
कैलाली । न्यूज २४ टेलिभिजनको स्थानीय सरकार विशेष कार्यक्रम सिधा कुरा मेयरसँगको अर्को श्रृंखला कञ्चनपुको बेलौरी नगरपालिकामा सम्पन्न भएको छ । जनप्रतिनिधि र नागरिकबीच प्रत्यक्ष साक्षात्कार गराउँदै पालिकाको दीगो विकासमा सबैलाई जिम्मेवार बनाउने उद्देश्यसहितको यो कार्यक्रममा बेलौरीका जनप्रतिनिधि र स्थानीयको उत्साहजनक सहभागिता रह्यो ।
कञ्चनपुर जिल्लाको दक्षिणी भागमा अवस्थित बेलौरी नगरपालिका यस्तो नगरपालिका हो, जसलाई आफनै सदरमुकामसम्म पुग्नलाई अर्को जिल्ला कैलाली पुग्नु पर्र्ने बाध्यता छ ।
कञ्चनपुर जिल्लाको सदरमुकाम बेलौरीबाट अहिले सुरक्षा र भौगोलिक कारणले महेन्द्रनगरमा सारिएको छ । कंचनपुरको दक्षिणी सीमावर्ती भारतसित जोडीएको बेलौरी प्राकृतिक, सांस्कृतिक, आर्थिक एवं प्रशासनिक महत्व बोकेको नगरपालिका हो ।
यस क्षेत्रमा बिकासको सम्भावना प्रचुर छ । तर सीमा जोडिएको कारण र नेपाली भुभागमा हुने भारतीय अतिक्रमणका प्रयासलाई लिएर पटक पटक विवाद हुने गरेको छ । विवादकै कारण भारतीय सुरक्षाकर्मीले चलाएको गोली लागी स्थानीय गोविन्द गौतमको मृत्यु समेत भएको थियो । नेपाल सरकारको मौनता र भारतीय पक्षको हेपाहा प्रवृतिको कारण यस क्षेत्रका सयौँ बिगाह जमिन भारतले अतिक्रमण गर्छ की भन्ने नगरवासीको पिर छ ।
यदि नेपाल सरकार समयमै गम्भिर नहुने हो भने नेपाली भुभाग अतिक्रमण अझै बढ्ने हो कि भन्ने चिन्ता स्थानीयले गरे । कार्यक्रममा शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, सुरक्षा र विकास निर्माणको विषयमा तार्किक एवं महत्वपुर्ण विषयमा सवाल जवाफ भएको थियो ।
बेलौरी नगरपालिकामा सडक, कृषि, शिक्षा, स्वास्थ्य क्षेत्रमा सोचेभन्दा राम्रो सुधार भएको नगरप्रमुख पोतिलाल चौधरीको भनाई छ । कैलाली भन्सार मातहत रहेको छोटी भन्सार बेलौरी नेपाल भारत दुवै देशका जनताको आवत जावत गर्ने मुख्य मार्गका साथै व्यवसायिक नाका पनि हो । यस छोटी भन्सार नाकाको स्तरउन्नतीका लागि अहिले प्रयास भईहेको छ । नगरप्रमुख चौधरीले बेलौरीमा भन्सार स्तरबृद्धि नहुँदा चोरी तस्करी एव राजस्व छली भईरहेको बताए ।
प्रमुख प्रशाशकीय अधिकृत गणेश सिंह ऐरीले नगरपालिकामा रहेका नगर प्रमुख, उपप्रमुख लगायत सबै कर्मचारीहरु मिलेर काम गर्ने गरेको बताए । उनले आगामी बजेटको तयारीमा रहेको उल्लेख गर्दै अवको बजेट समस्या समाधान गर्ने गरेर आउने बताए ।
उपमेयर जोगराम चौधरीले नगरवासीका प्रतिक्रिया, जिज्ञाशा र सुझाव सकारात्मक र महत्वपूर्ण विषयमा रहेको र आगामी दिनमा यस क्षेत्रमा रहेको समस्याहरुको निराकरण गर्दै लैजाने प्रतिबद्धता जनाए ।
कार्यक्रममा सहभागीहरुले महानगरभित्र भइरहेको विविध गतिविधिप्रति चासो राख्दै भारतीय पक्षबाट भइरहेको थिचोमिचो र अतिक्रमण रोक्न केन्द्र सरकारले नै पहल गर्नुपर्ने बताए ।