
सर्लाही । सर्लाहीको मलंगवास्थिति पूर्वाधार विकास कार्यालयमा ठेकेदार खुसीलाल ठाकुरको दादागिरीले सबै थर्कमान भएका छन् ।
ठेकेदार ठाकुरले मुख्यमन्त्री स्वच्छता अभियान अन्तरगत मलंगवा ७ को मुसैलीस्थित पोखरी सौन्दर्यकरणका लागि आफ्नो कम्पनीले गरेको कामको भुक्तानी नपाएको भन्दै कार्यालयमा बिहिवार तालावन्दी गरिदिएका थिए । तर उनले १५ महिनामा सक्नेगरी पाँच वर्ष अघि ठेक्का लिएको ठेक्काको २० प्रतिशत मात्रै काम भएको स्थानीय बताउँछन् ।
सर्लाहीको मलंगवास्थित पुर्वाधार विकास कार्यालयमा एम.आर. आर जे. कमल जेभि जनकपुरका ठेकेदार खुसीलाल ठाकुरले मुख्यमन्त्री स्वच्छता अभियान अन्तरगत मलंगवा ७ मुसैलीस्थित पोखरी सौन्दर्यकरण ठेक्कामा काम गरेको रकम भुक्तानी गर्न आलटाल गरेको भन्दै बिहिवार दलबलसहित पुगेर कार्यालयमा ताला लगाइदिए ।
एक वर्ष देखि धाउँदा पनि भुक्तानी नपाएको र कर्मचारी, इन्जीनियर तथा कार्यालयका हाकिमले नटेरेपछि बाध्य भएर तालाबन्दी गर्नुपरेको ठेकेदार ठाकुरको भनाई छ । उनल आफ्नो कम्पनीले गरेका कामको करिब १ करोड रुपैया भुक्तानी लिन बाकी रहेको दाबी गरे ।
भूक्तानी विवादमा ठेकेदार ठाकुरले कार्यालयमा ताला लगाएको पूर्वाधार विकास कार्यालय मलंगवा, सर्लाहीका सहायक शाखा अधिकृत कपिलदेव साहले बताए । ठाकुर ताला लगाउन युवाहरुको हुलका साथ आएको उनको भनाइ छ । ठाकुर दलबलसहित आएपछि प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराउँदै बाराम्बार हारगुहार गर्दा पनि तालाबन्दी नरोकिएको साहले बताए ।
कार्यालयमा तालाबन्दी भएको जानकारी पाएपछि ठाकुर र कार्यालय प्रमुखलाई आवश्यक समन्वय गरी समस्या समाधान गर्न निर्देशन दिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठ बताउँछन् ।
यो ठेक्का प्रक्रिया ५ वर्ष पुरानो रहेको र ठेक्काको फाईल कार्यालयमा गत वर्ष मात्रै आएको पूर्वाधार विकास कार्यालय मलंगवाका प्रमुख विजय कुमार यादव बताउँछन् । तर आफुहरुले फाइल पाएयता करिब १ वर्षदेखि केहिपनि काम नभएको यादवको भनाइ छ ।
कामै नगरी पुरानो कामको भुक्तानी ठेकेदार ठाकुरले २ । ४ जनाको समुह ल्याएर तालाबन्दी गरेको प्रमुख यादवले आरोप लगाए । पुरानो भुक्तानी गर्नुूपुर्व प्राविधिक टोली खटाएर निरिक्षण गरेर भुक्तानी गर्नु पर्ने भएमात्रै प्रक्रिया अघि बढाउने सहमतिमा तालाबन्दी खोलिएको उनले बताए ।
ठाकुरको शैली
२२ सेप्टेम्बर २०२० मै श्री बौधी देवी जनता मा.वि को अधिनमा रहेको पोखरी सौन्दर्यकरण गर्न प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले करिब ६ करोड १२ लाख ९३ हजार रुपैयाँमा ठाकुरको एम.आर. आर जे. कमल जेभि जनकपुरलाई ठेक्का दिएको थियो । तर ठेक्का लिएको ५ वर्ष भइसक्दा पनि २० प्रतिसत मात्र काम भएको स्थानीयको आरोप छ ।
२०७९ सालमा पोखरी सौन्र्दकरण योजनामा कमसल र गुणस्तरहीन सामाग्री प्रयोग गरेको, बनेको पर्खाल महिना दिन नबित्दै भत्किएको स्थानीयबाट गुनासो आएपछि न्यूज २४ टेलिभिजनमा समाचार समेत प्रशारण भएको थियो । स्थानीयको यस्तै आरोपका बीच उनै ठाकुरले भुक्तानी नदिएको भन्दै कार्यालयमै तालाबन्दी गरेपछि स्थानीय चकित भएका छन् ।