
कैलाली । जिल्ला कारागार कैलालीमा कैदीबन्दी रहेका युवकको मृत्यु रहस्यमयी देखिएको छ । कैदीबन्दीको शव सेती प्रादेशिक अस्पतालको शवगृहबाट उठ्न सकेको छैन । आफन्तहरूले सत्यतथ्य छानविन एवम् न्याय नपाउँदासम्म शव नउठाउने अडान लिएका छन् ।
जिल्ला कारागार कैलालीमा कैदीबन्दी रहेका २८ वर्षीय हरिश सिंह पालीको रहस्यमयी तवरले मृत्यु भएपछि तनाव सृजना भएको छ । पक्राउ परेको दुई दिनमै कैदीको मृत्यु भएको हो । मृतकको शवमा निलडाम र चोटपटकका निशान भेटिएका छन् । बैंकिङ कसुर मुद्दाका प्रतिवादी डडेल्धुराको भागेश्वर गाउँपालिका ५ का पाली सोमबार राति साढे १० बजे कारागारको शौचालयमा अचेत अवस्थामा भेटिएका थिए ।
अचेत अवस्थामा फेलापरेका उनलाई सेती प्रादेशिक अस्पतालमा उपचारमा लगिएको थियो, तर सोही क्रममै मृत्यु भयो । मृत्युको कारण स्पष्ट नभए पनि अस्पताल पु¥याउने बेला पालीलाई उच्च ज्वरो आएको थियो भने रक्तचाप निकै कम रहेको कैलाली कारागारका जेलर वसन्त खत्रीको भनाइ छ ।
कैदीबन्दीको शवमा नै निलडाम र चोटपटक प्रष्टै भेटिएको अवस्थाले गम्भिर शंकाको आधार बनेको छ । मृतक पालीका आफन्तहरुले कारागारभित्रै यातनाका कारण मृत्यु भएको भन्दै घटनाको निष्पक्ष छानविनको माग गरेका छन् । मृतकका आफ्न्तले प्रहरी नायव निरीक्षक हरिजित नाथ यस घटनाको मुख्य दोषी भएको आरोप लगाएका छन् । प्रहरी नायब निरीक्षक हरिजित नाथले रकम मागेकाले असार २ गते मात्र उनको खातामा ८५ हजार रुपैयाँ ट्रान्सफर गरिसकेको प्रमाण मृतकका आफन्तसँग छ ।
मुख, खुट्टा र शरीरका अन्य भागमा समेत चोटपटक लागेको पाइएको छ । सोही कारण पालीका आफन्तले कारागारभित्र कुटपिट गरेर हत्या गरेको आरोप लगाउँदै शव बुझ्न मानेका छैनन् । अहिले शव प्रादेशिक अस्पतालमै राखिएको छ ।
पालीलाई बैंकिङ कसुर मुद्दामा जिल्ला अदालत कैलालीले २०८० फागुन २९ गते १० दिन कैद र दुई लाख रूपैँया जरिवानाको फैसला गरेको थियो । त्यही बेलादेखि फरार रहेका उनलाई कैलाली प्रहरीले असार १ गते पक्राउ गरेर कारागार चलान गरेको थियोे ।
सजाय कार्यान्वयन गर्न पालीलाई डडेल्धुराको अमरगढी नगरपालिका–५ स्थित तुफानडाँडाबाट पक्राउ गरि प्रहरीले निजी सवारीमा ल्याएको थियो । मृतकका आफन्तहरूले प्रहरीविरुद्ध नै जाहेरी दिने तयारी समेत गरेका छन् । कारागारभित्र कुटपिट गरि मारेको आरोपमा डडेल्धुरमा उद्योग वाणिज्य संघको नेतृत्वमा बजार र राजमार्ग बन्द गरिएको छ । घटनाको निष्पक्ष छानविनको माग गरिएको छ ।