मकवानपुर । करिब एक वर्ष पहिले गत असोजको दोस्रो साता परेको अविरल वर्षापछि आएको बाढीले मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा पर्ने सिस्नेरी क्षेत्रलाई बगरमा परिणत ग¥यो ।
कुलेखानी जलाशाय पानीले भरिएर बाँध फुट्ने त्रास बढेपछि जलाशयको ढोका खोलेर पानी सिस्नेरीतर्फ कटाइयो । सोही पानीले सिस्नेरी आसपासका क्षेत्रमा बसोबास गर्नेहरुको उठिवास लाग्यो । विस्थापित भएको करिब एक वर्ष पुग्नै लाग्दा पनि उनीहरुको व्यवस्थापन गरिएको छैन । न त उचित क्षतिपूर्ति दिइएको छ ।
करिब एक वर्ष हुनै लाग्यो मकवानपुरको सिस्नेरी क्षेत्रका वासिन्दाको उठिवास लागेको । तर, अहिलेसम्म पनि उनीहरुको उचित पुनःव्यवस्थापन र क्षतिपूर्तिको व्यवस्था गरिएको छैन । एक वर्षदेखि गुणस्तरीय वासस्थान विनानै गुजारा चलाइरहेका छन्, बाढी पीडित ।
घरवास मात्रै होइन जग्गाजमिन सबै बगर बन्यो तर, क्षतिपूर्ति पाउने आशामै एक वर्ष वितिसकेको छ । गत असोज १२ गते बिहानको ८ः३० बजेतिरको समयमा आएको बाढीले मकवानपुरको इन्द्रसरोवर गाउँपालिका ३ स्थित सिस्नेरी बजार बगाएको थियो ।
यस विपत्तिले हेटौंडा–काठमाडौँ आउजाउ गर्ने छोटो दुरीको सडकमा पूर्णरुपमा क्षति पुग्यो । सिस्नेरी बजार नै बगाएको सिस्नेरी खोलाको तीव्र वेग सिस्नेरी बजारभन्दा करिब २ मिलोमिटरको दूरीमा रहेको कुनियोटार भन्ने ठाउँमा पुग्यो ।
तीनदिन देखि निरन्तर परेको पानीले घरबाट निस्कनै नसक्ने अवस्थामा बसेका स्थानीयहरुलाई, बाढीले घरबाटै उठिबास लगाइदियो । हेर्दाहेर्दै घर नजिकै रहेको खेत बगायो । खेत सबै बगर बनेपछि बाढी घरभित्रै पस्यो । भएका लत्ताकपडा, देखि सबै बगायो । हेर्दाहेर्दै घर, जग्गा बाढीमा पस्यो । यहाँका स्थानीयहरुको ज्यान मुस्किलले जोगियो ।
गएको असोज ११ गते राति ८ बजेतिर कुलेखानी जलविद्युत् आयोजनाले कुलेखानी ताल भरिएको र पानी खोल्न पर्ने स्थिती आउनसक्ने भन्दै माइकिङ गर्दै हिडेको थियो । त्यो सूचना स्थानीयहरुले नसुनेका भने होइनन् । तर रातको समयमा घर छोडेर जाने स्थिती नै नभए पछि बाढीको त्रास हुँदाहुँदै पनि सोही स्थानमा बस्न परेको स्थानीयहरु बताउँछन् ।
विपद्का बेला जसोतसो ज्यान जोगिए पनि अब के खाने, कहाँ बस्ने ? भन्ने चिन्ताले साताइरहेको छ यहाँका स्थानीयलाई ।
बाढीको विपद्मा परेका आफूहरुलाई तीनै तहका सरकार र कुलेखानी जलवद्युत् आयोजनाले समेत व्यवास्ता गरेको उनीहरुको दुखेसो छ । भएका सम्पत्ति बाढीले बगाए पछि क्षतिपूर्तिको आशमा बस्दा बस्दै बर्षदिन पुग्न लाग्यो । तर कसैले वास्ता नगरेको स्थानीयहरु बताउँछन् ।
कोहीको घर खेत त कोहीको पसल, गाडी र घर नै बाढीमा बगेको थियो । प्रहरी चौकी देखि एम्बुलेन्ससम्म पनि बाँकी रहेन । २०५० सालमा आएको बाढीले समेत क्षति नगरेको खेत गत असोजको बाढीले विपत्ती निम्त्याएको हो ।
त्यसोत, बाढीले कटान गरेर जाखिम बनेको घरहरु जोगाउन बाँध लगाइएको छैन । यता, यस वडामा विपद् पछि थुप्रै पूर्वाधारहरु निर्माण गरिएको स्थानीय जनप्रतिनिधिको भनाइ छ । कुलेखानी जलाशयकै पानीका कारण क्षति भए पनि प्राधिकणले क्षतिपूर्तिका लागि केही नगरेको बताइएको छ ।
गाउँपालिकामा बजेट अभावका कारण बाढी पीडित स्थानीयहरुको लागि स्थानीय सरकारले ठुला कामहरु गर्न नसकिएको बताउँदै आगामी आर्थिक वर्षमा बाँध निर्माण गर्ने तथा आवास निर्माण गर्नका लागि राहत उपलब्ध गराउने इन्द्रसरोवर गाउँपालिका–३ का वडाध्यक्ष प्रताप भोम्जन बताउँछन् ।
गत असोजको बाढीले यस गाउँपालिकामा मात्रै झण्डै १ सय भन्दा बढी घरधुरी प्रभावित बनेका थिए । ५ वटा वडा रहेको यहाँ सबैभन्दा बढी क्षति २ र ३ नम्बर वडामा भएको थियो । महालक्ष्मी खोला, फाखेल र ३ नम्बर वडामा पर्ने सिस्नेरी, खानीखेत, टेकर देखि कुनियोटारसम्मका स्थानीयहरु प्रभावित बनेका हुन् ।