
बारा । बाराको महागढीमाई नगरपालिकामा सिधा कुरा मेयरसँग कार्यक्रम सम्पन्न गरिएको छ । स्थानीय निकायलाई जवाफदेही र जिम्मेवार बनाउने अभिप्रायले न्यूज २४ टेलिभिजनले शुुरु गरेको ‘सीधा कुरा मेयरसँग’ को पहिलो संस्करणको चौथो श्रङ्गखला महागढीमाई नगरपालिकामा समेत सम्पन्न गरिएको हो ।
पालिकाहरुले अहिलेसम्म गरेका कामकारबाही र भोग्नुपरेका चुनौतिहरु जनतालाई जानकारी दिने तथा जनताका गुनासो र प्रश्न सीधा मेयरसँग राख्ने उद्देश्यले न्युज २४ टेलिभिजनले शुरु गरेको सिधा कुरा मेयरसँग कार्यक्रम बाराको महागढीमाई नगरमा सम्पन्न गरिएको छ ।
मधेस प्रदेशअन्र्तगत बाराको सदरमुकाम कलैयाबाट ७ किलोमिटर पूर्वमा महागढीमाई नगरपालिका पर्दछ । जसको मुख्यालय प्रसिद्ध श्री गढीमाई बरियारपुरमा रहेको छ ।
धार्मिक दुष्टिकोणले प्रख्यात गढीमाई मन्दिरको नामले परिचित यस नगरपालिकाका मेयर उपेन्द्र प्रसाद यादवले दोश्रो कार्यकाल सम्हालिरहेका छन् । पहिलो कार्यकालमा जनताको मन जितेर दोश्रो स्थानीय तहको निर्वाचनमा पुनः निर्वाचित मेयर यादवप्रति स्थानीयले अझै धेरै आशा र अपेक्षा गरेका छन् ।
‘सीधा कुरा मेयरसँग’ को कार्यक्रममा सीधा कुरा राख्दै सहभागिहरुले पछिल्लो समय मेयर यादवको कार्यशैलीप्रति असन्तुष्ट व्यक्त गर्दै शिक्षा, स्वास्थ्य, पूर्वाधार लगाएतका विषयमा प्रश्न गरेका छन् ।
स्थानीयको प्रश्नको जवाफ दिदै मेयर उपेन्द्र प्रसाद यादवले नगरपालिकाले सीमित स्रोत साधन र बाधा अड्चनका बाबजुद पनि धेरै सुधारका कार्य गरेको बताएका छन् । शिक्षा, स्वास्थ्य, सडक निर्माण, जलस्रोत व्यवस्थापन, र रोजगारी सृजनामा महत्वपूर्ण पहल गरेको बताउदै अझैपनि पहिले जनताकै हितका निम्ति काम गर्न प्रतिबद्ध रहने बताए ।
यस्तै कार्यक्रममा महागढीमाई नगरपालिकाकी उपप्रमुख तारा देवि कानुले न्यायिक समितिमा आउने मुद्दाहरुमा मिलापत्र गराउने काम भइरहेको बताए । अदालती प्रक्रियामा कम भन्दा कम मुद्दा पठाउने र सकेसम्म आफै मिलापत्र गराउने गरेको उनको दाबी छ ।
यस्तै निमित्त प्रशासकिय अधिकृत लक्ष्मण साहले नगरपालिकाले निति नियम निर्माण गर्दा पालिकाको शाखाको राय सल्लाह सुझाव र आवश्यता हेरी बजेट निर्माण र बिकास निर्माणको कार्य गर्ने बताएका छन् ।
नगरप्रमुख यादवका योजना र कार्यहरू जनताको दैनिक जीवनसँग निकट रहेको कारण जनताबाट ठूलो समर्थन प्राप्त भएको छ । कार्यक्रममा विभिन्न पेशा तथा व्यवसायमा संलग्न व्यक्तिहरुले नगरपालिभित्र भइरहेको विविध गतिविधिप्रति चासो राख्दै जिज्ञासा राखेका थिए, भने ति जिज्ञासाको मेयर यादव, उपमेयर कानु र प्रमुख प्रशासकिय अधिकृत साहले जवाफ समेत दिएका छन् ।