News 24 Television
संघीय सरकारले ३ करोडभन्दा माथिका योजना कार्यान्वयन गर्नेगरि छलफल चलिरहेको छ : उपप्रधानमन्त्री सिंह

धादिङ । उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले ३ करोडभन्दा माथिको योजना मात्र संघीय सरकारले अघि बढाउने गरि छलफल भइरहेको बताए । 

खनियाबास गाउँपालिकाको प्रशासकीय भवन शनिवार उद्घाटन गर्दै उनले ३ करोड भन्दा मुनिका योजना प्रदेश र स्थानीय तहले कार्यान्वयन गर्ने गरि छलफल भइरहेको बताए । उनले स्रोत सुनिश्चितता नभई योजना मात्र रातो कितावमा राख्दा कार्यान्वयन हुन नसकेको भन्दै  स्रोत सुनिश्चितता गरेर योजना अघि बढाउनुपर्नेमा सरकारको जोड रहेको बताए । 

‘अघिल्लो वर्ष संघीय सरकारले ७ हजार योजना अगाडि बढाएकोमा  ०८१\८२ को बजेटमा अन्तिम समयमा ११ हजार नयाँ योजना थप गरियो । तर स्रोत सुनिश्चितता नभएका योजना कहाँ कार्यान्वयन हुन्छ ? योजना पार्दिएको छु भनेर खुशी पार्न त काम लाग्ला । काम हुँदैन । रातो कितावमा आएर मात्र त स्रोत सुनिश्चितता नगरि भएन नी,’ उनले भने, ‘त्यसकारणले गर्दा अहिले छलफल चलिरहेको छ । संघीय सरकारले ३ करोड भन्दा माथिको योजना अघि बढाउने ।त्यो भन्दा मुनिको स्थानीय र प्रादेशिक सरकारले गर्ने ।’


उनले विकास निर्माणबो काममा जनता र जनप्रतिनिधि मिले केही पनि असम्भव नरहेको भन्दै विकासमा तीनै तहको सरकारले हातेमालो गर्नुपर्ने धारणा राखे। 

त्यस्तै उनले राजनीतिक स्थीरता र स्थायीत्वको जगमा विकास र समृद्धिका लागि अहिलेको सरकार प्रतिवद्द रहेको पनि बताए । 

संविधानको अनुसूची अनुसारको अधिकार प्रदेश र स्थानय तहमा छिट्टै पुर्याएर संविधानको कार्यान्वयन थप प्रभावकारी बनाउनुपर्नेमा पनि सिंहले जोड दिए । 

प्रशासकीय भवनले गाउँपालिकाको सेवा प्रवाह सहज र प्रभावकारी हुने उनले विश्वास व्यक्त गरे । 

प्रकाशित मिति: आइतबार, वैशाख २८, २०८२  १०:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update