
काठमाडौं । गत बुधबार पूर्वप्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बाथरुममा चिप्लिएर लडेको भन्ने समाचारहरु एकाएक बाहिरिए । सुरुमा उनको सचिवालयलाई नै उदृत गरेर खुमलटारस्थित आफ्नै निवासको बाथरुममा राति लडेको भनेर समाचारहरु आएपनि यो सत्य थिएन ।
प्रचण्ड लाकुरीभञ्ज्याङस्थित टेरेस रिसोर्टको शौचालयमा लडेर घाइते भएका थिए । तर प्रचण्ड रिसोर्टमा लडेको विषय उनको सचिवालयले लुकाउन खोज्यो । यद्यपि उक्त तथ्य लुक्न सकेन । प्रचण्ड घाइते भएपछि तत्काल मेडिसिटी अस्पताल लगिएको थियो । त्यहाँ सामान्य चेकजाँचपछि प्रचण्डलाई आफ्नै निवास फर्काइएको थियो ।
सचिवालयको ढाकछोप असफल !
प्रचण्ड लडेको समाचारहरु प्रकाशसन÷प्रसारण भइसकेपछि प्रचण्ड पुत्री गंगा दाहालले बुबाको अवस्था सामान्य रहेको र चेकजाँचपछि नियमित काममा फर्किसकेको उल्लेख गरेकी थिइन् ।
उनले सामाजिक संजालमा भनेकी थिइन् – ‘गएराति बाथरुममा चिप्लिएर बुवाको निधारमा सामान्य बाहिरी चोट लागेकोले नजिकैको मेडिसिटि अस्पतालमा सामान्य चेकजॉचपछि घर फर्केर नियमित काममा संलग्न हुनुभएको जानकारी गराउँदछु ।’
स्टाटसमा प्रचण्ड कहाँ लडे, भनेर स्पष्ट नखुलाई गांगाले नजिकै रहेको मिडिसिटी अस्पतालमा उपचार गरिएको उल्लेख गरेकी थिइन् । यसको अर्थ उनले आफ्नै निवासमा लडेको भनेर पुष्टि गर्न खोजेको देखिन्छ ।
प्रचण्डमाथि अनेकौँ प्रश्न !
प्रचण्ड त्यो दिन किन टेरेस रिसोर्ट गए ? कसरी लडे भन्ने प्रश्नहरु बाक्लै रुपमा उढ्दा उनी त्यो दिन विवाहको पार्टीमा गएको खुलेको छ । जुन विषयले प्रचण्डमाथि अझ प्रश्नहरु उठेका छन् । कम्युनिष्टहरुले प्रायजसो प्रगतिशिल र जनवादी विवाह गर्ने गरेका छन् । जुन अति साधारण हुन्छ ।
उनीहरु परम्परामा विश्वास गर्दैनन्, परिवर्तनमा विश्वास गर्छन् । र, विवाहित जोडीले आफ्नो पार्टीको झण्डा मुनि रहने, जीवनभर पार्टीको झण्डा उठाउने र पार्टीमै रहने कसम खादै विवाह गर्ने गरेका छन् ।
यसको प्रयोग माओवादीले नै जनयुद्धताका सबैभन्दा बढी गरेको छ । तर बैशाख २३ मा माओवादीको मुख्यालय पेरिस डाँडामा मामुली वैवाहिक कार्यक्रम आयोजना गरेका प्रचण्ड निकटकै एक नवविवाहित जोडीले फेरि महंगोमध्येकै टेरेस रिसोर्टमा भव्य पार्टी गर्नुले भने प्रचण्डसहित माओवादीमाथि नै गम्भीर प्रश्न उठाएको छ । यसको चर्चा संसद बैठकमै पनि भएका छन् ।
तर यस टिप्पणीप्रति प्रचण्ड भने माओवादी आफनो वर्गतर्फ फर्किँदा नेतृत्वमाथि हमला भएको बुझाइमा छन् । उनी प्रतिक्रियावादी र अवसरवादीहरुले आफूहरुबिरुद्ध घेराबन्दी र भ्रमहरु छर्ने काम गरिरहेको आरोप लगाउन थालेका छन् ।
तर जे होस्, प्रचण्डको टेरेस रिसोर्टको उपस्थिति, पार्टी निकटकै जोडीको भव्य विवाह समारोह र रातिसम्मको बसाईले भने उनीमाथि नैतिक प्रश्न उठाएकै छ । कम्युनिष्ट सिद्धान्त बोकेका दल र यसको नेतृत्वले देखाएका यस्ता गतिविधि सोभनिय छैनन् ।
प्रचण्ड एक व्यक्ति होलन् तर राजनीतिक रुपमा उनी पूर्वप्रधानमन्त्री र जिम्मेवार एक पार्टीका नेतृत्व पनि हुन् । उनको यस्ता गतिविधिबाट भावि पुस्ताले के सिक्ने ? यस्ता पात्रले मुलुकमा कस्तो परिवर्तन ल्याउँला ? भन्ने प्रश्न गम्भीर रुपमा उठेको छ ।