News 24 Television
सुनचाँदी व्यवसायी सडकमा, सरकारलाई चुनौति

कास्की । अहिले देशभरका सुनचाँदी व्यवसायी आन्दोलित छन् । सरकारले आगामी आर्थिक वर्ष २०८२\०८३ को बजेट वक्तव्यमार्फत सुनमा २ प्रतिशत विलासिता कर र हिरा–जवाहरातसहितका बहुमूल्य वस्तुहरूमा १३ प्रतिशत भ्याट लगाउने निर्णय गरेपछि उनीहरु आन्दोलनमा उत्रेका हुन् । कास्कीमा समेत व्यवसायीले आन्दोलन चर्काएका छन् । 

सरकारले आगामी आर्थिक वर्ष २०८२\०८३ को बजेट वक्तव्यमार्फत सुनमा २ प्रतिशत विलासिता कर र हिरा–जवाहरात लगायतका बहुमूल्य वस्तुहरूमा १३ प्रतिशत भ्याट लगाउने निर्णय गरेपछि सुनचाँदी व्यवसायी अशान्त छन् । 

उनीहरुले पछिल्ला केहिदिन यता निरन्तर आन्दोलन गरिरहेका छन् । देशभरका व्यवसायी आन्दोलित भइरहँदा कास्कीमा समेत करिब ५ सय व्यापारी सडकमा उत्रिएका छन् । भ्याटसम्बन्धि घोषणा फिर्ता लिनुपर्ने उनीहरुको माग छ । उनीहरूले जिल्ला प्रशासन कार्यालय कास्कीको अगाडि नाराबाजी समेत गरेका छन् ।

सरकारले उपभोक्ताको हित विपरित अनावश्यक कर लगाएको भन्दै नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र कालिगढ संघले संयुक्तरुपमा आन्दोलनका कार्यक्रम गरेका हुन् । 

व्यवसायिहरु पसलहरू नै बन्द गरेका छन् । देशभर २७ हजार सुनचाँदी व्यवसायी भएपनि राज्यले व्यवसाय सञ्चालनका लागि कुनै नीति, नियम, कार्यविधि प्रभावकारी नबनाएको उनीहरुको आरोप छ । 

सुनचाँदी गहनामा लगाइएको अनावश्यक विलासिता करको व्यवस्थाले व्यवसाय थप संकटमा परेको आन्दोलित व्यवसायीको भनाइ छ । सरकारले लगाएको यो कर निकै अव्यवहारिक रहेको र उपभोक्ताको हित विपरित भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अध्यक्ष किसान सुनारको टिप्पणी छ  ।

सुनचाँदी व्यवसायीको आन्दोलन अहिले देशका ७७ वटै जिल्लामा फैलिएको छ । महासंघहरूले सरकारलाई व्यवसायमैत्री नीति अवलम्बन गर्न आग्रह गर्दै मागहरू सुनुवाइ नभए थप कडा आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्  । 

प्रकाशित मिति: शुक्रबार, जेठ ३०, २०८२  ०९:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update