
पर्सा । केही समय वर्षाका कारण राहत पाएको तराई मधेशमा पछिल्लो समय ह्वात्तै गर्मी बढेको छ । गर्मीका कारण मधेशवासीको जनजिवन कष्टकर बन्दै गएको छ भने विद्यालयहरुको पठनपाठनको अवधि पनि घटाइएको छ । पर्सासहितका जिल्लाहरुमा अचाक्ली गर्मी बढ्दै जाँदा सूर्यबाट निस्कने हानिकारक किरणले गम्भीर किसिमका छाला सम्बन्धी रोग निम्तिन सक्ने भन्दै चिकित्सकहरुले सचेत रहन आग्रह गरेका छन् ।
केही समययता पर्सा, बारा, सर्लाही, महोत्तरी, धनुषा लगायत मधेश प्रदेशका जिल्लाहरुमा अत्याधिक गर्मी बढ्दै गएको छ । जेठको दोश्रो सातादेखी एक्कासी गर्मी बढ्न थालेपछि. तराई क्षेत्रका बासिन्दाहरुको जनजिवन प्रभावित हुँदै गएको छ । बिहान सूर्योदय हुनासाथ एकनास रुपमा लाग्ने टन्टलापुर घामका कारण मधेशवासीको दैनिकीमै समस्या देखिन थालेको छ ।
गर्मी बढ्न थालेपछि दिउँसोपख वीरगञ्जको मुख्य बजार सुनसान देखिन्छ । प्रत्येक वर्ष बढ्दै गएको गर्मीका कारण गर्मीयाममा तराई क्षेत्रमा बास बस्न कठिन बन्दै गएको छ । केही समयअघी ३÷४ दिनसम्म भएको वर्षाका कारण राहत महसुस गरेका तराईका बासिन्दालाई मौसन सफा भएसंगै लागेको चर्काे घामले थप पिरोलीरहेको छ । एकातर्फ गर्मीले बसाई सर्न बाध्य बनाईरहेको अवस्थामा अर्काेतर्फ पटकपटकको अनियमीत विद्युत कटौतीले स्थानीयहरुलाई थप आक्रोसित बनाएको छ ।
यसरी गर्मीका कारण केही सामाजिक संघसंस्था तथा विधालयहरुले बेलाबखतमा चिसो पानी वितरण गर्ने कार्यहरु गर्दै आएको छ । यसले केही हदसम्म सडकमा आवतजावत गर्नेहरुलाई राहत पुग्ने विश्वास व्यक्त गरिएको छ । यस्तै, अत्याधिक गर्मीका कारण वीरगञ्ज लगायत पर्सा जिल्लाका सामुदायक तथा संस्थागत विधालयहरुको पठनपाठनको समयावधि घटाइएको छ । अघिल्ला वर्षहरुमा गर्मीका कारण विद्यार्थी बेहोस हुने घटना धेरै भएको गम्भीर विषयलाई मध्यनजर गर्दे स्थानीय पालिकाले सो निर्णय वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहल ेबताए ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार यसवर्ष अत्याधिक गर्मी हुने, अत्याधिक वर्षा हुने र अत्याधिक चिसो हुनेछ । सूर्यले मानवलाई भिटामिन ‘डी’ दिएपनि गर्मीको समयमा ख्याल नराखे सूर्यबाट निस्कने हानिकारक किरणहरुका कारण छाला सम्बन्धी गम्भीर किसिमका रोग लाग्न सक्ने चिकित्सहकहरुले चेतावनी दिएका छन् ।
प्रत्येक वर्ष विश्वको तापक्रम बढ्दै गएको चिन्ता व्यक्त गर्दै जलवायु विज्ञहरुले सचेत रहन र आवश्यक पहलकदमी अपनाउन आग्रह गरिरहेका छन् । गर्मीकै कारण पनि स्थानीयको जनजिवन कष्टकर बन्दै गएको प्रति ध्यान दिदै केन्द्रदेखि स्थानीय पालिकासम्मले यो समस्याका लागी दीर्घकालिन सामाधान खोज्ने बेला आएको देखिन्छ ।