
काठमाडौं । जनताका प्रतिनिधिहरुको थलो संसद र संसदीय समितिहरु पछिल्ला दिनहरुमा कानून निर्माण होइन लफडा गर्ने थलोमा परिणत भइरहेका छन् । प्रतिनिधिसभाको बैठकदेखि मिनी संसदका रुपमा रहेका संसदीय समितिहरुमा कोलाहल र होहल्लाले झगडीयाहरुको झुण्ड जस्तै बनेका छन् जनप्रतिनिधिहरुका दृष्यहरु ।
जेठ १३ गतेदेखि प्रतिनिधिसभाको बैठक बस्न सकेको छैन । बैठक सञ्चालन गर्न खोज्यो कि प्रतिपक्षीले होहल्ला मच्चाउछन् । अनि संसदीय समितिहरुमा त झन् प्राय बैठकमा भनाभन, चर्काचर्की मच्चिने गर्छ । राज्यको एक बलियो अंग व्यवस्थापिका अन्र्तगतका यि निकायहरुमा दृष्य यस्ता देखिन्छन्, मानौं उनीहरु झगडीयाका नाइके हुन् ।
राज्यलाई आवश्यक कानून प्रदान गर्ने र जनप्रतिनिधिका हैसियतले जनताका आवाजलाई सरकारसम्म पु¥याउने कर्तव्य बोकेका सांसदहरुले झगडाका श्रृङ्गखलालाई यसरी निरन्तरता दिँदा उनीहरु झगडीयाका झुण्ड समान नै देखिरहेका छन् । संसदीय समितिमा प्राय दोहोरिरहेका भनाभन र चर्काचर्कीका अभ्यास शुक्रबार पनि देखियो ।
भिजिट भिसा प्रकरणलाई लिएर प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा सांसदहरुबीच चर्काचर्की भयो । सिंहदरबारमा बसेको समिति बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले भिजिट भिसा प्रकरणको विषय प्रवेश गराएपछि सांसदहरुबीच नोकझोक नै हुन पुग्यो ।
सांसद पराजुलीले शुरुमा द्विपक्षीय श्रम सम्झौता भएको मुलुकमा वैदेशिक रोजगारीका लागि नेपाली घरेलु कामदार पठाउने सम्भावनाका सम्बन्धमा छलफल गर्दा समेत श्रम र गृह मन्त्रालय किन उपस्थित नभएको ? भन्दै प्रश्न गरे । नेपाली नागरिकको अन्तर्राष्ट्रिय जगतमा सुरक्षाको पाटो जोडिएको कुरामा छलफल हुँदा २० पटकसम्म मन्त्री बन्नुभएका श्रममन्त्रीज्यू कहाँ हुनुहुन्छ सभापतिज्यू ? अनि गृह मन्त्रालयको उपस्थिति खोई ? भन्दै उनले प्रश्न गरेका थिए ।
उनले सत्तापक्षका सांसदहरुले विदेशमा गएर नेपाली श्रमिकको पीडा पोख्ने तर संसदमा छानविन गरौँ भन्दा उल्टै विरोध गर्ने प्रवृत्ति देखाएको भन्दै आक्रोश पोखे । राज्यको लाचारीपन र दलालसँग मिलोमतो गरेर नेपाली नागरिकलाई बेच्ने जिम्मेवारी के राज्यले लिएको हो ? भन्दै उनले प्रश्न समेत गरे । भिजिट भिसा प्रकरणको नाममा भइरहेको मानव तस्करीको विषयमा छानविन गर्ने कुरा संसदमा नउठेको समेत बताए ।
संसदीय समितिमा मानवतस्करीविरुद्ध उभिने सांसद, सदनमा आफ्नो पार्टीको ह्वीप मानेर निरीह बनेर बस्ने गरेको उनको आरोप थियो । यहिक्रममा नेपाली कांग्रेसका सांसद राजु थापाले भिजिट भिसा प्रकरणमा सम्बन्धित निकायले छानविन गरिरहेको भन्दै समितिमा छलफल आवश्यक नरहेको प्रतिक्रिया दिए । उनले सांसद पराजुली विषयवस्तुभन्दा बाहिर गएको भन्दै रुलिङको समेत माग गरे । यहिक्रममा उनीहरु बीच नोकझोक चल्यो ।
यसैक्रममा नेकपा (एकीकृत समाजवादी) सांसद कृष्णकुमार श्रेष्ठ मानवतस्करीको विरोध आफूहरूले पनि गरेको भन्दै रास्वपा मात्रै यसको ठेकदार नभएको भनि टिप्पणी गरे । यो बीचमा विवाद उच्च बन्यो ।
विवाद बढेपछि सभापति अव्दुल खानले पराजुलीले विषयवस्तुभन्दा बाहिर गएर अभिव्यक्ति राखेकाले विवाद भएको भन्दै विवादका विषयमा छानबिनका लागि समिति नै गठन गर्नुपर्ने प्रश्ताव समेत राखेर परिस्थिति मत्थर बनाउने प्रयास गरे ।
विवाद केही मत्थर बनेपछि पुनः सांसद पराजुलीले मानव तस्करी प्रकरणमा समितिमा छलफल गर्नुपर्ने र गृहमन्त्री र श्रममन्त्री आएर जवाफ दिनुपर्ने माग राखे । यो एक उदाहरण मात्रै हो संसदीय समितिमा झगडा, चर्काचर्कीको ।
महिनामा औषत दुई घटना संसदीय समितिमा हुने गरेका छन् । उचित कानूनको व्यवस्थाका संसदलाई थप सक्रिय बनाउनु पर्ने संसदीय समितिमा यसरी झगडाको श्रङ्खला चल्दै जाने र सांसदका आचरणमा सुधार नआउने हो भने संसदीय गरिमा र सांसदको गरिमा कस्तो बन्ला ? सांसदहरुले यसतर्फ गम्भिर बन्न आवश्यक देखिन्छ ।