News 24 Television
टियू मैदान पुगेर ओलीले देखे गौरवको रंगशाला 

काठमाडौं । नेकपा एमालेका अध्यक्षसमेत रहेका केपी ओलीले प्रधानमन्त्री नियुक्त भएपछिको पहिलो मन्त्रिपरिषद् बैठकबाट त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा एक सय दिनभित्रै प्याराफिट निर्माण र फ्लड लाइट जडान गर्ने निर्णय गरेका थिए । तर निर्णय कार्यान्वयन हुन सकेन । आफू प्रधानमन्त्री भएको झण्डै ११ महिनापछि पार्टी कार्यक्रमको शिलशिलामा कीर्तिपुर गएकोबेला टियू मैदान टेक्दा ओली निकै उत्साहित देखिए । 

प्रधानमन्त्री केपी ओली आइतबार काठमाडौंको कीर्तिपुरस्थित निर्माणाधिन टियु क्रिकेट रंगशाला पुगे । पार्टीको विद्यार्थी संगठन अनेरास्ववियुको सम्मेलनका लागि कीर्तिपुर गएकोबेला जम्बो टोलीसहित ओली टियू मैदान पुगे । 

मन्त्रिपरिषद्को पहिलो निर्णय कार्यान्वयन नभएकोमा आलोचित बनेका प्रधानमन्त्री ओली आइतबार निर्माणाधिन मैदानको अवलोकन गर्न पुग्दा भने निकै उत्साहित देखिए । पहिलो चरणको कामलाई असारभित्रै सिध्याउने गरी काम भइरहेको ओलीले प्रतिक्रिया दिए । एउटै क्रिकेट मैदान नभएको देशमा राम्रो क्रिकेट स्टेडियम छ भन्ने गौरव राख्न पाउने अवस्था बनेको उनले बताए । 

प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको बचन अनुसार किर्तिपुरस्थितित टियु क्रिकेट रंगशालको काम गत महिना बैठकमा सकिसक्नु पर्ने थियो । तर प्रधानमन्त्री ओली नेतृत्वको मन्त्रीपरिषद् बैठकले उद्घोष गरेको पुर्वनिर्धारित मितिमा न त प्याराफिट बन्यो न त फ्लड लाइट नै । अरु दुई महिना थप समय दिएर निमांण कम्पनीलाई असार भित्र काम सक्न प्रधानमन्त्री ओलीले निर्देशन दिए । अहिले निर्माण कम्पनीले धमाधम काम गरिरहेका छन् ।

 एकतीर प्याराफिट निर्माणका काम भइरहको छन् भने अर्काेतीर फ्लडलाइट निर्माणको काम तीब्र गतिमा चलेको छ । पहिलो चरणमा १० हजार दर्शक अट्ने क्षमताका लागि मैदानको  स्वरुप फेरिएको छ । सिटहरु मैदानमा झारिएको छ भने भिआइपी तर्फ सिट जडान कार्य एक दुई हप्ताभित्रै हुने निमांण कम्पनीले दाबी गरिरहेका छन् । तर टियु रंगशाला निमार्णमा निकै चासो दिएका ओलीमा आफ्नो बोली नै गलपासो हुने डर उत्तिकै छ । 

तोकिएको समयसीमामा काम नसकिएपछि यसअघि ओलीले निमार्ण कम्पनीलाई बालुवाटारथित सरकारी निवासमै बोलाएर स्पष्टीकरण सोधेका थिए । जवाफमा निमार्ण कम्पनीले बर्षा र स्रोत साधनको अभावको समस्या दर्शाएका थिए । त्यसपछि ओलीले थप २ महिना समय दिँदै असार मसान्त भित्र काम सक्न निर्देशन दिए । 

फेरिदैछ रंगशालाको स्वरुप  

यतिबेला रंगशालाको रुप फेरिएको छ । चहलपहल बढेको छ । राजीकालिन र दिउसो गरी दुई सिफ्टमा काम भइरहेको छ । बाहिर हेर्दा रंगशाला निर्माण समयमै सम्पन्न हुनेमा नेपाली दर्शक आशावादी छन् । 

विश्व क्रिकेटमा नेपाली क्रिकेटलाई लिएर चर्चां भइरहेको छ । खेलाडीको उम्दा प्रदर्शनकै मदतमा नेपालले गत बर्ष १० बर्षपछि दोस्रो पटक टि–२० विश्वकप खेलेको थियो । कमजोर पुर्वाधारकै कारण नेपालले एशोसिएट राष्ट्रलाई नेपालमा बोलाएर खेल्नु पर्ने बाध्यता छ । 

ठुला राष्ट्र अर्थात् टेष्ट नेसनसंग घरेलु मैदानमा खेल्न भौतिक पुर्वाधारको प्रमुख समस्य देखिएको छ । यस्तो अवस्थामा खेलाडी, प्रशिक्षक र नेपाली दर्शकलो सरकार र खेलसंवद्ध निकायलाई गतिलो रंगशाला निमार्णका लागि सरकारलाई दबाब दिदै आएका छन् । सबै पक्षको दबाब सुनेको सरकारले टियु मैदानलाई सुविधासम्पन्न बनाउन प्रयासको थालनी त गरेको छ तर समयमै रंगशाला बन्नेमा भने आशंका कायम छ । 

प्रकाशित मिति: सोमबार, जेठ २६, २०८२  ०९:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update