News 24 Television
दुई दिनदेखि देशैभरको मालपोतको सेवा ठप्प

काठमाडौं । देशभरका मालपोत कार्यालयहरू दुई दिनदेखि पूर्ण रूपमा ठप्प छन् । मंगलबारदेखि एकीकृत सर्भर प्रणाली बन्द हुँदा सम्पत्ति सम्बन्धी सबै सेवा अवरुद्ध भएको छ । जसले गर्दा सेवाग्रहीहरु मारमा परेका छन् । अत्यावश्यक सेवा ठप्प हुँदा सरकारको ढिलासुस्ती, प्राविधिक तयारीको अभाव र सूचना प्रवाहको कमजोर व्यवस्थापनप्रति गम्भीर प्रश्न उठेको छ । 

मंगलबार बिहानदेखि ठप्प भएको देशभरका मालपोत कार्यालयहरूको सर्भर अझै चलेको छैन । जसले गर्दा मालपोत कार्यालयको सेवा २ दिनदेखि ठप्प छ । एकीकृत सर्भर प्रणालीमा आएको गम्भीर प्राविधिक समस्या अहिलेसम्म समाधान हुन नसक्दा सेवाग्राहीहरु मारमा परेका हुन् । नामसारी, कित्ताकाट, जग्गा रजिष्ट्रेसन, धनी प्रमाणपुर्जा वितरणजस्ता अत्यावश्यक सेवा नपाएर सर्वसाधारण कार्यालयबाट कामबिनै फर्किन बाध्य छन् । सिस्टमको समस्या आफूहरूको नियन्त्रण भन्दा बाहिरको विषय भएको मालपोत अधिकारीहरुको भनाई छ । 
उनको भनाई छ । 

सेवाग्राहीहरूको आक्रोश अझै चुलिएको छ । सेवाग्राहीहरूले सरकार र सम्बन्धित निकायको गम्भीर लापरवाही भएको बताइरहेका छन् । सेवाग्राही मात्र होइन, कार्यालयबाट जिम्मेवारी लिएकाहरू पनि सर्भर नचल्ने समस्याले उत्तिकै हैरानीमा छन् । 

बुधबार मध्यान्हसम्म सर्भर आंशिक रूपमा सञ्चालनमा आएको भए पनि पूर्ण रूपमा सेवा प्रवाह अझै सम्भव भएको छैन । प्राविधिक टोली चौबीसै घण्टा खटाइएको विभागले बताएको छ । यस्तो ठूलो प्रणालीमा वैकल्पिक प्रणाली (ब्याकअप सर्भर) र आकस्मिक योजना नहुनु सरकारको गम्भीर कमजोरी भएको सूचना प्रविधि विज्ञहरू बताउँछन् । सर्भर डाउन हुनु सामान्य समस्या भएपनि दुई दिनसम्म सेवा नचल्नु अत्यन्तै चिन्ताजनक र लापरवाही भएको जानकारहरू बताउँछन् । 

सर्भर समस्या सुरु भएदेखि अहिलेसम्म मालपोत विभाग वा मन्त्रालयले सेवाग्राहीलाई स्पष्ट सूचनासमेत दिएको छैन । सूचना प्रणालीको अभावले गर्दा सेवाग्राहीहरू कार्यालय धाउँदै फर्किँदै गर्नुपरेको छ । 

मालपोत लगायतका सरकारी कार्यालयमाहरु सर्भर डाउनको समस्या बारम्बार आउने गरेको छ । यस्तो अत्यावश्यक सेवा प्रणालीमा ब्याकअप नराखिनु,  सूचनाको पारदर्शिता नहुनु र समयमै समस्या समाधान नहुनु प्राविधिक मात्र नभई सरकारको कमजोर व्यवस्थापनको उपज हो । कतिपय बेला सेवा प्रवाहमा ढिलासुस्ती गर्ने नियतले पनि कर्मचारीहरुले सर्भर डाउनको समस्या बताउने गरेका छन् । 

प्रकाशित मिति: बिहीबार, असार १९, २०८२  ०८:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update