुवाइ नभए थप आन्दोलन गरेर अगाडि बढ्ने चेतावनी दिए ।

दुवै पक्षको छलफलका लागि बिहीबार बिहान बैठक बोलाएको पोखरा महानगर पालिकाका प्रवक्ता मोती तिमिल्सिनाले बताए । छलफलबाटै यो विषयको टुंगो लगाउने उनको भनाई थियो ।

वडाध्यक्ष पराजुलीले सोही दिन व्यवसायी लेखनाथ सुवेदीमाथि पनि हातपात गरेका छन् । व्यवसायी सुवेदीले उजुरी दिएपछि वडाध्यक्ष पराजुलीलाई कास्की प्रहरीले बुधबार पक्राउ गरी थुनामा राखेको छ । 

वडाध्यक्ष नै हातपातमा उत्रिए पछि सोही वडाका व्यवसायी समेत आन्दोलनमा छन् र कानून अनुसारको कारवाही हुनुपर्ने उनीहरूको माग छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख २५, २०८२  ०९:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update