
काठमाडौं । नेपाल शेर्पा संघको सातौं महाधिवेशनका लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै वर्तमान उपाध्यक्ष तेन्जी शेर्पाले आफ्नो विस्तृत घोषणापत्र सार्वजनिक गरेका छन्।
सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्षका प्रत्यासी शेर्पाले आफ्नो घोषणापत्र सार्वजनिक गर्दै संघलाई संस्थागत रूपमा सुदृढ गर्दै शेर्पा समुदायको हकहित, पहिचान र समुन्नत भविष्यका लागि आफ्नो प्रतिबद्धता व्यक्त गरेका छन्।
विगत लामो समयदेखि संघको उपाध्यक्षको भूमिकामा रहेर संस्थागत सुदृढीकरण, सांस्कृतिक पहिचानको संरक्षण, संघको भवन खरिद तथा सभा हल निर्माण, ध्यान केन्द्र स्थापना र विविध कार्यक्रम मार्फत समुदायमा उल्लेखनीय योगदान पुर्याउँदै आएका युवा व्यवसायी तथा समाजसेवी तेन्जी शेर्पाले अब संघको नेतृत्वमा गुणात्मक परिवर्तन ल्याउने अठोट व्यक्त गरे।
उनको घोषणापत्रमा १६ बुँदाका स्पष्ट अग्रगामी योजना समावेश छन्, जसमा संघीय संरचना भित्र शेर्पालुङ स्थापनाको दीर्घकालीन रणनीति, शिक्षा, सीप अभिवृद्धि, महिला तथा युवा नेतृत्व विकास, जलवायु परिवर्तनबारे अन्तर्राष्ट्रिय पैरवी, आर्थिक सशक्तिकरण, ‘ग्लोबल शेर्पा मञ्च’ सँग सहकार्यजस्ता विषयहरू प्रमुख रहेका छन्।
“यो उम्मेदवारी कुनै व्यक्तिगत आकांक्षा होइन, यो हाम्रो सामूहिक पहिचान र अधिकार सुरक्षित गर्दै भावी पुस्तालाई सुरक्षित भविष्य हस्तान्तरण गर्ने संकल्प हो।“, तेन्जी शेर्पाले भने।
युवा व्यवसायी तथा समाजसेवी तेन्जी शेर्पा सामाजिक सेवाको विभिन्न परियोजनाहरु सञ्चालन गरेका छन्। गत वर्ष काठमाण्डौको जगडोलमा शान्ति स्तूपा तथा ध्यान केन्द्रको निर्माण गरेका समाजसेवी शेर्पाले विभिन्न धार्मिक तथा सामाजिक संघ संस्था द्वारा सञ्चालित परियोजनाहरुमा पनि अनगिन्ति सहयोगहरु गरेका छन्। सामाजिक सेवाको क्षेत्रमा उदाहरणीय योगदान पुर्याएका सफल व्यवसायी शेर्पाले स्वतन्त्र उम्मेदवारी घोषणा मार्फत नेपाल शेर्पा संघमा हुने गरेको दलीय राजनीतिलाई रोक्न खोजेका छन्।
अध्यक्ष पदका उम्मेदवार तेन्जी शेर्पाको घोषणापत्र
नेपाल शेर्पा संघ सातौं केन्द्रीय महाधिवेशन-२०८२ अध्यक्ष पदका उम्मेदवार तेन्जी शेर्पा, आदरणीय नेपाल शेर्पा संघको केन्द्रीय प्रतिनिधि साथीहरू, अग्रज महानुभावहरू तथा समस्त शेर्पा दाजुभाई तथा दिदीबहिनीहरू
यही मिति २०८२ साल असाढ १ र २ गते सातौं केन्द्रीय महाधिवेशन हुन गइरहेको हुँदा म तेन्जी शेर्पा, विगत लामो समयदेखि सामाजिक सेवामा निरन्तर सक्रिय रहँदै नेपाल शेर्पा संघको केन्द्रीय उपाध्यक्षको जिम्मेवारी वहन गर्दै आएको छु।
संघको संस्थागत सुदृढीकरण, समुदायको हकहित, हाम्रो सांस्कृतिक, भौगोलिक तथा भाषिक पहिचानको सरक्षण र प्रवर्द्धनका विषयमा निरन्तर कार्य गर्दै आएका अनुभूति र अनुभवले आजको दिनमा मैले स्वतन्त्र रुपमा केन्द्रीय अध्यक्ष पदका लागि उम्मेदवारी दिने निर्णय गरेको छु।
