News 24 Television
न्यायालयको फैसलाबाट खिन्न श्रीनारायण, सर्वोच्चमाथि भरोषा !

रौतहट । इट्टाभट्टामा जिउँदै मान्छेलाई जलाएर मारेको आरोपमा जन्मकैद पाएका नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री अफ्ताव आलमलाई बुधबार उच्च अदालतका जनकपुरको अस्थायी इजालश बिरगञ्जले सफाइ दिएको छ । 

आलमले सफाइ पाएपछि उनका परिवार तथा शुभचिन्तकमा खुसीयाली छाएको छ भने पीडित परिवार भने न्यायको आशा मरेको भन्दैै दुखी बनेका छन् । जिल्ला अदालत रौतहटले जन्मकैद सजाय दिएपनि उच्च अदालतले सफाइ दिएपछि पिडित परिवार अब न्यायको खोजीमा सर्वोच्च जाने तयारी गरिरहेका छन् । यता आलमका समर्थक भने आलमले झुटा मुद्धाबाट न्याय पाएको र सर्वोच्चबाट पनि न्याय पाउने भन्दै खुशी देखिन्छन् । 

सेतै फुलेको कपाल । माटोले लिपेको घर । लामखुट्टेबाट वच्न प्रयोग हुने झुल, केहि बोरा, ड्रम अनि घाम पानी छेक्नका लागि छानामा लगाइएको खपेटा । यसले गरिबीको झल्को मात्रै दिएको छैन्, झुपडीमा बस्नेहरु राज्यबाटै प्रताडीत बन्न सक्छन है भन्ने उदाहरण पनि त हो । यस्तै भएको छ, त्रिलोक सिंहका वुवा श्रीनारायण सिंहलाई । 

श्रीनारायणको नजरमा कांग्रेस नेता, पूर्वमन्त्री आफताव आलम आफ्नो छोरालाई जीउदै मान्छेलाई इट्टाभट्टामा जलाएर माने अभियुक्त हुन् । यो पीडा र न्यायालयको फैसलाले उनलाई अहिले भाउन्न भइरहेको छ । न्याय मरेको अनूभुति भइरहेको छ । संघर्षको बाटो फेरि पछ्याउनुपर्ने भएको छ । छोराका न्यायका लागि प्राणरहेसम्म लड्नुपर्ने भएको छ । 

तर, अफ्ताव आलम बने उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जका न्यायाधीशद्वय डा. खुसीप्रसाद थारु र अर्जुन महर्जनले पर्याप्त प्रमाण नभेटिएको भन्दै सफाई दिएका थिए । तर, श्रीनारायणको प्रण छ, सर्वोच्च जान्छु । न्यायका लागि अन्तिमसम्म लड्छु ।

त्रिलोकको जीवन त छैन तर, अदालतले त्रिलोकको मृत्युलाई समेत अस्वीकार गरेको श्रीनारायण बताउँछन् । त्रिलोकका वुवा श्रीनारायण छोराको मृत्यु कसरी भयो भन्ने घटनाबारे भने यसरी विस्तृत सुनाउँछन् । 

छोराको न्यायका लागि लड्दा लड्दै श्रीनारायण कानूनबारे समेत जानकार भइसकेका छन् । न्यायको लडाईमा एक्लै रहेका उनी मधेसमा हुने अपराधका घटनाबाट निडर लडिरहेका छन् । तर, झुपडीमै जीवन विताइरहेका श्रीनारायणले न्याय पाउलान ? यो विषय अब सर्वोच्चमा आएपछि मात्रै थाहा हुनेछ । 

यता, आफ्ताम आलम उच्च अदालतको आदेशमा रिहा भएपछि गाउँ गुल्जार बनेको छ । आफ्तावको स्वागत, खादामाला र ठूला राजनीतिक स्वरहरु घनन्किरहेका छन् । छोरा गुमाएका श्रीनारायण भने न्यायको ढोका कुरिरहेका छन् । श्रीनारायणले छोरा गुमाइसके । त्रिलोकको ज्यान नभएपनि न्याय मानिरहेका श्रीनारायणको मुहारमा चमक हराएको छ । तर, आफ्ताव आलमका आफन्तदेखि उनलाई पछ्याउनेहरु भने न्याय मिलेको भन्दै खुशी साटिरहेका छन् ।

जिल्ला अदालत रौतहटले २०८१ बैशाख १३ गते मोहम्मद आफताव आलम, उनका भाइ मोहम्मद महताब आलम, शेख सेराज र बद्री सहनीसहित ४ जनालाई जन्मकैदको सजाय सुनाएको थियो । तर, उच्चको आदेशपछि यो विषयमा अनेक प्रश्न उठिरहेका छन् ।

एक्लै लडिरहेका श्रीनारायण

अफ्ताव आलममाथि त्रिलोकसहितको हत्या आरोपपछि न्यायको प्रक्रिया चल्दा संकट आउने भन्दै हतियारधारी समूहले त्रिलोककी आमा रुक्साना खातुनको ०७६ माघ ८ गते हत्या गरिएको थियो । गौडा ढुकेर बसेको एउटा हतियारधारी समूहले रुक्सानाको हत्या गरेपछि न्यायको लडाईमा श्रीनारायण एक्लै लडिरहेका छन् । 

न्यायाधीशमाथि प्रश्न

अफ्ताव आलमलाई सफाई दिने न्यायाधीशद्वय डा. खुसीप्रसाद थारु र अर्जुन महर्जनमाथि राजनीतिक रुपमै प्रश्न उठेको छ । 

माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सार्वजनिक रुपमै गम्भीर प्रश्न गरेका छन् । उपाध्यक्ष श्रेष्ठले आलमलाई सफाई दिने अदालतको फैसला न्यायालयको इतिहासमा कलंकको रुपमा दर्ज भएको भनेका छन् । 

न्यायाधीशलाई जनताले कहिल्यै नविर्सिने भन्दै श्रेष्ठले यो विषयको जिम्मेवारी कसले लिन्छ भन्दै प्रश्न समेत गरेका छन् । यता, आलमलाई सफाई दिने न्यायाधीश थारु कांग्रेसको कोटाबाट सिफारिस भई नियुक्त भएका हुन् । न्याय परिषद्ले २८ पुस २०७३ मा उनीसहित ८० न्यायाधीशको नियुक्तिका लागि सिफारिस गरेको थियो । 

जतिबेला प्रधानन्यायाधीश थिइन्, शुशिला कार्की । कार्कीले त्यो बेला नै अहिलेका गृहमन्त्री रमेश लेखकसंग नोकझोक नै गरेकी थिइन् भने यो विषयमा अनेक टिप्पणी समेत चलेको थियो । उसोतः थारु उनै न्यायाधीश हुन्, जसले विशेष अदालतको न्यायाधीश हुँदा कांग्रेस नेता विजयकुमार गच्छदारलाई समेत सफाई दिएका थिए भने फैसलामा कार्यपालिकाको स्वतन्त्रतामा हस्तक्षेप गरेको’ जस्तो भद्दा टिप्पणी फैसलामै लेखेका थिए ।

के थियो घटना ?

पहिलो संविधानसभा निर्वाचनको अघिल्लो दिन २०६४ चैत २७ गते साँझ आलमको घरछेउमै उनका काका सेख इद्रिसको गोठमा बम विस्फोट भएको थियो । आलमकै निर्देशनमा बनाउन लागिएको बम विस्फोट हुँदा त्यसको छर्रा लागेर घाइते भएकालाई इँटाभट्टामा हालेर मारेको अभियोगमा आलमले सफाई पाएका हुन् । 

चुनावमा बुथकब्जा गर्न ल्याइएका बम विस्फोटमा केही मारिएका थिए भने केही घाइते भएका थिए । विस्फोटपछि भारतीयसहित कैयौँ युवाको मृत्यु भएको थियो भने कैयौँ घाइते भएका थिए । घटना गुपचुप पार्न आलमकै व्यवस्थापनमा घाइतेहरूलाई समेत बेहोस हुने सुई लगाएर बोरामा प्याक गरी ट्रयाक्टरमा लोड गरेर आलमकै दाइ मुस्ताफको इँटाभट्टामा पु¥याई जिउँदै जलाएर मारिएको थियो । 

त्यसरी मारिएकामा दुई नेपाली युवा थिए रौतहटकै यमुनामाई, सरुहट्ठाका २२ वर्षीय त्रिलोकप्रताप सिंह (पिन्टु) र ओसी अख्तर । तर, विस्फोटबाट क्षति पुगेको गोठ तत्कालै मर्मत गरिएको थियो भने घाइतेलाई पोलिएको भनिएको इँटाभट्टा केही वर्षपछि बन्द भएको थियो ।

यमुनामाई गाउँपालिका ४ का त्रिलोकप्रताप सिंह मारिएको भन्दै बाबु श्रीनारायण सिंह र ओसी अख्तर मारिएको भन्दै आमा रोक्साना खातुनले आलमविरुद्ध कर्तव्य ज्यान मुद्दा दिएका थिए । यस्तै, सर्लाही गडैता–२ का सफी अहमद र भारत सीतामणिका गौरीशंकर राम चमारले बम विस्फोटमा घाइते भएको भन्दै ज्यान मार्ने उद्योगमा उनीविरुद्ध जाहेरी दिएका थिए । आलमविरुद्ध प्रहरीले विस्फोटक पदार्थसम्बन्धी मुद्दा चलाएको थियो । 

२०६५ असार ३० गते महान्यायाधिवक्ताको कार्यालयले रोक्सना खातुन वादी रहेको मुद्दामा कोही कसैउपर मुद्दा नचल्ने र पर्याप्त प्रमाण भेटिए मुद्दा चलाउन सकिने निर्णय गरेको थियो । उक्त निर्णयपछि अर्का पीडित नारायण सिंहले सर्वोच्चमा पुनरावेदन गरेका थिए । सर्वोच्चले २०६९ जेठ १६ गते मुद्दाको गम्भीरतापूर्वक अनुसन्धान गरी प्रचलित कानुनबमोजिम कारबाही गर्न आदेश दिएको थियो । त्यसपछि फैसला कार्यान्वयन निर्देशनालयले जिल्ला प्रहरी कार्यालयलाई दोषीमाथि कारबाही प्रक्रिया थाल्न आदेश दिँदै आएको थियो । 

अदालतको आदेश नमानेको भन्दै पीडित पक्षले २०७३ मा जिल्ला प्रहरी कार्यालय रौतहटविरुद्ध मानहानि मुद्दा दायर गरेका थिए। त्यसपछि निर्देशनालयले २०७५ चैत ८ गते जिल्ला प्रहरी कार्यालयलाई ताकेता गरेको थियो । आलम २०७६ असोज २६ गते बिहान गौर चन्द्रपुर सडक खण्डको इद्रिसगेट नजिकैबाट पक्राउ परेका थिए । 

प्रकाशित मिति: शुक्रबार, जेठ १६, २०८२  ०८:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update