News 24 Television
पत्रकार सुजित केसीको गिरफ्तारीप्रति महासंघको तीव्र आपत्ति

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई लक्षित गर्दै सामाजिक सञ्जालमा स्टाटस लेखेको आरोपमा पत्रकार सुजित केसीलाई प्रहरीले साइबर अपराध अन्तर्गत पक्राउ गरेपछि पत्रकारिता क्षेत्र आक्रोशित बनेको छ।

नेपाल पत्रकार मञ्च तथा नेपाल पत्रकार महासंघ एसोसिएट प्रदेश समितिले यो घटनालाई प्रेस स्वतन्त्रतामाथिको गम्भीर प्रहारको रूपमा लिँदै तत्काल रिहाइको माग गरेका छन्।

नेपाल पत्रकार मञ्चका महासचिव राजु भण्डारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “सार्वजनिक पदधारीप्रति उठाइएका प्रश्नलाई अपराध ठहर गर्दै पत्रकारमाथि कारबाही गर्नु लोकतान्त्रिक व्यवस्थामाथिको खुला आक्रमण हो।”

उनले संविधानले सुनिश्चित गरेको अभिव्यक्ति स्वतन्त्रतालाई मिच्ने कार्य कुनै पनि हालतमा स्वीकार्य नहुने स्पष्ट पारेका छन्।

घटनापछि एसोसिएट प्रदेश समिति अध्यक्ष रोयल आचार्य, केन्द्रीय सदस्य मनुका कुँवरलगायतको टोलीले हिरासतमा रहेका पत्रकार केसीसँग भेटघाट गरी स्वास्थ्य र अवस्थाबारे जानकारी लिएको छ।

स्रोतका अनुसार, केसीले लेखेको स्टाटस केही समयपछि हटाइसकेका थिए। तर, स्टाटस हटाइएको भए पनि पक्राउ गर्नु, र जाहेरीदाताको नाम गोप्य राख्नु नितान्त दुर्भावनापूर्ण र गैरपारदर्शी कदम भएको मञ्चको ठहर छ।

यता, नेपाल पत्रकार महासंघ एसोसिएट प्रदेशका महासचिव अशेष अधिकारीले पनि घटनाप्रति तीव्र आपत्ति जनाएका छन्। विज्ञप्तिमा उनले भनेका छन्, “विचार अभिव्यक्तिका लागि प्रयोग गरिएको माध्यमलाई आधार बनाउँदै पत्रकार पक्राउ गर्नु प्रेस स्वतन्त्रताको निर्मम हत्या हो। यस्तो घटना पुनः दोहोरिन नदिन राज्य संयन्त्र जिम्मेवार बन्नु जरुरी छ।”

नेपाल पत्रकार मञ्चले पत्रकार केसीको अविलम्ब रिहाइको माग गर्दै घटनाको स्वतन्त्र र निष्पक्ष छानबिन हुनुपर्नेमा जोड दिएको छ। साथै, प्रेस स्वतन्त्रता कुण्ठित हुने गतिविधिहरू तत्काल बन्द गर्न सरकार, गृह मन्त्रालय र नेपाल प्रहरीको ध्यानाकर्षण गराइएको छ।

प्रकाशित मिति: मंगलबार, जेठ ६, २०८२  १६:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update