
काठमाडौं । बागमती प्रदेशको राजधानी भएपनि मकवानपुरको हेटौंडा उपमहानगरपालिका भित्र अझै केही विकट वडाहरु पनि रहेका छन् । भौगोलिक अवस्थाका कारण विकट अवस्थामा रहेका ती वडाहरुमा भरखर खानेपानीको धारा पुगेको छ । वर्षौदेखि खानेपानीको अभाव भोगिरहेका स्थानीय धारा शुरु भएपछि दंग छन् ।
१० वटा स्थानीय तह रहेको मकवानपुरको हेटौंडा उपमहानगरपालिका बागमती प्रदेशको राजधानी हो । राजधानी भनेपछि सबै स्थानहरु सुगम होलान् भन्ने सबैको सोचाइ हुन्छ । तर १९ वटा वडा रहेको हेटौंडाका केही वडामा भर्खरै सामान्य आधारभुत सुविधाहरु पुगेका छन् ।
हेटौंडा–१६ आकाशधाराका नागरिकहरुको घरको आँगनीमा पानीको धारा यो बर्षमात्रै बन्यो । सधैं घण्टौं लगाएर पानी खेपेर जीविका चलाउँदै आएका स्थानीयहरुको घर घरमा पानीको धारो जडान भएर पानी खसेपछि उनीहरु खुसी देखिएका छन् ।
त्यसो त, भौगोलिक विकटताका कारण लामो समय विकासले पाइला नटेकेको यस गाउँमा गत बर्ष मात्रै बिजुली बत्ति पुगेको थियो । सडक स्ल्याब बल्ल ढलान भएका छन् । फोनको टावर नलाग्ने यस गाउँमा गतबर्षमात्रै नेपाल टेलिकमको टावर जडान गरियो । यो सबै विकास पुर्याउनका लागि आफूले निकै कसरत गर्नुपरेको यस वडाका जनप्रतिनिधि बताउँछन् ।
हेटौंडाको १६ नम्बर वडा मात्रै होइन, १९ वटा वडा रहेकोमा अझै केही स्थानहरुमा खानेपानीको व्यवस्थापन गर्न अझै बाँकी छ । यस्ता स्थानहरुमा पानीदेखि अन्य सेवा सुविधाको लागि नगरपालिकाकाले विभिन्न योजना नै बनाएर काम गर्दै आइरहेको हेटौंडा उपमहानगरपालिकाकी मेयर मिना कुमारी लामाको भनाइ छ ।
यता, संघीय सरकारको ९० प्रतिशत लागत र स्थानीय उपभोक्ता समितिको १० प्रतिशत लागतमा निर्माण भएको खानेपानीको उद्घाटन गर्न मकवानपुर आइपुगेका खानेपानी मन्त्री प्रदिप यादवले मकवानपुरमा मात्रै नभएर देशका ७७ वटै जिल्लाको विकटका गाउँहरुमा पानी पुर्याउन आफूले महत्वपूर्ण भूमिका खेलेको दाबी गरे ।
खानेपानीको सुविधा नरहेको यहाँ गत बर्ष असारमा मात्रै ६ करोड ६७ लाखमा जलजला विल्डर्स एण्ड इन्फ्रा इन्स्टक्चर प्रा.लि ले काम सुरु गरेको थियो ।
आउँदो असोजसम्म कार्य सम्पन्न मिति रहेकोमा त्यस अगावै काम सम्पन्न गरेर बुझाएको हो । गाउँबाट तल रहेको शक्तिखोलाको पानी लिफ्ट बोरिङ मार्फत गाउँको अग्लो स्थानमा ट्याङ्की निर्माण गरेर खानेपानीको व्यवस्थापन गरिएको हो । यो सँगै रित्तो भाडा बोक्दै घण्टौं लगाएर सधैं कुवा र खोलामा पुग्नुपर्ने समस्याको हल भएको छ । यो खानेपानी आयोजनाले डेढ सय घरपरिवार लाभान्वित भएका छन् ।