News 24 Television
राजावादी आन्दोलन, जेठ १९ र हिमानीको दीप प्रज्वलन

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले गत फागुन ७ गते प्रजातन्त्र दिवसका दिन दिएको राजनीतिक अभिब्यक्तिपछि राजावादी आन्दोलन निकै तातिएको छ ।

राजावादीहरु वार कि पारको अवस्थामा पुग्ने भन्दै जेठ १५ देखि निर्णायक आन्दोलनमा छन् । पूर्वराजाको सक्रियतापछि पूर्व युवराज्ञी हिमानी शाहले पनि सक्रियता बढाउन थालेकी छन् । 

सोमवार जेठ १९ अर्थात नारायणहिटी दरबार हत्याकाण्ड भएको दिन । झण्डै २३ वर्षअघि २०५८ जेठ १९ गते वीरेन्द्र शाह परिवारकै बंश बिनास भएको थियो । कहिल्यै बिर्सन नसक्ने यो दिनलाई आम नागरिकले कालो दिनका रुपमा लिने गर्दछन् । दरबार हत्याकाण्डको ७ वर्षपछि २०६५ जेठ १५ गते मुलुकबाट राजसंस्थाको विधिवत रुपमै अन्त्य भएर संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भयो । 

त्यसैले यो दिनलाई राज्यले गणतन्त्र दिवसको रुपमा मनाउने गरेको छ । राजसंस्थाको अन्त्य भई गणतन्त्र स्थापना भएकै दिनबाट राजावादीहरु आन्दोलनमा उत्रिएका छन् । सबै राजावादी समूहरुले संयुक्त रुपमा आन्दोलनमा उत्रिएका छन् । पूर्वराजा ज्ञानेन्द्र शाह आफैले राजनीतिक सक्रियता बढाएका छन् । सबै राजावादीहरुलाई एक ठाउँमा उभ्याउनेदेखि आन्दोलनको कमाण्डर तोक्नेसम्मको काम ज्ञानेन्द्रकै सक्रियतामा भइरहेको छ । 

राजेन्द्र लिङदेन नेतृत्वको राप्रपा, कमल थापा नेतृत्वको राप्रपा नेपाल, केशरबहादुर विष्ट नेतृत्वको राष्ट्रिय शक्ति, बीपी कांग्रेस लगायत विभिन्न राजावादी दल तथा समूहहरुले संयुक्त आन्दोलन शुरु गर्नुअघि पनि ती समूहका शीर्ष नेताहरुले पूर्वराजा ज्ञानेन्द्रसँग भेट गरेका थिए । 

पूर्वराजा ज्ञानेन्द्रकै उक्साहटमा राजावादीहरु सक्रिय भएको भन्दै लोकतान्त्रिक तथा गणतन्त्रवादी नेताहरुले आक्रोश पोखिरहेका छन् । दल खोलेर खुला राजनीतिमा आउनसमेत शाहलाई चेतावनी दिइरहेका छन् । 

हृदयेन्द्रको आगमन, हिमानीको सक्रियता 

राजावादी आन्दोलन चर्किरहेकाबेला विदेशमा अध्ययनका क्रममा रहेका ज्ञानेन्द्रका नाती हृदयेन्द्र शाह पनि यतिबेला नेपालमै छन् । राजावादी आन्दोलन कुन तहसम्म पुग्छ, थाहा छैन । राजसंस्था पुर्नस्थापना भएको अवस्थामा हृदयेन्द्रलाई पनि राजा बनाउन सकिनेसम्म तुरुप राजावादीले गर्न थालेका छन् । 

यहि बीचमा पूर्व युवराज्ञी हिमानी शाहले पनि आफ्नो सक्रियता बढाउन थालेकी छन् । हिमानी ट्रस्टबाट उनले आफ्नो राजनीतिक सक्रियता बढाउन खोजेकी हुन् । 

दरबार हत्याकाण्डको स्मरण गर्दै हिमानी ट्रस्टको आयोजनामा दीप प्रज्वलन गर्न लागेकी छन् । राजा वीरेन्द्र शाहको बंश बिनास भएको नारायणहिटी दरबार अर्थात हालको नारायणहिटी संग्राहलय भित्र हिमानीले दीप प्रज्वलनको गर्न कार्यक्रम तय गरिन् । तर राजावादी आन्दोलनका कारण दरबार संग्राहलय क्षेत्रमा निषेधाज्ञा लगाइएको कारण उनले कमलादी गणेश मन्दिरमा दीप प्रज्वलन गर्न लागेकी छन् । 

दीप प्रज्वलनको कार्यक्रममा हिमानीसँगै पारस शाह र छोरा हृदयेन्द्रको पनि उपस्थिति रहने भएको छ । 

राजावादी आन्दोलनलाई हिमानीको साथ !

राजावादी आन्दोलन चर्किएकैबेला दरबार हत्याकाण्डको स्मरण गर्दै जेठ १९ का दिन पूर्व युवराज्ञी हिमानी शाहले गर्न लागेको दीप प्रज्वलनको कार्यक्रमले पनि राजनीतिक अर्थ राख्दछ । राजावादी आन्दोलनलाई ज्ञानेन्द्र र उनको परिवारले घोषित रुपमा समर्थन नजनाए पनि पछिल्लो गतिविधिहरु अर्थपूर्ण देखिएको छ । 

कुनै राजनीतिक अभिष्ठ नभई पिता पूर्खाको श्रद्धाञ्जलीका लागि कार्यक्रम राखिएको भनिए पनि यसले राजावादी आन्दोलनलाई ऊर्जा थप्ने प्रशासनको बुझाइ छ । 

प्रकाशित मिति: सोमबार, जेठ १९, २०८२  ०९:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update