News 24 Television
अन्तर्राष्ट्रिय बुद्धिष्ट इन्टरनेशनल ट्राभल मार्ट हुँदै, पर्यटन क्षेत्रमा अपेक्षा

रुपन्देही । तेस्रो संस्करणको अन्तर्राष्ट्रिय बुद्धिष्ट इन्टरनेशनल ट्राभल मार्ट (बीआईटीएम) को तयारी पूरा भएको छ । नेपाल सरकार, नेपाल पर्यटन बोर्ड र निजी क्षेत्रको संयुक्त सहकार्यमा सन् २०१९ देखि प्रत्येक दुई–दुई वर्षमा बुद्धिष्ट इन्टरनेशनल ट्राभल मार्ट हुँदै आएको छ । विश्वव्यापी कोभिड १९ को संक्रमणले प्रभावित हुँदै पछाडि धकेलिएको यो मार्टको तेस्रो संस्करण यस पटक आयोजना गरिएको हो । नाट्टा लुम्बिनी प्रदेशले बिहीबार भैरहवामा पत्रकार सम्मेलन गरी उद्घाटन पछि केही सत्रका कार्यक्रम काठमाडौं गरिने र बीटुबी, प्यानल छलफल र प्रबद्र्धनात्मक कार्यक्रम लुम्बिनीमा हुने जनाएको छ ।

तेस्रो संस्करणको अन्तर्राष्ट्रिय बुद्धिष्ट इन्टरनेशनल ट्राभल मार्ट (बीआईटीएम) को तयारी पूरा भएको छ । यही जेठ ९ देखि ११ गतेसम्म नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट (नाट्टा) को संयोजक र नेपाल सरकार, नेपाल पर्यटन बोर्ड र लुम्बिनी प्रदेश सरकारको सहकार्यमा ट्राभल मार्ट हुँदैछ ।

नाट्टा लुम्बिनी प्रदेशले बिहीबार भैरहवामा पत्रकार सम्मेलन गरी जानकारी गराएको हो। ट्राभल मार्टमा नेपाली पर्यटन उद्यमको वर्तमान अवस्था, चुनौती तथा अन्तर्राष्ट्रिय बजारको सम्भाव्यता, क्रस बोर्डर टूरिजमका चुनौती, बिदेशीहरुको आँखाबाट नेपालका पर्यटनमा गर्नुपर्ने समिक्षात्मक सुधार लगायतका विषयहरुमा केन्द्रित रहेर बहस हुनेछ । यस्तै, नेपाली व्यवसायीहरुले आफ्नो व्यापारिक प्रबद्र्धन गर्ने छन् ।

ट्राभल मार्टको उद्देश्य

- मुलुकका गन्तव्यहरुको विश्वव्यापी प्रचारप्रसार गरि नेपालको पर्यटनको दिगो विकास गर्न 

- धार्मिक र पर्यटकीय दृष्टिकोणले विश्वव्यापी रुपमा परिचित लुम्बिनी र नेपालका अन्य बुद्धिष्ट गन्तव्यहरुको समेत प्रवद्र्धन गर्न

- विदेशी पर्यटकहरुको नेपाल आगमन बढाई उनीहरुको बसाई अवधि लम्ब्याउन

-स्थानीय  सरोकारवाला व्यवसायीहरुको व्यावसायिक क्षमता अभिवृद्धि गरि व्यावसायिकीकरणमा टेवा पु¥याउन 

मार्टमा बौद्धमार्गी मुलुकहरु थाइल्याण्ड, म्यानमार, कम्बोडिया, भियतनाम, श्रीलंका जस्ता करिब २० राष्ट्रहरुबाट १२५ जना बिदेशी ट्राभल एण्ड टुर अपरेटर कम्पनी, डेलिगेट्स, अन्तर्राष्ट्रिय मिडिया, ब्लगरहरु सहभागी हुनेछन् । नेपालका तर्फबाट पनि त्यत्तिकै मात्रामा नेपाली पर्यटन उद्यमीहरुको पनि सेल्स डेस्क रहनेछ । 

यस मार्टमा बिशेषतः लुम्बिनी र नेपालका पर्यटकीय गन्तब्यहरुको प्रचारप्रसार र बजार प्रवद्र्धन गर्ने, बीटुबी सेल्स मार्केटिङ आयोजना गर्ने, बौद्ध सम्पदा भ्रमण र स्मारकहरूबारे प्रस्तुतिकरण गरिने, पर्यटन केन्द्रित प्यानल डिस्कर्सन गरिने र नयाँ पर्यटकीय गन्तव्यबारे अन्तर्राष्ट्रिय ट्राभलरहरुलाई जानकारी दिने ट्राभल मार्ट आयोजक समितिले जनाएको छ। 

यस मार्टमा नेपाल र बिदेशी व्यवसायीहरुबीच टुर प्याकेजहरुको खरिद विकी हुने र यसबाट प्रत्यक्ष व्यावसायिक फाइदा लिन सकिनेछ । यस मार्टले मुलुकभर पर्यटक आगमन बृद्धि हुने अपेक्षा गरिएको छ । 

मार्टमा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई लुम्बिनी आगमन र प्रस्थानको सीधा गन्तब्यका रुपमा प्रचारप्रसार गरी यसको दिगो व्यावसायिक संचालनमा समेत जोड दिइनेछ । बुद्धिष्ट सर्किट टुर प्याकेजको प्रारम्भ बिन्दू ‘लुम्बिनी पहिलो हो र बौद्ध धर्मावलम्बीहरुले पहिलो धर्म यात्रा लुम्बिनीबाटै गरेको खण्डमा पुण्यको भागी भइनेछ’ भन्ने भाष्य निर्माणमा मार्टबाट प्रचार गरिने आयोजकले जनाएको छ । 

यो मार्टले मुलुकको पर्यटन र व्यवसायिक प्रबद्र्धन गर्ने छ । आयोजकका अनुसार आमन्त्रित बिदेशी टुर अपरेटरहरुलाई बुद्धसँग सम्बन्धित प्रमुख गन्तब्यहरुमा भ्रमण गराई ती गन्तब्यहरुको प्रचारप्रसार र व्यावसायिकीकरणमा समेत जोड दिइने छ । 

प्रकाशित मिति: शुक्रबार, जेठ ९, २०८२  ०८:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update