News 24 Television
लुम्बिनीमा संरक्षण प्रयोगशाला सञ्चालनमा, पुरातात्विक वस्तु सुरक्षित हुने

रुपन्देही । बुद्ध जन्मस्थल लुम्बिनीस्थित लुम्बिनी संग्रहालयमा संरक्षण प्रयोगशाला अर्थात कन्जरभेसन ल्याब सञ्चालनमा आएको छ । 

बुद्ध जीवनीसँग सम्बन्धित सांस्कृतिक र ऐतिहासिक महत्वका प्राचीन कलाकृतिको संरक्षण, अभिलेखीकरण र संरक्षण गर्ने उद्देश्यले संरक्षण प्रयोगशाला संचालनमा ल्याइएको हो । 

पुरातात्विक वस्तुलाई दुरुस्तै राख्न लुम्बिनीस्थित लुम्बिनी संग्रहालयमा संरक्षण प्रयोगशाला अर्थात (कन्जरभेसन ल्याब) संचालनमा ल्याइएको छ । लुम्बिनी विकास कोषले अहिले बृहत्तर लुम्बिनी क्षेत्रको उत्खननका क्रममा भेटिने पुरातात्विक संरचनाहरुलाई सबै एकै ठाउँमा खप्टाएर राख्ने गरेको छ । जसले गर्दा त्यस्ता प्राचीन वस्तुहरु मासिँदै जाने जोखिम  छ ।

यसैलाई ध्यानमा राखेर उत्खनन्का क्रममा भेटिने पुरातात्विक वस्तु सुरक्षाका लागि संरक्षण प्रयोगशाला सञ्चालनमा ल्याइएको हो । नेपालस्थित अमेरिकी दूतावासअन्तर्गत रहेको संस्कृति संरक्षणका लागि राजदूत कोषले बुद्ध फाउण्डेसनलाई उपलब्ध गराएको दुई लाख ४४ हजार ९६६ अमेरिकी डलरको अनुदानमा प्रयोगशाला संचालनमा ल्याइएको हो ।

प्रयोगशालामार्फत् बृहत्तर लुम्बिनी क्षेत्रमा उत्खननका क्रममा भेटिएका पुरातात्विक टुटेफुटेका वस्तु जोडिने छ र थप विग्रनबाट बचाइने छ । यसपछि ती वस्तुलाई संरक्षणका लागि लुम्बिनी संग्रहालयमा राखिनेछ ।

यसअघि प्रयोगशाला नहुँदा बृहत्तर लुम्बिनी क्षेत्रमा उत्खननका क्रममा भेटिएका पुरातात्विक वस्तुको दिगो संरक्षणमा सकस थियो । टुटेफुटेका त्यस्ता संरचनालाई पूर्ववतः अवस्थामा ल्याउन विदेशबाट विज्ञ ल्याउनुपर्ने बाध्यता समेत थियो । अब, भने त्यो समस्या अन्त्य हुने लुम्बिनी विकास कोषले जनाएको छ । प्रशोगशाला संचालनपछि नेपाललाई सांस्कृतिक सम्पदा संरक्षणको क्षेत्रमा स्थापित गर्ने विश्वास गरिएको छ ।

दुतावासले बृहत्तर लुम्बिनी क्षेत्रमा रहेका सांस्कृतिक र ऐतिहासिक महत्वका प्राचीन कलाकृतिहरूको संरक्षण, दस्तावेजीकरण र संरक्षणको लागि सहयोग गरेको जनाएको छ । 

कोषअन्तर्गतका परियोजनाले दिगो पर्यटन, आर्थिक वृद्धि र सांस्कृतिक संरक्षणलाई प्रवद्र्धन गरेर अमेरिका–नेपाल सम्बन्धलाई बलियो बनाउने आशा दूतावासले लिएको छ । 

विकास कोषले लुम्बिनी जस्तो संवेदनशील र पवित्रस्थलमा संरक्षण र पर्यटनबीच सन्तुलन कायम गर्न प्रयोगशाला कोषेढुंगा सावित हुने जनाएको छ । प्रयोगशाला स्थापना पछि कोषले गर्दै आएको संरक्षण कार्यलाई वैज्ञानिक, व्यवस्थित र दिगो बनाउने विश्वास गरिएको छ ।

संरक्षण प्रयोगशालाले स्थानीय जनशक्तिलाई आवश्यक सीप, ज्ञान र प्रविधिमा दक्ष बनाउन समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

लुम्बिनी संग्रहालयमा लुम्बिनीमा उत्खनन गरिएका इसा पूर्वको छैटौं शताब्दीदेखि इस्वी संवतको तेस्रो शताब्दीसम्मका पक्की माटोका प्रतिमा, ढुंगाका मूर्ति, सिक्का र प्राचीन ईंटाका संरचना र अन्य अवशेषहरु राखिएको छ । 

तत्कालका लागि प्रयोगशालामा अस्थायी रुपमा दुईजना भारतीय र दुईजना लुम्बिनी बौद्ध विश्वविद्यालयका पुरातत्व विभागका अध्यापकहरुलाई क्युरेटरका रुपमा खटाइएको छ । तर, केही समयपछि प्रशोगशालामा स्थायी रुपमा दुईजना क्यूरेटर राखिने बताइएको छ ।

लुम्बिनी प्राचीन सभ्यता र समृद्ध इतिहासको प्रतीक भएकाले संरक्षण प्रयोगशाला केवल एक प्राविधिक संशोधन मात्र नभइ यो शिक्षा, क्षमता विकास र सामुदायिक सहभागिताको केन्द्र बन्ने लुम्बिनीबारे जानकारहरु बताउछन् ।  

प्रकाशित मिति: शनिबार, जेठ ३, २०८२  ०८:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update