News 24 Television
विकास निर्माणमा दोधारा–चाँदनीको छलाङ, फराकिलो सडकले फेरियो पहिचान 

कञ्चनपुर । महाकाली पारीको दोधारा चाँदनी नगरपालिकाका नागरिक केही वर्ष पहिला सम्पुर्ण रुपमा भारतसँग आश्रित थिए । नक्सामा दोधारा चाँदनीको भू–भाग नेपालमै थियो । यस क्षेत्रमा बसोबास गर्नेहरुको हातमा नेपाली नागरिकता नै थियो । नेपाल सरकारले तोकेको राजश्व समेत समयमै तिर्थे तर सरकारबाट पाउनु पर्ने प्राय सबै सेवा सुविधाबाट भने उनीहरु बञ्चित थिए । तर अहिले व्यवस्था फेरिएसँगै दोधारा चाँदनीको अवस्था पनि फेरिएको छ । 

कुनै बेला महाकाली नदीमा ज्यानको बाजी थापेर ट्युव यात्रा गर्न बाध्य दोधारा चाँदनीवासी अहिले निर्माणाधीन चार लेनको पक्की पुल र निर्माणको गृहकार्यमा रहेको सुख्खा बन्दरगाह जस्ता मुलुककै ठूला आयोजनासित जोडिँदा खुशी छन् ।

 न्यूज २४ टेलिभिजनको सिधाकुरा मेयरसंग कार्यक्रममा बिहिवार सहभागीहरुले बाटोघाटो, सहरीकरण, उत्पादनको बजारीकरण लगायतका बिषयमा आफ्नो धारणा तथा गुनासो प्रस्तुत गरेका छन् । 

मुलुक संघिय संरचनामा गएसँगै महाकाली नदीमा झोलुङ्गे पुलसंगै ४ लेनको पक्की पुल निर्माण भएपछि अहिले दोधारा चाँदनीबासीको दैनिकी नेपाली बजारसँग जोडिन थालेको हो । 

२०६१ सालमा महाकाली नदीमा झोलुङ्गे पुल निर्माण गरिएको भएपनि चारपाँग्रे सवारी साधनको पहुचमा दोधारा चाँदनी पुग्न सकेको थिएन । जसले गर्दा यहाँ पुग्न मोटरसाइकलकै भर पर्नु पर्ने हुन्थ्यो । 

जुन निकै जोखिमपुर्ण थियो । तर निर्माणाधिन ४ लेन पुलमा अहिले यातायातका साधन संचालनमा आएपछि भने दोधारा चाँदनीको पहिचान नै फेरिएको छ भने भारतीय बजारसँगको निर्भरता पनि हटेको छ । दोधारा चाँदनी नगरपालिकाका मेयर किशोरकुमार लिम्बुले व्यवस्थासंगै यस क्षेत्रको अवस्था पनि फेरिदैं गएको बताए । 

कुनै बेला बिरामी भइहाले उपचारका लागि भारतीय बाटो हुँदै एम्बुलेन्समा महेन्द्रनगर बजार ल्याउनु पथ्र्यो । अहिले देशभित्रैको सडक हुँदै महेन्द्रनगरसम्म पुग्न सकिन्छ । दोधारा चाँदनीबाट महेन्द्रनगर बजार आउन मात्रै नभएर अहिले दोधारा चाँदनी भित्रकै यातायात संजालमा निकै सुधार आएको छ । 

१० बर्ष पहिलेको मात्रै तुलना गर्ने हो भने यहाँ सडक संजालले निकै फड्को मारेको छ । साइकल, मोटरसाइकल चलाउन पनि हम्मेहम्मे पर्ने यहाँका सडकहरुमा अहिले निकै फराकिला भएका छन । 

मलुकपारिको वस्तीका रुपमा परिचित दोधारा चाँदनी स्थानीय तहमा जनप्रतिनिधि आएपछि विकास र समृद्धिमा जिल्लाकै अग्रस्थानमा आउन थालेको छ । आफुहरु निर्वाचित भए यता न्यायिक समिति मार्फत न्याय सम्पादन, बजार अनुगमन लगाएतका क्षेत्रमा फड्को मारेको उपमेयर गंगादेवी जोशी बताउछिन् ।  

तर कार्यक्रममा सहभागि केहीले भने राजनिती आस्थाका आधारमा नगरपालिकाले काम गरेको आरोप लगाउदै आफैले चुनेका जनप्रतिनिधीसँग चर्काचकी समेत गर्न भ्याए ।

स्थानीयहरुको गुनासो सम्बोधन गर्दै निमित प्रमुख प्रशासकीय प्रमुख यज्ञराज लेखकले नगरपालिकाले वडातहबाट माग गरेअनुसार बजेट दिने गरेको बताउदै जनप्रतिनिधी र कर्मचारी बीच सुमधुर सम्बन्ध रहेको स्पष्ट पारे । 

दोधारा चाँदनीमा अहिले सातै प्रदेशमा मानिस बस्छन् । जिल्लाकै नमूनाका रुपमा सडक सञ्जाल र पुलपुलेसा विस्तार र स्तरोन्नति देखिने गरि नै भएका छन् । पहिले सधैं टाढा लाग्ने सदरमुकाम अहिले कमोटरसाइकलमा ३० मिनेटमा पुगिन्छ । यद्यपी अझै पनि दोधारा चाँदनीका आर्थिक अवस्था कमजोर र विपन्न वर्गले भने रोजगारीका लागि भने भारत जानुपर्ने बाध्यता कायमै छ । 
 

प्रकाशित मिति: शुक्रबार, जेठ २३, २०८२  ०९:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update