मेरो कार्यकालमा संघको कार्यालयलाई शेर्पा समुदायको गौरव र पहिचान प्रतिविम्बित हुने संरचनाका रूपमा विकास गर्ने उद्देश्यले सभा हलहरूलाई शेर्पा परम्परागत शैलीमा निर्माण गर्ने पहल गरिएको हो, जुन मेरो नेतृत्वमै सम्भव भएको हो।
त्यस्तै, संघको आफ्नो भवन खरिद प्रक्रियामा समेत मैले महत्वपूर्ण योगदान पुऱ्याएको छु। जुन दीर्घकालीन दृष्टिकोणको आधारमा भएको विश्वास लिएको छु। साथै नेपाल शेर्पा संघको भवन निर्माणको क्रममा आर्थिक सहयोग गर्ने सहयोगी दाताहरुको नामलाई सिलालेखमा लेख्ने कार्य समेत मेरो संयोजकत्वमा सम्पन्न हुन लागेको छ।
यसै गरी नेपाल सरकार अन्तर्गत ‘राष्ट्रिय शहीद तथा शान्ति पार्क निजामती ९स्मारक यज्ञडोल० जगडोल सामुदायिक वन, पर्यापर्यटन प्रवर्द्धन तथा उद्यान व्यवस्थापन समिति सँग सहकार्य गर्दै शान्ति स्तूपा ध्यान केन्द्रको स्थापना सम्पन्न गरेको छु। शेर्पा समुदायको पहिचान झल्किने भवन निर्माणका लागि ‘शेर्पा ट्रस्ट’ को स्थापना गर्ने कार्य अन्तिम तयारीमा पुगेको छ।
साथै, विभिन्न शेर्पा संघ-संस्थाहरूमा रही मैले नेतृत्वदायी भूमिका निर्वाह गर्दै समुदायको हितको लागि थुप्रै कार्यक्रमहरू सञ्चालन गर्ने अवसर प्राप्त गरेको छु।
नेपाल शेर्पा संघको नेतृत्वमा केही गुणात्मक परिवर्तन आवश्यक छ भन्ने मेरो धारणा हो। कार्यसमितिमा रहँदा मैले देखेको छु कि हाम्रो समुदायका राजनीतिक, सामाजिक र रणनीतिक मुद्दाहरू कतै ओझेलमा परिरहेको हुंदा यी विषयमा संवेदनशील रहँदै, विगतका सकरात्मक प्रयासहरूलाई निरन्तरता दिंदै समयसापेक्ष सुधार र सोचसहित म अध्यक्ष पदको उम्मेदवारी दिन तयार भएको छु।
मेरो अध्यक्षतामा निम्न कार्यसूचीहरूलाई प्राथमिकताका साथ कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।
१, हाल नेपाल शेर्पा संघ केही आर्थिक दायित्व ९ऋणमा० रहेको अवस्था विद्यमान छ। अध्यक्षको रुपमा मेरो कार्यकालमा संघलाई पूर्ण रूपमा ऋणमुक्त बनाउने लक्ष्यका साथ आवश्यक वित्तीय अनुशासन, पारदर्शिता र स्रोत व्यवस्थापनमा विशेष पहल गरिनेछ। संघको आर्थिक स्वावलम्बन र दीर्घकालीन स्थायित्व सुनिश्चित गर्न दीगो आर्थिक रणनीति अवलम्बन गरिनेछ।
२,शेर्पा संघका सबै तह, समितिहरू, प्रदेश तथा जिल्लास्तरका इकाईहरूबीच समन्वय र नियमित समीक्षा प्रक्रियालाई सुदृढ पार्दै पारदर्शी आर्थिक लेखापरीक्षण र उत्तरदायित्व सुनिश्चित गर्ने साथै संघको सबै तहमा भवन निर्माणका लागि जग्गा खरिद पश्चात संरचना निर्माण कार्यमा विशेष सहयोग प्रदान गर्ने
३,लोकसेवा आयोग लगायत राज्यका सबै निकायहरूमा शेर्पा समुदायको सहभागिता बढाउन आवश्यक कानूनी, प्रशासनिक पहल र सशक्त अभियान सञ्चालन गर्ने
४,देशका सुरक्षा निकाय, न्यायपालिका, शिक्षाप्रणाली, सञ्चार क्षेत्र र कूटनीतिक वृत्तमा शेर्पा समुदायको बाक्लो उपस्थिति गराउन दीर्घकालीन रणनीतिक योजना तयार पारी अघि बढ्ने
