News 24 Television
नेपाल सम्वतको प्रवर्तकको नाममा वीरगञ्जमा पार्क

काठमाडौं । वीरगञ्जमा राष्ट्रिय विभूति तथा नेपाल संवतका प्रवर्तक शंखधर शाख्वाको नाममा बनेको पार्क सञ्चालनमा आएको छ । बालबालिकाको खेलकुद गतिविधिको आवश्यकतालाई मध्यनजर गर्दै निर्माण गरिएको पार्ककोसंघीय खानेपानी मन्त्री प्रदीप यादवले उद्घाटन गरेका थिए । पार्क सञ्चालनमा आएपछि वीरगञ्जवासीमा खुशीयाली छाएको छ ।  

पर्साको वीरगञ्ज महानगरपालिकाले राष्ट्रिय विभूति शंखधर शाख्वा पार्क संचालनमा ल्याएको छ । पार्क लामो समयदेखि निर्माणाधिन थियो । पार्कको संचालनले स–साना बालबालिकालाई खेल्न, रमाउनको साथै साँझ बिहान घुमफिर गर्नलाई सजिलो भएको छ । 

पार्कको आवश्यकता महशुष गर्दै वीरगञ्ज महानगरपालिकाले बालबालिकामैत्री सूविधासम्पन्न पार्कको निर्माण गरेको हो । पार्कको निर्माणले वीरगञ्जका नेवार समूदायमा भने छुट्टै रौनकता छाएको छ । 

राष्ट्रिय विभूति तथा नेपाल संबतका प्रवर्तक शंखधर शाख्वाको नामबाट पार्क संचालनमा आएपछि नेवारहरु थप उत्साहित देखिन्छन् । वि.सं. ९३६ मा शाख्वाले नेपालीलाई ऋण मोचन गरिदिएपछि नेपाल संवत प्रचलनमा आएको इतिहासकारको भनाई छ । नेवार समुदायका धेरै अग्रज व्यक्तित्वहरुको वीरगन्जको समृद्धि र विकासमा महत्वपूर्ण योगदान रहेको छ । त्यसैले पनि नेपाल सम्वतका प्रवर्धक शंखध्वर शाख्वाको नाममा पार्क निर्माण गरिदाँ नेवार समुदाय भावनात्मकरुपमा पनि हर्षित बनेका छन् ।

उद्घाटन कार्यक्रममा वीरगञ्जका नेवारहरुले आफ्नो सांस्कृतिक पोशाक र धिमे बाजासहित खुसी साटासाट गरेका थिए । यस्तै, पार्क अवलोकन गर्न आउने आगन्तुकहरुलाई मिठो नेवारी परिकार यमरी समेत वितरण गरेका थिए । पार्कमा झिलीमिली बत्तीसंगै खेलकुद तथा व्यायामका सामग्रीहरु पनि राखिएको छ । 

वीरगञ्ज वडा नम्बर ४ मा अवस्थित पोखरीलाई माईराम पोखरी नामले चिनिने गरिन्थ्यो । २०२२ सालको नापीमा यो पोखरी ४ विगाह १३ कठ्ठा क्षेत्रपÞmलमा फैलिएको थियो । 

तर संरक्षणका अभावका कारण चारैतिरबाट अतिक्रमणमा परि पोखरी १८ कठ्ठामा खुम्चिन पुग्यो । मझौला शहर एकीकृत वातावरणीय सुधार आयोजना अन्तरगत एशियाली विकास बैंकको सहयोगमा सो जग्गामा करिब ४ करोडमा निर्माण गरिएको चिल्ड्रेन पार्कको वीरगञ्ज महानगरपालिकाका तत्कालिन मेयर विजय कुमार सरावगीले २०७५ सालमा उद्घाटन गरेका थिए । अधुरो पार्क उद्घाटन गरी अलपत्र पारेको भन्दै सर्वत्र आचोलना समेत भएको थियो । 

तर वीरगञ्ज महानगरपालिकाको मेयर पदमा राजेशमान सिंह निर्वाचित भएर आए लगतै सार्वजनिक जग्गा अतिक्रमण मुक्त गारउने योजना अनुरुप गत २०७९ साल कात्तिकमा पोखरी छेउका बासिन्दालाई जग्गाको निस्सा उपलब्ध गराउन आग्रह गर्दा केहीले मात्रै निस्सा पेश गरेका थिए । 

निस्सा पेश गर्न नसक्नेहरुको जग्गा र संरचना डोजर लगाएर नगर प्रहरीको रोहबरमा भत्काइएको थियो । हाल करिब २ विगाह जग्गा नगरपालिकाको स्वामित्वमा ल्याउन सफल भएको र बाँकीमा अतिक्रमण हटाउन अदालती प्रकिया चलिरहेको छ । सोही फिर्ता ल्याएको अतिक्रमित जग्गामा करिब १ करोड २५ लाख रुपैयाँमा निर्माण गरिएको पार्कलाई अझ व्यवस्थित र हरियाली बनाउन बाकी रहेको मेयर  राजेशमान सिंहले बताए । 

पार्कको पर्खालहरुमा विभिन्न धार्मिक मठमन्दिरहरुको आकर्षित चित्रहरु कोरिएको छ । चित्रमार्फत् पार्कमा केवल सौन्दर्यकरणको परियोजना मात्र नभई, वीरगञ्जबासीको सामूहिक जीवनशैली र सांस्कृतिक पहिचानसंग जोडिएको विषयलाई समेत दर्शाउन खोजिएको छ ।

प्रकाशित मिति: सोमबार, जेठ २६, २०८२  १०:००
प्रतिक्रिया दिनुहोस्
Weather Update