
काठमाडौं । दैलेखको जलजलेमा पहिलोपटक वैज्ञानिक तरिकाले गरिएको गहिरो ड्रिलिङबाट मिथेन ग्यासको भण्डारण पुष्टि भएपछि नेपाल ऊर्जा आत्मनिर्भरताको यात्रामा निर्णायक मोडमा पुगेको छ । प्रारम्भिक नतिजा उत्साहजनक देखिएपनि अझै तीन सम्भावित परीक्षण बाँकी नै छ ।
प्रारम्भिक अनुमानअनुसारको भण्डारण पुष्टि भयो भने नेपालले करिब ५० वर्षसम्म आफ्नै ग्यास स्रोतबाट ऊर्जा आवश्यकताहरू पूरा गर्न सक्नेछ । यसले स्वदेशी स्रोतबाट ऊर्जा उत्पादन गरी ऊर्जा आत्मनिर्भरता प्राप्त गर्न सक्ने स्पष्ट संकेत देखिएको छ ।
चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित ग्यास अन्वेषण परियोजनाले नेपालको ऊर्जा क्षेत्रलाई ऐतिहासिक मोडतर्फ डो¥याउने सम्भावना देखाएको छ । दैलेख जिल्लाको भैरबी गाउँपालिका–१ स्थित जलजलेमा भएको गहिरो ड्रिलिङअनुसार करिब १ सय १२ अर्ब घनमिटर मिथेन ग्यासको भण्डारण रहेको प्रारम्भिक परीक्षणले पुष्टि गरेको छ ।
चीनको जिओलोजिकल सर्भे कम्पनी र नेपाल सरकारअन्तर्गत पेट्रोलियम अन्वेषण तथा प्रवर्धन केन्द्रको सहकार्यमा २०७८ वैशाख २८ गतेदेखि सुरु गरिएको ड्रिलिङ कार्य ४ हजार १३ मिटर गहिराइसम्म पु¥याइएको थियो । प्राप्त नतिजा जलजले क्षेत्रका चार सम्भावित कुइँकानमध्ये पहिलो कुइँकानको मात्रै हो । बाँकी तीन कुइँकानको परीक्षणपछि कूल ४ सय ३० अर्ब घनमिटर ग्यासको भण्डारण हुने अनुमान गरिएको छ ।
कसरी हुन्छ प्रयोग ?
पेट्रोलियम अन्वेषण तथा प्रवर्धन केन्द्रका सूचना अधिकारी प्रकाश लुईंटेलका अनुसार यो ग्यास मिथेन प्रधान रहेको र वातावरणमैत्री इन्धनका रूपमा घरेलु तथा औद्योगिक प्रयोजनमा प्रयोग गर्न सकिने खालको छ । चीनियाँ कम्पनीले सन् २०२५ डिसेम्बरसम्म अन्तिम प्रतिवेदन दिने तयारी गरेको छ र सोही आधारमा व्यावसायिक उत्पादनको परीक्षण सुरु हुने अनुमान छ ।
भारतले २०७२ मा संविधान जारी भएपछि लगाएको नाकाबन्दीपछिको इन्धन संकटले स्वदेशी ऊर्जा स्रोतहरूको खोजीलाई प्राथमिकतामा ल्याएको थियो । यही पृष्ठभूमिमा दैलेखको शिरस्थान र नाभिस्थान क्षेत्रमा नेपाली र चिनियाँ प्राविधिकहरूको संयुक्त अनुसन्धानबाट निरन्तर बगिरहेको ग्यास पेट्रोलियम पदार्थ नै भएको पुष्टि भयो । हालसम्म गरिएको भौगर्भिक अनुसन्धान अनुसार, नेपालका विभिन्न भूभाग विशेषगरी तराई, भित्री मधेश र चुरे क्षेत्र पेट्रोलियम पदार्थको सम्भावित भण्डारणस्थलका रूपमा चिनिएका छन् ।
भूगर्भीय इतिहासमा आजको नेपालको विशेषगरी हिमालय क्षेत्र हजारौ वर्षअघि टेथिस सागरअन्तर्गत पर्ने अनुसन्धानहरुले देखएको छ । यही सागरमा थुप्रिएका सेडिमेन्टरी तहहरू, शुक्ष्म जीवजन्तु र वनस्पतिको अवशेषबाट समयक्रममा उच्च ताप र दवाबको कारणले पेट्रोलियम पदार्थ निर्माण भएको वैज्ञानिक अनुमान छ ।
व्यावसायिक उत्पादनको प्रतिक्षा
हालसम्म प्राप्त रिपोर्ट प्रारम्भिक भए पनि मिथेन ग्यासको गुणस्तर, भण्डारणको परिमाण, व्यावसायिक उत्पादनको सम्भाव्यता र आर्थिक लाभांशका विषयमा थप विस्तृत परीक्षण भइरहेको छ ।
सरकारले आगामी वर्षभित्रै व्यावसायिक परीक्षण सुरु गर्ने योजना बनाइसकेको छ । यदि प्रारम्भिक अनुमानअनुसारको भण्डारण पुष्टि भयो भने नेपालले करिब ५० वर्षसम्म आफ्नै ग्यास स्रोतबाट ऊर्जा आवश्यकताहरू पूरा गर्न सक्नेछ ।
यसको व्यावसायिक उत्पादन सम्भव भयो भने यो परियोजना केवल वैज्ञानिक सफलता मात्र होइन, आर्थिक, राजनीतिक र ऊर्जा सुरक्षाका दृष्टिले पनि रणनीतिक महत्वको हुनेछ । नेपालले अब स्वदेशी स्रोतबाट ऊर्जा उत्पादन गरी ऊर्जा आत्मनिर्भरता प्राप्त गर्न सक्ने स्पष्ट संकेत देखिएको छ । देशको भविष्य ऊर्जा सम्पन्न बनाउने सम्भावना यतिबेला दैलेखको गहिराइमा लुकेको मिथेन ग्यासले देखाइरहेको छ ।