News 24 Television
हिमालले देखायो खतराको संकेत, हिमालवासी चिन्तामा 

काठमाडौं । जलवायु परिवर्तन विश्वसमुदायकै लागि खतराका रुपमा दिनप्रति दिन बढ्दो क्रममा छ । विश्वमञ्चमा प्राय साझा छलफलको विषय पनि बन्छ जलवायु परिवर्तन र यसको प्रभाव ।

तर, दीर्घकालीन समाधान छैन । विश्वका अन्य देश जोखिममा पर्दैगर्दा नेपाल झन् उच्च जोखिममा छ, जलवायु परिवर्तनको । नेपालका हिमालहरुको अवस्था थप खराब बन्दै गएको देखिन्छ । यता, हिमाली क्षेत्रमा होटल व्यवसाय व्यस्थित नहुँदा समेत पर्यावण खराब बनाइरहेको छ । 

जलवायु परिवर्तन विश्वसमुदायकै लागि जोखिमको आँधीवेरी ल्याएर उभिएको छ । यसको उच्च प्रभाव नेपाल लगाएत विकासोन्मुख मुलुकमा बढि छ । नेपालकै कुरा गर्नु पर्दा यहाँ जोखिम झन् उच्च छ । नेपालका हिमालहरु पग्लिरहेका छन् ।

तराईमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुग्ने गरेको छ । पहाडी क्षेत्रमा समेत उच्च गर्मि अनि छिनछिनमा वातावरणमा बदलाब छ । वर्षाको अवस्था पनि कहिले सुख्खा त कहिले अतिवृटीले आक्रान्त छन् नेपाली । जलवायु परिवर्तनको असर विशेषगरि हिमाली समुदायमा प्रत्यक्ष पर्न थालेको छ । हिउँले सेता चुचुरा देखिनु पर्नेमा काला पत्थर बन्न थालेका छन् हिमाल । 

पछिल्लो समय रसुवाको लाङटाङ क्षेत्रको अवस्था नियाल्दा पनि अवस्था यस्तै देखिन्छ । करिब २० वर्षअघि हिमाली जिल्ला रसुवाको लाङटाङ क्षेत्रका घरका छानाहरु प्रायजसो हिउँले ढपक्क ढाकेको हुन्थ्यो । घरछेउमा कञ्चन हिमनदी बग्थ्यो । 

युवाहरु बिहान उठ्ने बित्तिकै घरको आँगनमा रहेका हिउँका मोतीजस्तै टल्किने कणहरुसँग खेल्दै सफा गर्न  लाग्थे । तर अब यो अनुभव एकदेशको कथा जस्तो भएको बताउछन्, स्थानीय पासाङ तामाङ । 

आकाशमा बादल लाग्दा र एकैछिनको झरी पर्दा पनि हिउँ पर्ने अनुमान गर्ने स्थानीयको अहिलेको अनुमानले समेत काम गर्न छोडिसक्यो । अहिले लाङटाङ राष्ट्रिय निकुञ्ज आसपासको क्षेत्रमा हिउँ पर्ने कुनै ठेगान हँुदैन । 

२० वर्ष अघिसम्म हिमनदी –ग्लासियर) बस्तीको नजिकैसम्म फैलिएको बताउछन्, लाङटाङ राष्ट्रिय निकुञ्जअन्तर्गतको मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष तामाङ । जलवायु परिवर्तनको बढ्दो प्रभाव र विश्वतापमानमा भएको वृद्धिका कारण हिमालहरु संकटमा परेको छ । 

तापक्रम बढेकै कारण हिमालमा कहिले पहिरो जाने भन्ने ठेगान नहुने हुँदा होशियार भएर हिँड्नुपर्ने बाध्यता रहेको छ । यहि अवस्था रहे हिमालका रेखाहरुसँगै पर्यटयन व्यवसाय पनि मेटिँदै जाने चिन्ता छ यहाँ । 

हिमरेखा सरेको देखेका स्थानीयको अनुभवले जलवायु परिवर्तनको प्रभाव हिमालमा कति परेको छ भन्ने प्रष्ट हुन्छ । बढ्दो औद्योगिकरण र पृथ्वीको तापमान दु्रत र अप्राकृतिक रुपमा बढेको कारण हिमालको जीवन संकटमा पर्दै गएको छ । 

लाङटाङकै होटल व्यवसायी कान्छा तामाङ पनि २० वर्षअघि एकमिटर उचाईसम्म हिउँले ढाक्ने गरेको प्रत्यक्ष देखेका व्यक्ति हुन् ।

पछिल्लो केही वर्षमा हिमरेखाहरु माथि जाँदै गरेको उनको भनाइ छ । उनको भनाई छ, यस क्षेत्रमा संचालित होटल व्यवसाय समेत व्यवस्थित हुन सकेका छैनन्, यसले  पनि पर्यावरणमा प्रतिकुल असर परेको छ । 

छेउछाउमा सेताम्मे हिमाल । बीचमा हिउँले सेतै ढाकिएको मानव बस्ती । घर जति छन् प्रायः सबै होटल हुन् । नेपालमा पदयात्रामा आउने पर्यटकको तेस्रो रोजाइमा पर्ने रसुवा जिल्लास्थित लाङटाङको क्यानजेन भ्याली पुग्ने आन्तरिक पर्यटकहरु बढे पनि भुइँभरी छरिएका फोहोर देखेर दिग्दार हुने गरेका छन् । 

यो क्षेत्रको फोहोर व्यवस्थापनमा स्थानीय सरकार र स्वयं होटल व्यवसायीहरुले फोहोरको उचित व्यवस्थापन गर्न नसक्दा पर्यटकलाई निराश बनाउने गरेको छ । 

पयर्टकको संख्या बढेसँगै फोहोरको मात्रा पनि बढ्दा अगामी दिनमा पर्यटन व्यवसायमा नै असर पर्ने चिन्ता रहेको स्थानीय पासाङ लोप्छेङ बताउछन् । पहिले अलिकति भएको फोहोरलाई समेत माटोमा पुर्ने गरिएकोमा अहिले जलाउने भएको कारण यसले वायु प्रदुषण समेत बढाउँदै लगेको उनको भनाई छ । 

लाङटाङमा जलवायु परिवर्तनका प्रभावहरू भौगोलिक, आर्थिक, र सामाजिक सबै क्षेत्रमा देखिन थालेका छन् । हिमनदीहरू खुम्चिँदै गएका छन् भने पहिरो र अनियमित मौसमी घटना बढिरहेका छन् । हिमालको रेखामाथि सर्ने क्रमसँगै गाउँको व्यवसाय र युवा पलायल पनि हुँदै गएको छ । 

सरकारले हिमालको मुद्दामा विश्व समुदायलाई सचेत गराउन भन्दै समय समयमा सभा र सम्मेलन गर्ने भएपनि प्रभावितहरुलाई सहभागि  नगराउँदा ति सभाहरु औचित्यहिन बन्दै गएका छन् । 

प्रकाशित मिति: शुक्रबार, जेठ ३०, २०८२  ०९:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update