अत्तरिया । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले कैलालीको गोदावरी नगरपालिका वडा नं ३ मा नवनिर्मित एकिकृत फोहोरमैला व्यवस्थापन केन्द्र तथा दिशाजन्य पदार्थको प्रशोधन प्रणालीको उद्घाटन गरेका छन् ।
बिहिबार उपप्रधानमन्त्री सिंहले गोदावरी नगरपालिका वडा नं। ३ चौकीडाँडामा बनेको फोहोरमैला व्यवस्थापन केन्द्रको निर्माण कार्य सम्पन्न भइ संचालनका उद्घाटन गरेका हुन् ।
एसियाली विकास बैंक (एडिबी) को ऋण अनुदान सहयोग र नेपाल सरकारको सहकार्यमा क्षेत्रीय सहरी विकास आयोजना कार्यालय, धनगढीको संयोजनमा केन्द्रको निर्माण गरिएको हो । केन्द्र उद्घाटन गर्दै उपप्रधानमन्त्री सिंहले विश्व वातावर्ण दिवसकै दिन फोहोर मैला व्यवस्थापन केन्द्र शुरू हुनु खुशीको विषय भएको बताए । उनले फोहोरमैला केन्द्र शुरू भएपछि गोदावरीसहित यो क्षेत्रको वातावरण स्वच्छ हुने र फोहोर मैलाको उचित व्यवस्थान हुने विश्वास व्यक्त गर्नुभयो । नागरिकको जीवन र जीविका सहज बनाउन सरकारले जनताले प्रत्यक्ष अनुभूत गर्ने योजना निर्माण सरकारको प्राथमिकतामा रहेको सो क्रममा उपप्रधानमन्त्री सिंहले बताए ।
कुल लागत ५१ करोड ६९ लाख ७४ हजार ४ सय ९९ रुपैयाँ रहेको यस परियोजनामा ७५ प्रतिशत रकम एडिबीको ऋण अनुदानबाट र बाँकी २५ प्रतिशत नेपाल सरकारको लगानीबाट पूरा गरिएको हो । फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणको ठेक्का चिनको सिचुवान प्रोभेन्सियल जियोलोजिकल इन्जिनियरिङ कम्प्लेक्सलाई दिइएको थियो ।
करिब पाँच हेक्टर क्षेत्रफलमा फैलिएको यो केन्द्र तीन वर्षसम्म निर्माण कम्पनीकै व्यवस्थापनमा रहनेछ । उक्त अवधिपछि गोदावरी नगरपालिकालाई हस्तान्तरण गरिने सम्झौता गरिएको छ ।
केन्द्रमा संकलित फोहोरलाई वर्गीकरण गरिनेछ । कुहिने फोहोरबाट कम्पोस्ट मल उत्पादन गरिनेछ भने रिसाइकल गर्न सकिने फोहोरलाई कवाडीमा बिक्री गरिने बताइएको छ । यसबाट वातावरणीय प्रदूषण न्यूनीकरण हुने र स्थानीय कृषकलाई जैविक मल प्राप्त हुने अपेक्षा गरिएको छ ।
स्थानीय रोजगारीलाई प्राथमिकता दिँदै केन्द्रमा ४० जना भन्दा बढी स्थानीयलाई योग्यता अनुसार रोजगारी प्रदान गरिने बताइएको छ ।
कुहिने फोहोरबाट मलखाद बनाउनुका साथै नकुहिने, तर पुनःप्रयोग गर्न सकिने बस्तु प्रशोधन गरिने भएकाले फोहोरमैला व्यवस्थापन केन्द्र आम्दानीको स्रोत समेत गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्टको भनाई छ ।