५,सम्पूर्ण शेर्पाहरूको साझा चाहना र संघीय नारालाई आत्मसात गर्दै, संघीय संरचनाभित्र पहिचानसहितको शेर्पा स्वायत्त प्रदेश ९शेर्पालुङ० स्थापना गर्ने दीर्घकालीन रणनीति तयार गरी गहन अध्ययन, व्यापक छलफल र सरकारसँग प्रभावकारी वार्ताका माध्यमबाट त्यसको कार्यान्वयनका लागि पहल गर्ने तथा गराउने
६, संघको केन्द्रीय भवनलाई सुव्यवस्थित गर्दै संस्थागत ढङ्गले पहिचानलाई मजबुत बनाउने
७,संघको कार्यालयमा दक्ष तथा उत्तरदायी कर्मचारी व्यवस्थापन गरेर सेवा प्रवाहलाई चुस्त बनाउने
८,राजनैतिक क्षेत्रमा शेर्पा समुदायको सहभागिता सुनिश्चित गर्न सबै तह र तप्कामा आवश्यक अनुसार नेतृत्व विकास कार्यक्रम सञ्चालन गर्ने
९,शेर्पा समुदायका युवा तथा महिलाहरूलाई नीति निर्माण तहसम्म पुयाउने उद्देश्यले नेतृत्व विकास, सीप अभिवृद्धि, उद्यमशीलता तथा शैक्षिक अवसरहरू बिस्तार गर्ने
१०, शेर्पा समुदायको पहिचान, भाषा, धर्म र संस्कृति सरक्षण गर्न प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने तथा अन्तर्राष्ट्रिय तहमा समेत प्रचारप्रसार गर्ने
११, जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रको शेर्पा समुदायमा परिरहेको असरबारे अध्ययन, दस्तावेजीकरण गर्दै अन्तर्राष्ट्रिय मञ्चमा प्रभावशाली आवाज उठाउने र नीतिगत परिवर्तनको पहल गर्नका लागि शेर्पा समुदायका विज्ञहरु संग सहकार्य गरी कार्य गर्ने
१२, शिक्षा क्षेत्रमा विशेष जोड दिंदै, शेर्पा विद्यार्थीहरूका लागि छात्रवृत्ति, शैक्षिक कार्यक्रम अन्तर्राष्ट्रिय अध्ययनका अवसरहरू उपलब्ध गराउने योजना अघि बढाउन सरकारी तथा गैरसरकारी निकायहरु सँग सहकार्य गर्न पहल गर्ने
१३,आर्थिक सशक्तिकरणका लागि पर्यटन, कृषि, पशुपालन तथा स्थानीय स्रोत-साधनको उपयोग गर्दै दिगो तया समुदायमुखी विकास कार्यक्रमहरू सञ्चालन गर्ने
१४,शेर्पा समुदायलाई दीर्घकालीन योजनाका साथ जलविद्युत, निर्माण क्षेत्र लगायत अन्य विकास निर्माणका कार्यहरूमा आफ्ना अनुभवहरू प्रयोग गरी बढी भन्दा बढी सहभागी गराउन पहल गर्ने
१५, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, विकास साझेदारहरू, अनुसन्धान सस्थानहरू र शेर्पा प्रवासी समुदायसँग सहकार्य गरेर साझा हितका कार्यक्रमहरू सञ्चालन गर्ने
१६, विश्वभर रहेका शेर्पाहरूबीच एकता, सद्भाव र सहयोग बढाउन ‘ग्लोबल शेर्पा मञ्च’ संगको सहकार्यलाई प्रभावकारी रुपमा अघि बढाउने
साथीहरू, यो उम्मेदवारी कुनै व्यक्तिगत आकांक्षा होइन, यो हाम्रो सामूहिक सपना, पहिचान र अधिकार सुरक्षित गर्दै भावी पुस्तालाई सुरक्षित भविष्य हस्तान्तरण गर्ने सङ्कल्प हो। म तपाईहरू सबैको साथ, समर्थन र सुझावको अपेक्षा गर्दछु।
शक्तिशाली संस्था, स्पष्ट दृष्टिकोण र साझा नेतृत्व नै हाम्रो समाजको सफलताको मूल आधार हो। आउनुहोस्, शेर्पा संघको नेतृत्व परिवर्तन मार्फत नयाँ युगको सुरुवात गरौं।