News 24 Television
वीरगञ्जका मुस्लिम समुदायले बकर इद पर्व मनाउँदै

वीरगञ्ज । वीरगञ्जमा मुस्लिम धर्मावलम्बीहरुले दोश्रो महान पर्व बकर ईद हर्षोउल्लासका साथ मनाउँदै छन् । रमाजनको ७० औँ दिनमा मनाईने बकर ईद पर्वमा बिहानै स्नान गरी नजिकको मस्जिद वा इदगाहमा गई सामूहिक रुपमा नमाज पढ्नुका साथै एकअर्कालाई अंकमाल गरेर एकापसमा खुशीयाली साटासाट गर्ने गर्छन् । 

तिन दिनसम्म मनाईने यो पर्वलाई आत्मशुद्धि, त्याग र समर्पणको रुपमा पनि मनाउने गरिन्छ । आज वीरगञ्जको छपकैया, लाठ गल्ली, मुर्लीलगायत विभिन्न स्थानहरुमा रहेका मस्जिदहरुमा मुसिलम समूदायको घुईचो लागेको छ । इद पर्वको कारण खजा वीरगञ्जका सडकहरुमा मुस्लिम समुदायको चहलपहल पनि बढ्दो छ । 

मुस्लिम समुदायले नयाँ कपडा र मिठा खानाका परिकार खानुका साथै आफ्ना इष्टमित्रहरुलाई समेत आफ्नो खुशियालीमा सहभागी गराउने गर्छन । हिजरी संवत अनुसार १४ सय ३९ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिम आफ्ना छोरा इसमाएललाई बलिदान गर्न तयार भएको संझनामा यो पर्व मनाउन थालिएको हो ।  

यस पर्वमा अल्लाहलाई खुसी पार्न जायज जनावरको कली दिने प्रचलन रहेको छ । कुर्बानीको मासु तीन भागमा बाँडी वितरण गरिन्छ। एक भाग गरिब एवं विपत्र परिवारलाई,  अर्को भाग आफ्ना इष्टमित्रलाई र अर्को  एक भाग आफू खानुपर्ने धार्मिक मान्यता छ । 

बलिदानीको पर्वका रुपमा लिइने बकर इद मुस्लिम महिना जुल हिज्जाको दशौँ दिन मनाउने गरिन्छ । बकर इदको अवसरमा आज सरकारले सार्वजनिक विदा समेत दिएको छ ।

प्रकाशित मिति: शनिबार, जेठ २४, २०८२  १०:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update