News 24 Television
नगरपालिकाले घाइते बनाएका व्यक्ति अस्पतालमै बन्धक ! आफन्तको रुवावासी !

सप्तरी । सप्तरीको राजविराज नगरपालिकाले अस्पतालको रकम नतिर्दा एक व्यक्ति विगत २ महिना बन्धक समान बनिरहेका छन् । राजविराज नगरपालिकाको गाडीले ठक्कर दिँदा घाइते भएको व्यक्तिको उपचार खर्च नगरपालिका नदिँदा घाइतेलाई नै बन्धक बनाइएको छ । 

उपचार खर्च वापत २५ लाख रुपैयाँ तिर्न बाँकी हुँदा घाइते सामान्य अवस्थामा भएपनि घर फिर्ता नभई बन्धक समान बस्न बाध्य छन् । 

सप्तरीको राजविराज नगरपालिकाको गैरजिम्मेवार कामले एक व्यक्ति अस्पतालमै २ महिनादेखि बन्धक जस्तै गरि रहेका छन् । राजविराज नगरपालिकाको गाडीले ठक्कर दिएर घाइते भएका बोदेबरसाईन नगरपालिका १ का राजेश यादवको उपचारमा लागेको खर्च नगरपालिकाले नतिर्दा घाइते यादव अस्पतालमै बन्धक बन्न पुगेका हुन् । 

गएको माघ १ गते नगरपालिकाको गाडीले ठक्कर दिएर घाइते भएका उनको स्वास्थ्य दुई महिना पहिले नै सामान्य अवस्था आइसकेपनि उपचार खर्च नगरपालिका नतिर्दा उनी घर फर्किन सकेका छैनन् । 

उपचार वापत २७ लाख रुपैयाँ खर्च लागेकोमा नगरपालिकाले शुरुवातमा २ लाख तिरिदियो तर, २५ लाख रुपैयाँ अझै तिर्नु पर्ने भएपनि नगरपालिकाले तिरेको छैन । 

यहि कारणले घाइते यादव अस्पतालले डिस्चार्ज भएर जान भनेको दुई महिना भएपनि अहिलेसम्म बन्धक बन्न बाध्य भएका हुन् । यसरी अस्पतालमै बन्धक बन्नु परेपछि घाइतेका आफन्तले राजविराज नगरपालिका कार्यालय घेराउ गरि धर्ना दिएका छन् । 

घाइते बनाएर अस्पतालमा उपचार खर्च पनि नदिएकाले बन्धक बन्नु परेको र यो नगरपालिकाको गैरजिम्मेवारपन भएको भन्दै उपचार खर्चको माग गरि पीडित पक्षले कार्यालय घेराउ गरेको हो । 

आक्रोशित पीडितले कार्यालय घेराउ गरेपछि कार्यालयको कामकाज ठप्प हुनुका साथै  कर्मचारीहरू कार्यालय बाहिरैबाट घर फर्किएका छन् । 

नगरपालिकाको गाडीले घाइते बनायो, अहिले अस्पतालमा अलपत्र

गत २०८१ माघ १ गते राजविराज नगरपालिकाको स १ झ ४८१ नम्बरको चार चक्के गाडीले मोटरसाइकललाई ठक्कर दिँदा बोदेबरसाईन नगरपालिकाका–१ का राजेश यादव गम्भीर घाइते भएका थिए । 

घाइते भएका राजेशको विराटनगरको विराट नर्सिङ अस्पतालमा पाँच महिनादेखि उपचारत छन्  । अहिले घाइतेको अवस्था सामान्य भइसकेको छ । 

अस्पतालले २ महिनादेखि नै घर पठाउने भनेको थियो । तर नगरपालिकाले उपचार खर्च नदिँदा अस्पातालले दुई महिनादेखि राजेशलाई डिस्चार्ज गर्न भनेपनि ल्याउन सकिएको   छैन । 

घाइतेको हजुरआमा पनि राजविराज नगरपालिकामा धर्ना दिएर बसेकी छिन्।उनको एउटै गुहार छ जसरी पनि नातिलाई घर ल्याइदेउ ।

दिनभरि नगरपालिकाको कामकाज ठप्प भएपछि बेलुका पीडित पक्षसँग छलफल गर्न आएकी कार्यवाहक नगरप्रमुख इसरत परविनले विविध समस्याका कारण रकम उपलव्ध गराउन नसकेको भन्दै गैरजिम्मेवार जवाफ दिएकी छन् ।

अहिले पनि उनले चाडै नै समस्या समाधान गरिने मात्रै भनि बन्धक समान जीवन विताउन यादवलाई अस्पतालमै रहने अवस्था सृजना गरेकी छन् । 

छलफलमा पीडित पक्षले भने जबसम्म नगरपालिकाले सम्पुर्ण खर्च भुक्तानी गर्दैन तवसम्म रातदिन नै आन्दोलन जारी राख्ने बताएका छन् ।  

प्रकाशित मिति: सोमबार, जेठ १९, २०८२  ०९:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update