
भैरहवा । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान माग गर्दै निजी क्षेत्रका विभिन्न संघसंस्थाले विमानस्थलको मुख्य प्रवेशद्वारमा धर्ना दिएका छन् ।
लामो समयदेखि विमानस्थल पूर्णक्षमतामा संचालनको माग गरिरहेका उद्योगी–व्ययसायीले माग सुनुवाई नभएपछि विरोध सभासहित धर्ना दिएका हुन् ।
विना तयारी र योजना सहित ठूला आयोजना सञ्चालन गर्दा त्यसको कसरी हरिविजोग हुन्छ भन्ने उद्धाहरण बनेको छ भैरहवास्थित गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल । राज्यको ठूलो धनराशी खर्चिएर निर्माण गरिएको यो विमानस्थल अहिले निल्नु न ओकल्नु भएको छ ।
अन्तराष्ट्रिय विमानस्थल बन्ने भएपछि नीजि क्षेत्रले ठूलो लगानी गरेर होटल, रिसोर्ट जस्ता हस्पिटालिटीसँग सम्बन्धित व्यवसाय शुरु ग¥यो । तर अहिले नीजि क्षेत्रको अर्बौ लगानी बालुवामा पानी बन्ने बाटोमा छ । विमानस्थल सञ्चालनमा आइसकेपनि नियमित उडान हुन सकिरहेको छैन ।
हवाई रुट लगायतका विविध कारणले यो विमानस्थलबाट एयरलाइन्सहरुले नियमित उडानमा रुची देखाइरहेका छैनन् । यसो हुँदा सरकारको जोडबलले देखाउनै लागि मात्रै सञ्चालन हुने गरेको यो विमानस्थलको अन्तराष्ट्रिय उडान नियमित हुन सकेको छैन । पछिल्लो पटक पनि यहाँबाट केही समय उडान भयो । तर अहिले फेरि उडान ठप्प भएको छ । उडान रोकिएपछि आफुहरुलाई मर्का परेको भन्दै व्यवसायीहरु धर्नामा उत्रिए ।
उद्योग व्यापार संगठन, रुपन्देहीको अगुवाईमा व्यवसायीले बुधवार विहान १० बजेदेखि १ बजेसम्म विमानस्थलको मुख्यद्वार छेकेर धर्ना र प्रदर्शन गरे । धर्नाका सहभागीले अन्तर्राष्ट्रिय उडानलाई निरन्तरता दिन यसअघि गरिएका वाचा पूरा गर्न सरकारसित माग गरेका छन् ।
मन्त्रीदेखि प्रधानमन्त्रीसम्मलाई ज्ञापनपत्र बुझाउँदा समेत कुनै सुनुवाई नभएपछि दबाबपूर्ण आन्दोलनमा उत्रिनु परेको उद्योगीको भनाई छ ।
विमानस्थल नचलेकै कारण निजी क्षेत्रको लगानी जोखिममा परेको, सरकार आफैले घोषणा गरेका कार्यालय नखोलेर केन्द्रिकृत मानसिकता हावी भएको निजी क्षेत्रको आरोप छ । अबको एक हप्तासम्म पनि विमानस्थलबाट उडान सुरु नभए सबै क्षेत्र बन्द गरेर आन्दोलनमा उत्रिने चेतावनी निजी क्षेत्रको छ ।
सरकारले पटक–पटक अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने वाचा गरेर स्थानीय बासिन्दा र निजी क्षेत्रको आँखामा धुलो छ्याप्ने काम गरिरहेको व्यवसायीको आरोप छ ।
ज्ञापनपत्र र छलफल कार्यक्रमले दबाब पुग्नै छाडेपछि निजी क्षेत्र सडकमा उत्रिन बाध्य भएको र अब यसलाई निरन्तरता दिने उद्योगी व्यवसायीको भनाई छ । निजी क्षेत्र उठ्नै नसक्ने अवस्थामा पुग्दा समेत विमानस्थल संचालनमा सरकारले खेलाँची गरिरहेको उनीहरुको ठम्याई छ ।
दबाबमूलक धर्ना कार्यक्रमको बेवास्ता नगर्न उद्योगी व्यवसायीले चेतावनी दिएका छन् । उनीहरुले विमानस्थल सञ्चालनका लागि आवश्यक म्यानपावर, भीसा र मेडिकल सेन्टर तत्काल खोल्न माग गरेका छन् ।
उद्योगी–व्यावसायीले गत वर्ष पनि १५ दिनसम्म दबाबपूर्ण धर्ना कार्यक्रम सञ्चालन गरेका थिए । त्यतिले मात्र दबाब नपुगेपछि व्यवसायीको प्रतिनिधिमण्डले काठमाडौंसम्म पुगेर सरोकारवाला मन्त्रीलाई दबाब दिएका थिए । विमानस्थल केही महिनायता अन्तर्राष्ट्रिय उडानबिहीन छ ।