
काठमाडौं । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीमा पर्ने दुम्कीबासको पुल भाँचिएको ६ महिना पुग्न लाग्दा पनि सरकारले विकल्प प्रस्तुत नगर्दा सवारी चालक र यात्रुहरूले सास्ती खेप्नुपरेको छ ।
गत वर्षको पुस २६ गते पूर्वी नवलपरासीमा रहेकामध्ये सबैभन्दा लामो विनयी खोला पुलको पुन अत्यधिक भारसहितको भारतीय मालवाहक लरीका कारण भाँचिएको थियो । पुल भाँचिएपछि विकल्पको रुपमा डाइभर्सन गरियो तर स्थानीयले मालवाहक चल्न नदिएपछि झन समस्या निम्तिएको हो ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीमा पर्ने दुम्कीबासको पुल भाँचिएपछि पुलभन्दा उत्तरबाट डाइभर्सन बनाएर यातायात सुचारु गरिएको थियो । तर केही हप्तामै भारी वर्षा हुँदा डाइभर्सन बगाएर पूर्व–पश्चिम राजमार्गको यातायात र ढुवानी सेवा अवरुद्ध भएको थियो ।
पुल सञ्चालनमा नआउँदा सम्मका लागि डाइभर्सनको वैकल्पिक मार्ग प्रयोगमा ल्याइए पनि स्थानीयले मालवाहक ट्रक चल्न नदिएपछि समस्या निम्तिएको हो । भैरहवा–काठमाडौं रुटमा ना ५ ख ७४११ नम्बरको ट्रक चलाउँदै आएका कृष्णबहादुर श्रेष्ठ ४ दिनदेखि बर्दघाटमै छन् । असार ८ गते भैरहवाबाट पूर्वपश्चिम राजमार्ग हुँदै पश्चिम नवलपरासीको बर्दघाट पुगेका उनी ४ देखि सडकमै दिन–रात बिताउन बाध्य छन् ।
भैरहवाबाट काठमाडौँ हिँडेका अर्का ट्रक चालक बुद्धिसागर न्यौपाने पनि ४ दिनदेखि बर्दघाटमै रोकिएका छन् । ना ६ ख ३२८४ नम्बरको ट्रकका चालक न्यौपानेले सरकारले जनताका पीडा नसुनेको भन्दै आक्रोश व्यक्त गरे । चार दिनसम्म सडकमा रोकिनुपर्दा खर्चको अभाव मात्रै होइन, आफ्ना चालक साथीहरू लामखुट्टेको टोकाइबाट डेंगु सङ्क्रमित भई अस्पताल भर्ना हुनुपरेको समेत न्यौपानेले बताए ।
ना ६ ख ३६९९ नम्बरको ट्रकमा आलु र प्याज बोकेका ट्रक चालक सुवोध पासवान पनि ४ दिनदेखि बर्दघाटमै रोकिएका छन् । चर्को गर्मीमा ४ दिनदेखि बर्दघाटमा बिताउनुपर्दा उनी सरकारसँग रुष्ट मात्रै होइन, प्रहरीले माथिको आदेश छैन भनेर रोक्दा थप आक्रोशित देखिए । दश चक्के बसले आवतजावत गर्न पाउँदा आफूहरूले नपाएको उनको गुनासो छ । ट्रक भएको आलु र प्याज कुहिएर गन्हाउँदा सुत्न समेत नसकिएको उनी गुनासो गर्छन् ।
बर्दघाटमै रोकिएका अर्का ट्रक चालक ज्ञानबहादुर कार्कीले आफूहरूले कल्पना भन्दा बाहिरको सास्ती पाएको गुनासो गरे । सडकमा सरकारले चरम लापारवाही गरेको उनले आरोप लगाए ।
यी केही प्रतिनिधि जस्तै सयौँ चालकहरू गन्तव्यमा समयमै पुग्नुको साटो अहिले सडकमै दिनरात कटाइरहेका छन् । सयौँ ट्रकहरूलाई सडकमै लामबद्ध छन् ।
कतिपय सवारीसाधनहरू बुटवलबाट पाल्पा, स्याङ्जा, पोखरा र मुग्लिङ हुँदै काठमाडौं जान समेत बाध्य भएका छन् । पुल भाँचिएको ६ महिना पुग्न लाग्दा पनि निर्माण नहुनु तथा वैकल्पिक सडकको व्यवस्था नहुँदा चालक तथा सर्वसाधारणले सास्ती खेप्नुपरेको हो । यद्यपी सरकारले बुटवल–नारायणगढ खण्डको दुम्कीवासस्थित विनयी खोलाको भाँचिएको पुललाई यहीँ असार भित्र सञ्चालनमा ल्याउने तयारी गरिरहेको दाबी गरेको छ ।