News 24 Television
लुम्बिनीमा बुद्ध जयन्ती भव्यरुपमा मनाइदैं, तीन दिन विशेष उत्सव 

रुपन्देही । तीन दिनसम्म विभिन्न कार्यक्रम गरी बुद्ध जन्मस्थल लुम्बिनी र बुद्धको जीवनसँ जोडिएका तिलौराकोट, रामग्राम र देवदहमा आध्यात्मिक तथा पर्यटन प्र्रबद्र्धनात्मक कार्यक्रमका साथ २५६९ औं बुद्ध जयन्ती तथा लुम्बिनी दिवस २०८२ मनाइने भएको छ । लुम्बिनी विकास कोषले शनिवार लुम्बिनीमा पत्रकार सम्मेलन गरी बुद्ध जयन्ती तथा लुम्बिनी दिवस बैशाख २८ देखि ३० गतेसम्म तीन दिन उत्सवको रुपमा मनाइने जनाएको हो । 

आध्यात्मिक तथा पर्यटन प्र्रबद्र्धनात्मक कार्यक्रमका साथ २५६९ औं बुद्ध जयन्ती तथा लुम्बिनी दिवस २०८२ मनाइने भएको छ । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.ल्हारक्याल लामाले बुद्धजन्मस्थल लुम्बिनी र लुम्बिनीमा हुने आध्यात्मिक गतिबिधिलाई अन्तर्राष्ट्रियकरण गर्न जरुरी रहेको बताए ।

बुद्ध जयन्तीले दुई बिशाल मुलुक भारत र चीनको बीच रहेको नेपालको लुम्बिनीका लागि ठूला ठूला सहायताका कार्यक्रम ल्याउन सक्ने खालको प्रयत्न गर्न सहयोग पुग्ने जनाए । उनले बुद्ध जयन्ती मुलुक र विश्वकै लागि गौरवको विषय भएको बताए । विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईका अनुसार त्रिदिवसीय बुद्ध जयन्ती समारोहका अवसरमा बैशाख २८ गते साँझ मायादेवी मन्दिर परिसरमा महापरित्राण पाठ हुने छ । 

बैशाख २९ गते बिहानै भिक्षु भिक्षुणी, लामा गुरु, उपासक उपासिकासहितको सहभागितामा प्रार्थना सभा, शोभायात्रा हुने छ भने प्रधानमन्त्री केपी शर्मा ओलीको सहभागितामा लुम्बिनीको अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा ध्यान केन्द्रमा बुद्ध जयन्ती तथा लुम्बिनी दिवस बिशेष समारोह हुनेछ । 

यस्तै, बुद्धको अस्तिधातु रहेको पश्चिम नवलपरासीको रामग्राम, कपिलबस्तुस्थित प्राचिन तिलौराकोट दरवार, कुदान, देवदह लगायतका पुरातात्विक स्थलहरुमा पनि स्थानीय तहहरुसँगको समन्वयमा विविध कार्यक्रमका साथ बुद्ध जयन्ती तथा लुम्बिनी दिवस मनाउन लागिएको छ ।

बुद्ध जयन्ती समारोहमा भारत र पाकिस्तानसहित विभिन्न मुलुकका राजदुतहरुको पनि सहभागिता रहने छ । भगवान बुद्धको जन्म, बोधिज्ञान प्राप्ति र महापरिनिर्वाणको त्रिसंयोग परेको दिन बैशाख पूर्णिमालाई लुम्बिनी विकास कोषले बिशेष महत्वका साथ मनाउँदै यसै दिनलाई लुम्बिनी दिवसका रुपमा समेत मनाउने गरेको छ । 

कोषका सदस्य सचिव सानुराजा शाक्यले दक्षिण एशियाका दुई ठूला शक्तिशाली राष्ट्र भारत र पाकिस्तान युद्ध उन्मुख भइरहेका वेलामा बुद्ध जयन्तीका दिन लुम्बिनीबाट शान्तिको सन्देश जाओस् भन्ने प्रयत्न गरिएको बताए ।

दिवसका अवसरमा लुम्बिनी लगायत् बृहत्तर लुम्बिनी क्षेत्रमा सरसफाइ, दीप प्रज्वलन, आँखा शिविर, रक्तदान, नाट्य प्रस्तुती, शान्तिध्यान, उत्सव लगायतका कार्यक्रमहरु गरिने भएको छ । लुम्बिनीबाट कपिलबस्तुसम्म मायादेवी मार्ग हुँदै बुद्धकालिन अवस्थाको झल्को दिने गरि शोभायात्रा पनि गरिने छ । 

बुद्ध जयन्तीका अवसरमा लुम्बिनीका होटल व्यवसायी र स्थानीय पर्यटन व्यवसायी समेतको सहभागितामा स्थानीय खाना महोत्सव पनि गरिने भएको छ । 

प्रकाशित मिति: आइतबार, वैशाख २८, २०८२  ०८:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update