News 24 Television
वीरगञ्जमा इन्टरनेटका तार १५ दिनभित्रै ब्यवस्थित गरिने

पर्सा । वीरगञ्जमा सडक तथा पोलहरुमा जथाभावी झुण्डिएको इन्टरनेट तथा टेलीफोनको तारले नगरलाई कुरुप बनाएको छ । सुन्दर र सफा सहर बनाउने परिकल्पना बोकेको वीरगञ्ज महानगरपालिकालाई तार व्यवस्थापन गर्न हम्मेहम्मे परिरहेको बेला गर्मीयाममा हावाहुरी तथा विद्युत सर्टका कारण आगलागीका घटना वृद्धिले चुनौती थपिएको छ । 

सोही कुरालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय पर्साले सरोकारवालाको बैठक बोलाएर १५ दिनभित्र परिणाममुखी काम गर्न निर्देशन दिएको छ ।  

पर्साको वीरगञ्ज महानगरपालिकाले नगरलाई सुन्दर, हरियाली र वैभव वीरगञ्ज बनाउने अभियान लिएर अघि बढेको छ । तर सरसफाइमा अग्रणी महानगरलाई नगरभित्रका पोलहरुमा जथाभावी लत्रिएको र गुजुल्टीएको तार व्यवस्थापन गर्न सकस भइरहेको छ ।  

बिजुली र टेलिफोनको पोलहरुमा अव्यवस्थित तरिकाले झुण्डिएको र सडकमा लत्रिएको तारका कारण वीरगञ्जमा आगलागीका घटना बढिरहेको छ । २ वर्षदेखि तार व्यवस्थापन अभियान शुरु भए यता करिब २० हजार किलो अव्यवस्थित तारहरुलाई हटाएको महानगरले जनाएको छ । तर इन्टरनेटका तारहरु महानगरको लागी चुनौती बनिरहेको छ ।

तार ब्यवस्थापनबारे जिल्ला प्रशासन कार्यालय पर्सामा प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा मंगलबार इन्टरनेट प्रदायक संस्थाहरु, सुरक्षा निकायका प्रतिनिधिहरु, वीरगञ्ज महानगरपालिकाका प्रतिनिधि लगायत सरोकारवालाको बैठक बसेको छ । तर सेवा प्रदायक संस्थाहरु भने गैर जिम्मेवार देखिएको र उनीहरुको असहयोगका कारण ब्यवस्थपनामा कठिनाई भइरहेको वीरगञ्ज महानगरको गुनासो छ । 

इन्टरनेट प्रदायक संस्थाहरुले भने ग्राहकहरुका कारण अनावश्यक तारहरु हटाउन समस्या भएको बताएका छन् । आगलागीका घटनाहरु आफूहरुका कारण नभएको उनीहरुको भनाई छ । प्राविधिक कारण पत्ता लगाई आगलागी जस्ता समस्या सामाधान गर्नुपर्नेमा उनीहरुको भनाई छ ।

पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल अव्यवस्थित तार व्यवस्थापनका लागि सबैको सहयोग अपरीहार्य रहेको बताउँछन् । तार ब्यस्थापनका लागि बैठकले ८ बुँदे निर्णयसमेत गरेको छ । 

आगामी १५ दिनभित्र महानगरभित्रका सबै तारहरु सेवा प्रदायक संस्थाहरुबाट व्यवस्थापन गर्नुपर्ने तथा स्थानीय तहले नयाँ तारहरु मेशिनको सहयोगबाट बन्चीङग गर्नुपर्ने बैठकले निर्णय गरेको छ । यसको जिल्ला प्रशासन कार्यालयले अनुगमन गर्ने जनाइएको छ । 

तार व्यवस्थापनमा असहयोग गर्ने तथा जथाभावी तार छाड्नेलाई कडा कारवाही गर्ने चेतावनी दिइएको छ ।  

प्रकाशित मिति: बुधबार, जेठ २१, २०८२  ०९:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update