News 24 Television
आईसीयू र सीसीयूमै अचाक्ली खेलवाड, १७ विरामी बल्लबल्ल बाँचे !

पर्सा । वीरगञ्जको नारायणी अस्पताल गरिब, विपन्न र न्युन आर्थिक अवस्थाका विरामीको आशाको केन्द्र हो । यहाँ पुगेपछि स्वस्थ जीवन पाइन्छ भन्ने विश्वास यस क्षेत्रका धेरै व्यक्तिले गर्छन् । तर, अहिले यहाँ पुगेपछि बाँच्ने होइन मर्ने डर छ । 

उपत्यका बाहिरको सबैभन्दा ठूलो अस्पतालको रुपमा चिनिने नारायणी अस्पताल आफैमा रोगले ग्रसित बनेको छ । शुक्रवार राति नारायणी अस्पालमा तनाब भयो । घटना के हो भने, राति १० बजेदेखि अस्पतालमा विद्युत सेवा अवरुद्ध हुँदा अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा रहेका १० जना र कार्डियाक केयर युनिट (सीसीयू) मा रहेका ७ जना गरि १७ जना बिरामीको ज्यान जोखिममा परेको थियो । राति करिब १० बजे अचानक सर्ट सर्किटका कारण विद्युत् आपूर्ति अवरुद्ध भएपछि बिरामीहरुको अवस्था चिन्ताजनक भएको थियो । 

तीन घण्टासम्म विद्युत बन्द रहँदा आईसीयू र सीसीयूमा रहेका बिरामी र तिनका परिवारका सदस्यहरू अत्यन्तै तनावमा परे । तनाबमा पर्नु पनि स्वभाविक हो, उपचार गराएर बचाउने आशा लिएर आएकाहरु उल्टै स्वास्थ्य अवस्था बिग्रिन्छ भने यसको जिम्मा कसले लिने ? 

अस्पताल जस्तो समवेदनशिल क्षेत्रमा विद्युतको विकल्प नराख्नुले अस्पतालको व्यवस्थापनमाथि प्रश्न उब्जिएको छ । हरेक वर्ष अस्पतालको व्यवस्थापनमा तथा उपकरण खरिदमा करोडौ खर्च हुन्छ । तर पनि अस्पतालको अवस्थामा भने कहिलै पनि सुधार हुन सकेको छैन । संघीय सरकार मातहतको वीरगंजको नारायणी अस्पतालको अवस्था दयनीय छ, स्रोतसाधनको अभावमा हैन, नेतृत्वको उदासिनताको कारण । अस्पतालका कर्मचारीहरु पनि अस्तव्यस्त व्यवस्थापनका कारण आजित छन् । 

बिरामीका परिवारले अस्पताल प्रशासनमाथि ज्यानसँग खेलवाड गरेको आरोप लगाएका छन् । उनीहरूले बिरामीलाई अन्य अस्पतालमा लैजान दबाब दिएको भए पनि निजी अस्पतालमा ठाउँ नभएको र आर्थिक अभावले समस्या झनै बढेको बताए । 

तर, अस्पतालमा विरामीको ज्यानै जाने जोखिम बढाएको अस्पताल प्रशासनलाई कुनै जिम्मेवारी बोध छैन, कुनै मानवता छैन, कुनै दायित्वबोध छैन । 

समस्या के हो भन्नेबारे अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा. चित्तरन्जन साहले दिएको जवाफले उनीहरु कतिसम्म गैरजिम्मेवार छन् भन्ने प्रष्ट्याएको छ । उनी भन्छन्, बिरामीलाई जहाँ लिएर जानु छ, लिएर जानुहोस् । बिरामीलाई तलमाथि भएमा अस्पतालले जिम्मा नलिने र आफुलाई कुनै मतलब नभएको प्रतिक्रिया उनको छ । 

आइसियुमा बिरामीहरू छटपटाइरहँदा कुरुवाहरू मोबाइलको टर्च बालेर र हातेपंखाले आफ्ना बिरामीको स्याहार गर्न बाध्य थिए । संवेदनशील आइसियु र सिसियु कक्षका बिरामीहरू जीवन र मृत्युको दोसाँधमा थिए, तर सहयोग गर्ने कोही थिएन । यो दृश्यले अस्पताल प्रशासनको लापरबाही र असंवेदनशीलता छर्लङ्ग बनाएको छ । 

उखरमाउलो गर्मीले तात्तिएको वीरगंज शुक्रवार रातिको यो घटनाले झनै गर्माएको छ । शनिवार नै जिल्ला प्रशासन कार्यालय पर्साको नेतृत्वमा सरोकारवालाको बैठक बसी एक जनालाई निलम्बन गरेको छ । उक्त समयमा डिउटीमा रहेको अस्पतालका इलेक्ट्रिसियन इन्चार्ज सन्जिव गुप्तालाई निलम्बन गरिएको हो । 

पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, प्रहरी उपरीक्षक गौतम मिश्र, निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा. चित्तरन्जन साह, विद्युत प्राधिकरण वीरगंज वितरण केन्द्रका प्रमुख, अस्पतालका सबै विभागका प्रमुख, इन्चार्ज लगायत अस्पतालका जिम्मेवार व्याक्तिहरुको बैठक बसेर घटनाका बारेमा छलफल गरिएको थियो ।  

वीरगञ्जबासीहरूले सार्वजनिक अस्पतालमा यस्तो संवेदनशील अवस्थामा प्रशासनको गैरजिम्मेवारपनप्रति आक्रोश व्यक्त गर्दै तत्काल सुधार गर्न सरकारसमक्ष माग गरेका छन् । करिब तीन घण्टापछि मात्र विद्युत् आपूर्ति पुनः सुचारु भएपछि बिरामीले केही राहत पाएका छन् । 

अहिले केही समयका लागि राहत भएपनि भोलीका दिनमा फेरी यस्तो समस्या नदोहोरिएला भन्न सकिन्न । त्यसैले बिरामीको स्वास्थ्यसँग खेलवाड गर्ने अधिकार कसैलाई छैन । अस्पताल प्रशासनले बेलैमा आवश्यक तयारी र सावधानी अपनाउन जरुरी छ । 

प्रकाशित मिति: सोमबार, जेठ १९, २०८२  ०९:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update