काठमाडौँ । सम्बर्धनवादी दलहरुको अन्तरराष्ट्रिय संस्था “इन्टरनेशनल डेमोक्रेसी युनियन (IDU)” ले नेपालमा जारी राजसंस्था पक्षधरको आन्दोलनको बारेमा आफ्नो धारणा सार्वजनिक गरेको छ । आइडियुले नेपालमा जारी राजसंस्थावादी आन्दोलनका सम्बन्धमा दृढ ऐक्यबद्धता व्यक्त गरेको छ। साथै लोकतन्त्रका मूल्य, शान्तिपूर्ण राजनीतिक अभिव्यक्तिको अधिकार र नागरिकको प्रजातान्त्रिक र मौलिक स्वतन्त्रताको संरक्षणप्रति आफ्नो अटल प्रतिबद्धता जनाएको छ।
आइडियु मध्य दक्षिणपन्थी (Center to Right) राजनीतिक दलहरुको अन्तर्राष्ट्रिय संगठन हो। राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट आइडियुको सदस्य रहेको एक मात्र पार्टी हो। जर्मनीको म्युनिखमा मुख्यालय रहेको आइडियुमा ६० भन्दा बढी देशका ८० वटा पूर्ण तथा एशोसियट सदस्य दलहरू रहेका छन्। यसमा नेपालको राष्ट्रिय प्रजातन्त्र पार्टीको अलावा प्रमुख रुपमा संयुक्त राज्य अमेरिकाको सत्तारुढ रिपब्लिकन पार्टी, बेलायतको कन्जर्भेटिभ एण्ड युनियनिस्ट पार्टी, जर्मनीको सत्तारुढ क्रिश्चियन डेमोक्रेटिक युनियन (CDU) र क्रिश्चियन सोसियल युनियन (CSU), क्यानडाको कन्जर्भेटिभ पार्टी, अष्ट्रेलियाको लिबरल पार्टी, न्यूजिल्याण्डको सत्तारुढ नेशनल पार्टी, इजरायलको लिकुड पार्टी, जापानको लिबरल डेमोक्र्याटिक पार्टी (LDP), स्विडेनको मोडरेट पार्टी लगायतका दलहरु रहेका छन्।