News 24 Television
धनगढी उपमहानगरको विकासमा सन्तुष्ट नागरिक, फोहोर व्यवस्थापनको विशेष प्रशंसा 

कैलाली । न्यूज २४ टेलिभिजनले स्थानीय सरकारलाई जवाफदेही र जिम्मेवार बनाउने अभिप्रायले शुरु गरेको ‘सीधा कुरा मेयरसँग’ कार्यक्रम शुक्रबार धनगढीमा सम्पन्न भएको छ  । 

धनगढी उप–महानगरपालिका एउटा दीर्घकालिन सोच “व्यवसायिक, औद्योगिक तथा बहुसांस्कृतिक समुन्नत शहरको रुपमा बिकसित हुदै गएको छ । कार्यक्रममा सहभागि भएका स्थानीयले उपमहानगरपालिकाकाले गरिरहेको कामको खुलेर प्रशंसा गरेका छन् । एक रिपोर्ट

मुलुक लोकतान्त्रिक गणतन्त्रमा पुगेपछि काठमाण्डौको सिंहदरवार जनताको घरदैलोमा पुगेको छ कि छैन, दुरदराजमा बस्ने नागरिकले कस्तो अनुभुति गरेका छन्, भन्ने बिषयलाई लिएर न्यूज २४ टेलिभिजनले सिधा कुरा मेयरसंगको कार्यक्रम संचालन गरेको हो ।  

धनगढी उप–महानगरपालिकामा शुक्रबार सीधा कुरा मेयरसँग कार्यक्रमको अर्को श्रृंखला सम्पन्न भएको छ । देशका अधिकांस स्थानीय तहमा फोहोरमैला व्यवस्थापन चुनौतीपूर्ण बनेको छ । तर, धनगढी उपमहानगरपालिकाले नगरको फोहोरलाई संकलन तथा व्यवस्थापन गरेर ‘मोहर’ मा परिणत गरिरहेको छ ।

सुदूरपश्चिमको अस्थायी राजधानी धनगढी पछिल्लो समय फोहोर व्यवस्थापनमा नमुना सहर बनेको छ । सुदूरपश्चिमकै मुख्य व्यापारिक सहर धनगढीमा स्थानीय सरकार र नगरवासीको साझा प्रयासमा सरसफाइ अभियान सञ्चालन भइरहेको छ । 

२०७९ मा सम्पन्न स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारले पालिका प्रमुख जितेको मुख्य स्थानीय तहमा धनगढी उपमहानगर पनि एक हो । 

काठमाडौँ महानगरपालिका, धरान उपमहानगरपालिका र धनगढी उपमहानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार विजयी भएका थिए । त्यसयता यी तीन वटै पालिका देश–विदेशमा रहेका नेपालीको मुख्य चासोको विषय बन्दै आएका छन् । धनगढी उपमहानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल विजयी भएसँगै फोहोर व्यवस्थापनलाई निकै महत्व दिइएको छ । धनगढी उपमहानगरपालिकाले हाल उत्पत्तिको स्रोतमै फोहर वर्गीकरण अनिवार्य बनाएको छ । वर्गीकरण नभएको फोहोर उपमहानगरले उठाउँदैन । 

कुहिने र नकुहिने फोहरका लागि अलग–अलग ट्याक्टर टोलटोलमा पुग्ने गर्छन् । उपमहानगरपालिकाका कर्मचारीले जथाभाबी फोहोर नफाल्न बेलाबेला माइकिङ समेत गर्दै आएका छन् । नियममा कडाइका साथै जनमानसमा सचेतना ल्याएर फोहोर व्यवस्थापनमा उपमहानगरले निर्वाह गरेको भूमिकालाई जनताले नमुना कामको संज्ञा दिइरहेका छन् । कार्यक्रममा सहभागि भएकाहरुले पनि यसरी नै उपमहानगरपालिकाको तारिफ गरे । 

फोहोरमैला ब्यवस्थापन ऐन बनाएर सफा र स्वच्छ धनगढी बनाउने अभियानले सार्थकता पाएको धनगढी उपमहानगरपालिकाकी उपमेयर कन्दकला रानाले बताइन् । अभियानले फोहोर ब्यवस्थापन बारे चेतना बढ्नुका साथै उपमहानगरको आन्तरिक आम्दानी पनि बढाएको उनको भनाइ छ । 

अहिले धनगढी उपमहानगरपालिका अन्तरगतका सडकहरुमा स्मार्ट सडकबत्ती जडान भएसंगै मुख्य सडकहरु झिलिमिली बनेका छन् । धनगढीको मोहना अत्तरिया ६ लेन सडकखण्डको चौराहा भन्सार सडकखण्ड, मेन सडक र सहायक सडक पुर्ण रुपमा उज्यालो बनेको छ । धनगढी उपमहानगरका यस्ता जनमुखी र धनगढीलाई चिनाउने अभियानमा नगरबासीको उल्लेख्य सहयोग रहेको प्रमुख प्रशासकिय अधिकृत नरेन्द्र बहादुर खातीले बताए । 

उपमहानगरको सडक चौडादेखि हरियाली अभियानसम्म सबैमा नागरिक सहकार्य उल्लेख्य रहेको छ । उज्यालो धनगढी अभियानलाई उपमहानगरबासीले खुल्ला हृदयले स्वागत गरेका छन् । धनगढीका मुख्य सडकहरु झिलिमिली बन्दा उत्साहित भएका नगरबासीहरुले गाउँ, गाउँ समेत झिलिमिली पार्न आग्रह गरेका छन् । 

प्रकाशित मिति: शनिबार, जेठ ३१, २०८२  ०८:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update