News 24 Television
व्यापारीले हैरान पारे, जारी गरियो कारबाहीको चेतावनी, सम्पत्ति रोक्का !  

रुपन्देही । आन्तरिक राजश्व कार्यालय भैरहवा अन्तर्गत रहेका एक सय हारहारी व्यवसायिक फर्महरुको कर वक्यौता एक अर्ब बराबर छ । तर, कयौं करदाता वर्षांैदेखि राजश्व कार्यालयको सम्पर्कमा छैनन् । वर्षभर कारोबार गर्ने तर समयमै कर नतिर्दा राजश्व कार्यालयलाई कर असुलीमा टाउको दुखाई भइरहेको छ । पछिल्लो पटक राजश्वले सार्वजनिक सूचना नै जारी गरेर १५ दिनभित्र कर तिर्न ताकेता गरेको छ । यदि तोकिएकै समयमा कर नतिरे कारबाही गर्ने चेतावनी दिइएको छ । 

आन्तरिक राजश्व कार्यालय भैरहवालाई कर संकलन गर्नै हैरानी खेप्नु परिरहेको छ । वर्षभर कारोबार गर्ने तर कर तिर्नै नमान्ने व्यवसायीहरुले राजश्व कार्यालयलाई हैरान बनाएका  हुन् । 

त्यसैले १५ दिने समयसीमा सहितको सूचना नै जारी राजश्व बुझाउन ताकेता गरिएको छ । समयमै कर नतिरी बक्यौता रहेका फर्महरुलाई कर तिर्न आन्तरिक राजस्व कार्यालय, भैरहवाले ताकेता गरेको हो । यदि यो अवधिमा समेत कर बक्यौता दाखिला नगरे आयकर ऐन, मूल्य अभिबृद्धि कर ऐन, अन्तःशुल्क ऐन बमोजिम कारबाही चलाइने चेतावनी दिइएको छ । 

राजश्व उठाउन बाँकी कति ? प्रक्रिया के कस्तो चल्दैछ ?

-  व्यवसायिक फर्मदर्ता गरि वर्षभरी कारोबार गर्ने तर समयमै मूल्य अभिवृद्धि कर, आयकर र अन्तःशुल्क नबुझाउने करदाता रुपन्देही र पश्चिम नवलपरासीमा गरि ९० वटा छन् । 

-    यी व्यवसायिक फर्महरुको बाँकी वक्यौता करिब एक अर्ब रुपैयाँ छ । 

-    आन्तरिक राजश्वले कर वक्यौता नतिर्ने करदाताको शुरुमा बैंक खाता र सम्पत्ति रोक्का राख्ने जनाएको छ । 

-    यसपछि पनि वक्यौता नतिरे आयात–निर्यातमा रोक लगाई सम्पत्ति लिलाम गरेर वक्यौता असुली गरिने छ ।

कर बक्यौता रहेका फर्महरुमा रुपन्देही र पश्चिम नवलपरासीका पालिकाहरुमा व्यवसायिक फर्म दर्ता गरी कारोबार गरेका प्रतिष्ठान छन् । कार्यालयका अनुसार रुपन्देहीको बुटवल उपमहानगरपालिका, सिद्धार्थनगर, देवदह, र तिलोत्तमा नगरपालिका, रोहिणी, ओमसतिया, मायादेवी, गैडहवा गाउँपालिकाका व्यवसायिक फर्महरुको कर बक्यौता छ । 

यस्तै, पश्चिम नवलपरासीको रामग्राम, सुनवल र बर्दघाट नगरपालिका तथा प्रतापुर र सरावल गाउँपालिकाका फर्मको पनि बक्यौता छ । समयमै कर नतिर्नेमा स–साना करदातादेखि ठूला औद्योगिक घरना समेत छन् । कार्यालयको तथ्यांक अनुसार एउटै व्यवसायिक फर्मको १० लाखदेखि १० करोड रुपैयाँसम्म कर तिर्न बाँकी छ ।

बक्यौता रहेका फर्महरु केही राजस्व कार्यालयको सम्पर्कमा रहे पनि केही भने सम्पर्कमै छैनन् । सम्पर्कबिहीन बनेका व्यवसायीहरुको फर्ममा पुग्दा धेरैले व्यवसाय बन्द गरेर पलायन भएको समेत पाइएको छ । कर असुलीको चापमा रहेका बेला करोडौं रुपैयाँ कर बक्यौता असुल्न बाँकी रहे पछि राजस्व कार्यालयले दवावमा परेको छ । जसले गर्दा सम्पत्ति लिलामै गरेरै भएपनि बक्यौता उठाउने प्रयासमा कार्यालय देखिन्छ । 

प्रकाशित मिति: बिहीबार, जेठ ८, २०८२  ०९:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update