News 24 Television
जनप्रतिनिधि पौठेजारी खेल्दै ! एकविरुद्ध अर्को ज्यान मार्ने उद्योगतर्फ !

सप्तरी । सप्तरीको राजविराज नगरपालिकामा जनप्रतिनिधि र कर्मचारीहरूको आपसी विवाद बढ्दो क्रममा अघि बढेपछि नगरपालिकाको कामकाज ठप्प छ । पछिल्लो दुई सातादेखि राजविराज नगरपालिकामा आन्दोलन भइरहँदा सेवाग्राहीहरू सेवाबाट वञ्चित भएका छन् ।

पछिल्लो तीन सातायता सप्तरीको राजविराज नगरपालिका आन्दोलनको कारणले अस्तव्यस्त बनेको छ । कहिले नगरपालिकाको गाडीले ठक्कर दिएर उपचारमा रहेका  पीडित परिवारले उपचार खर्चको माग गर्दै आन्दोलन गरे त, कहिले सफाइकर्मीले तलबका सम्बन्धमा माग राख्दै आन्दोलन गरे । 

यतिमात्रै होइन करार कर्मचारको आन्दोलन, प्रमुख प्रशासकीय अधिकृत सरुवाको विषय लगाएतका आन्दोलन समेत चले । यि समस्याले हतौंसम्म नगरपालिकाको सेवा प्रवाहमा अवरोध पुग्यो । तर, यी समस्याहरू साम्य भइसक्दा पनि अहिलेसम्म समेत नगरपालिका समान्य स्थितिमा फर्किन सकेको छैन्। 

अन्तिम पटक नगरपालिकाको निलम्बित मेयर भिमराज यादव नेतृत्वको टोलीले प्रमुख प्रशासकीय अधिकृतको सरुवा लगायतका बिषय लिएर नगरपालिकामा लगाएको ताला कार्यवाहक नगरप्रमुख इसरत परविनको टोलीले फुटाउँदा दुई पक्षबीच झडप नै भएको थियो। सो समय आन्दोलनकर्मीले नगरपालिकामा तोडफोड समेत गरेका थिए। यद्यपी संघीय तथा सामान्य प्रशासन मन्त्रालयले नगरपालिकामा उपसचिव स्तरको हाकिमको सरूवा गरेपछि तालाबन्दी खोलेर आन्दोलन समाप्त भएको थियो। 

यो अवस्थापछि नगरपालिका पुनः सामान्य स्थितिमा आउने अनुमान गरिएपनि अहिले नगरपालिकाको विवाद जिल्ला प्रहरीसम्म पुगेको छ। एक पक्षमा रहेको कर्मचारीले आन्दोलनकारीले आफुहरुलाई कुटपिट गरेको तथा नगरपालिकामा तोडफोड गरेकोले कारबाही नभएसम्म काममा नफर्किने भन्दै पाँच दिनदेखि आन्दोलनमा छन्। 

उनीहरू कार्यालयको कामकाज ठप्प गरेर कार्यालय समयमा धर्ना बस्ने गरेका छन्।समस्या समाधान नगर्दा तालाबन्दी तथा आन्दोलनले कामकाज ठप्प हुँदा सेवाग्राहीलाई हैरानी भएको छ । 

नगरपालिकामा भइरहेको यो गतिविधि दुःखद रहेको भन्दै  जिम्मेवार पक्षले यो समस्या समाधान गरि सेवाग्राहीलाई शिघ्र सेवा प्रदानको वातावरण मिलाउनुपर्ने स्थानीयको माग  छ ।

विवादलाई समाधान गर्नको साटो उनीहरूको नेतृत्व गर्दै गत मंगलबार नगरपालिकाकी कार्यवाहक नगरप्रमुख इसरत परविनले आफै प्रहरीमा जाहेरी दिएपछि अर्को पक्षले पनि प्रहरीमा जाहेरी दिएका छन्। 

परविनको जाहेरीमा पालिकाको योजना प्रमुख मनोज यादवसहित स्थानीय केही व्यक्तिले नगरपालिकामा तोडफोड गरेको आरोप छ भने अर्को पक्षबाट बुधबार वडा नं ९का वडाध्यक्ष जवाहर यादवले कार्यवाहक नगरप्रमुखसहितका विरुद्ध ज्यान मार्ने उद्योगमा जाहेरी दिएका छन् । योजना प्रमुख यादवले पनि इसरत परविनसहितका माथि कुटपिटको जाहेरी दिएका छन् । यसरी जाहेरीको प्रक्रिया बढ्दा द्वन्द्व थप चर्किने देखिन्छ । 

प्रकाशित मिति: शुक्रबार, असार ६, २०८२  ०८:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update