News 24 Television
शिक्षामा कहाँ–कहाँ सुधार्ने, नेपालमै कस्तो छ भविष्य ?

काठमाडौं । अस्ट्रेलिया, जापान, क्यानाडा र युरोप पुगेकैमा मात्र भविष्य सुरक्षित हुने भ्रममा हजारौँ विद्यार्थी हतारिँदै गर्दा उनीहरूलाई नेपालमै पनि सफलताको सम्भावना देखाउनु पर्ने शिक्षाका जानकारहरू बताउँछन् ।  शैक्षिक डिग्री पनि नसकिँदै विदेश लाग्ने होडबीच कृषि, सिप, पर्यटन र डिजिटल प्रविधिमा करिअरको उज्यालो बाटो देखाउने प्रयास अपरिहार्य बन्दैछ । 

विदेश जाने लहर चलिरहेको यो समयमा विदेशै जाने रहर जाग्नु नौलो होइन । तर, अहिलेका प्राय युवाले ‘विदेश गएर मात्रै भविष्य बनाउँछु’ भन्ने सोच राखि रहेको देखिन्छ । पढाइ सकिँदै नसकिँदै अस्ट्रेलिया, जापान, क्यानाडा र युरोपतिरको तर्फ लाग्ने होड छ । के भविष्य केवल विदेशमै सुरक्षित छ ? के नेपालमै रहँदा सफलता सम्भव छैन ? प्रश्न पनि उठ्ने गर्छ । नेपालको रोजगारी बजार साँघुरो छ भन्ने कुरा यथार्थ हो । शिक्षित र दक्ष युवाहरू बेरोजगार छन् । 

तर संकटको अर्काे कारण ‘विदेश जानु नै सफलताको बाटो’ भन्ने सोच पनि हो । विदेश जानु अब केवल शिक्षा वा रोजगारीको लागि मात्र होइन सामाजिक प्रतिष्ठाको विषय बनेको छ । पारिवारिक अपेक्षा, समाजमा देखासिकी र सामाजिक सञ्जालमा देखिने विदेशी जीवनशैलीले गर्दा धेरै युवा देशमै सम्भावना हेर्न नसक्ने अवस्थामा पुगेका छन् । अधिकांश विद्यार्थी उच्च शिक्षाभन्दा रोजगारी र भविष्यको ग्यारेन्टी खोज्दै विदेश जाने गरेको देखिन्छ ।

विद्यार्थीहरूको ठूलो वर्ग पढाइसँगै काम गरेर खर्च टार्ने सपना बोकेर विदेशिन्छ । किनभने नेपालमा न त लचिलो शैक्षिक समयतालिका छ न त पार्टटाइम कामको भरपर्दो संरचना । काम र पढाइलाई सँगै अघि बढाउने अवसर नपाउँदा धेरै युवाको गन्तव्य बनिरहेको छ, विदेश । 

नेपालमै सम्भावना !

तर, नेपालमै पनि सीप, मेहनत र योजना भए युवाले सफलता हासिल गर्न सक्ने थुप्रै क्षेत्रहरू छन् । सीटीभीटी र अन्य प्राविधिक संस्थाहरूले उत्पादन गरिरहेका इलेक्ट्रिसियन, प्लम्बिङ, कम्प्युटर मर्मत, मोबाइल मर्मत, कृषि प्रविधि लगायतका दक्ष जनशक्तिमा ठूलो माग छ । यी सिपलाई आम्दानीमा रूपान्तरण गर्न सरकारी योजना र निजी लगानी आवश्यक रहेको विश्लेषकहरूको भनाइ छ । त्यस्तै अहिलेको पुस्ता आधुनिक कृषि प्रणाली, अंगीकृत पशुपालन, मत्स्यपालन, जैविक खेती जस्ता क्षेत्रमा आकर्षित हुन थालेको छ । उनीहरू युवाको पहलमा नै विकास सम्भव देख्छन् र सपना नेपाल कै देख्छन् । 

अर्कोतर्फ, डिजिटल मार्केटिङ, ग्राफिक्स डिजाइन, वेबसाइट र एप विकास, फोटोग्राफी, भिडियो सम्पादन जस्ता सिपहरू नेपालमै सिकेर विश्व बजारमा सेवा दिन सकिन्छ । फ्रिलान्सिङको विकाससँगै घरबाटै विश्वभर काम गर्ने सम्भावना बढेको छ । नेपालको प्राकृतिक र सांस्कृतिक विविधता पर्यटनको प्रमुख स्रोत हो । होमस्टे, ट्रेकिङ गाइड, सांस्कृतिक कार्यक्रम, कृषि पर्यटन जस्ता क्षेत्रमा रोजगारी र उद्यमको अवसर छ ।

सरकारले युवा उद्यमशीलतालाई प्रोत्साहित गर्दै आउने हो भने स्वदेशमै करिअर बनाउन सकिन्छ । बैंक तथा वित्तीय संस्थाले दिने युवा उद्यमशीलता कर्जा, इनक्युबेटर कार्यक्रम, सरकार तथा एनजीओको सहयोगले युवा उद्यमीहरू स्टार्टअप स्थापना गर्न सक्षम भइरहेका छन् । यस्ता प्रयासले नेपालमा नै व्यवसायिक वातावरण निर्माणको आधार बनाइरहेको छ ।

अब के चाहिन्छ ?

सम्भावना हुँदाहुँदै पनि संरचनागत ढिलाइ, स्पष्ट नीति अभाव र शिक्षा प्रणालीको व्यावसायिकता कमी समस्याको मूल कारण हुन् । शिक्षालाई सीपमुखी, व्यावसायिक र उत्पादनमूलक बनाउनु आवश्यक छ । 

सरकार, निजी क्षेत्र, स्थानीय निकाय, शिक्षण संस्था र अभिभावक सबैले समन्वय गरेर युवालाई नेपालमै अवसर देखाउनु अहिलेको आवश्यकता हो । अबका विद्यार्थीहरू सत्ता भागवण्डा, शैक्षिक हड्ताल, विश्वविद्यालयमा हुने तालाबन्दी र अनियमित शैक्षिक कयालेण्डरको वेवास्ता गर्ने पक्षमा छैनन् । 

विदेश जानु गलत होइन । तर, नेपालमा सम्भावना छैन भन्ने सोच भने बदलिनुपर्छ । शिक्षाविद्हरू भन्छन्, योग्यताको आधारमा करिअर बनाउने हो भने नेपालमै पनि सफलताको ढोका खोल्न सकिन्छ । नेपालमै पढेर र बसेर भविष्य बनाउन सकिन्न त ? यो प्रश्न सोध्ने बेला आएको छ । 

प्रकाशित मिति: शुक्रबार, असार २०, २०८२  ०८:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update