
रुपन्देही । लामो समयदेखि भन्सार कार्यालयहरुमा सर्भर डाउन हुँदा आयात–निर्यातकर्ताहरुले हैरानी खेपिरहेका छन् । दिनमै ५–६ पटकसम्म भन्सार कार्यालयहरुमा सर्भर डाउन हुने गरेको छ ।
सर्भर डाउन हुँदा भन्सार कार्यालयमा आयात–निर्यात गर्दा प्रयोग हुँदै आएको मुख्य डिजिटल प्रविधि सफ्टवेयर आशिकुडा वल्र्डले काम गर्दैन । जसले गर्दा पार्किङ शुल्क लगाएत अन्य दर्जनौ झण्झट झेल्नु परिरहेको छ ।
मालबाहक गाडी भन्सार प्रवेश गर्दा, पार्किङ, जाँचपास, प्रमाणीकरण, राजस्व भुक्तानी र बाहिरिँदासम्म कम्तिमा सातपटक आशिकुडा वल्र्डमार्फत डिजिटल रुपमै काम गर्नुपर्छ । तर, आशिकुडा वल्र्डको सर्भर दिनमै ५–६ पटकसम्म डाउन हुँदा मालबाहक गाडी भन्सार प्रवेशदेखि सबै प्रक्रिया पूरा गर्दासम्म लामो समय लाग्ने गरेको छ ।
भन्सारमा सर्भर डाउन हुन थालेको विषय नयाँ भने होइन् । विगतका वर्षदेखि यो समस्या छ । तर, पछिल्लो २–३ महिनायता भैरहवा भन्सार कार्यालयमा सर्भर डाउन हुने समया झन बढी छ । यो समस्या बीरजंग, विराटनगर, नेपालगंज जस्ता ठूला भन्सारहरुमा समेत छ । सर्भर डाउन भएकै कारण मालबाहक गाडी समममै भन्सार पास नहुँदा कच्चा पदार्थ अभावमा औद्योगिक उत्पादन प्रभावित भएको, फलफूल र तरकारी भन्सार पास नहुँदै कुहिने गरेको, पार्किङ शुल्क दोब्बर–तेब्बर तिर्नु परिहेको उद्योगी व्यवसायी बताउँछन् ।
विदेशबाट वस्तु आयात गर्दा भन्सारमा हुने सबै झन्झट हटाएर भन्सारलाई क्यासलेस र पेपरलेस बनाउने उद्देश्यले मुलुकभरका सबै भन्सार कार्यालयहरुमा सन् २०१७ देखि अनलाइन प्रणाली आशिकुडा लागु गरिएको थियो ।
विस्तारै यसलाई अपग्रेड गरी हाल आशिकुडा वल्र्ड बनाइएको छ । तर, यो प्रणाली वर्सेनि अपग्रेड गर्नुपर्नेमा ढिलासुस्ती गरिँदा सर्भर डाउन हुने समस्या बढीरहेको छ । हाल यो आशिकुडा वल्र्ड प्रणाली भन्सारसँग सम्बन्धित ४२ वटा कार्यालयमा लागू छ । तर, सर्भर डाउन हुँदा सबै कार्यालयको काम प्रभावित हुने गरेको छ ।
सर्भर डाउन हुने समस्या बारे भन्सार र रुपन्देहीका उद्योगी व्यवसायी सहित सीमा क्षेत्रका व्यवसायीहरुले भन्सार विभागदेखि अर्थमन्त्रालयसम्म जानकारी गराएका छन् । तर, अहिलेसम्म समस्या समाधान हुन सकेको छैन । सर्भरकै कारण भन्सार प्रवेश गर्नुपर्ने मालबाहक गाडी नाकामा लाइन लागेर रोक्नुपर्ने बाध्यता छ भने भन्सार जाँचपास भएर बाहिरिन कहिलेकाहीं दुई–तीन दिन समेत लाग्ने गरेको छ ।
सर्भर नचलेकै कारण व्यापारी र भन्सार एजेन्टहरु भौतारी रहन्छन् भने कर्मचारीहरु बेलबेला फुर्सिदिला समेत हुने गरेका छन् । यसको मार आयात–निर्यातकर्ता व्यापारीलाई परिरहेको छ ।
आशिकुडा वल्र्ड प्रणाली नेपालसहित विश्वका एक सय बढी देशले लागु गरेका छन् । तर, नेपालमा मात्रै सर्भर डाउनको समस्या आइरहेको व्यवासायीको दावी छ । मुलुकको राजस्व असुलीमा करिब ५० प्रतिशत योगदान भन्सारले दिने गरेको छ । यस्तो महत्वपूर्ण कार्यालयमै सर्भर डाउनको समस्या दोहोरिरहेकाले दीर्घकालीन रुपमै समस्या समाधान गर्नुपर्ने व्यवसायीको माग छ ।