News 24 Television
अशान्त बन्यो लालबन्दी बजार, नगरपालिका मूकदर्शक ! 

सर्लाही । सर्लाहीको लालबन्दी बजार टमाटरको लागि प्रसिद्ध छ । यहाँ उत्पादित टमाटरसहितका ताजा तरकारी काठमाडौंसहित देशका ठुला सहरसम्म पुग्ने गर्छ । तर, अहिले यहाँ अनिश्चितकालीन आन्दोलन चलेकाले बजारमा थोक तरकारीको किनबेच पूर्णरूपमा बन्द गरिएको छ भने, आन्दोलनरत पक्षले लालबन्दी स्थित पूर्वपश्चिम राजमार्ग अवरोध गरेका छन् । 

सर्लाहीको लालबन्दी बजार टमाटरका लागि देशभर प्रसिद्ध छ । काठमाडौंसम्मको माग धान्न सहयोग गर्दै आएको लालबन्दी बजार अहिले भने अशान्त छ । यस बजारबाट वर्षेनी एक अर्बभन्दा बढीको ताजा तरकारी निकासी हुने गरेको छ । तर, तरकारी किन्ने र बेच्नेको सधैं भीडभाड हुन कृषि थोक बजारका ब्यापारीहरुले बिहिबार बिहानदेखि अनिश्चितकालिन आन्दोलन गरिरहेका छन । 

ताजा तरकारीको निकासीमा लालबन्दी नगरपालिकाले लगाउँदै आएको निकासी कर हटाउनु पर्ने माग राख्दै लालबन्दी नगरपालिकामा भएको छलफल निष्कर्ष बिहिन भएपछि ब्यापारिहरु आन्दोलित भएका हुन् । ताजा तरकारी किनबेच नै नहुने भएपछि त्यसको प्रत्यक्ष असर किसानहरुमा पर्ने उनीहरुको भनाई छ । आन्दोनलनको घोषणा गर्दै व्यवसायीले तरकारी किनबेच नगर्ने भएपनि किसानको तरकारी बारीमै कुहिने निश्चित जस्तै भएको छ । यसको जिम्मा नगरपालिकाले नै लिनु पर्ने व्यवसायीहरुको माग छ । 

बिगत ५ वर्षदेखि नगरपालिकालाई निकासी कर हटाउन आग्रह गर्दै आएको तर सुनुवाइ नभएपछि बाध्य भएर आन्दोलनको बाटो रोजिएको ताजा तरकारी फलफुल थोक बजार व्यवसायी संघका अध्यक्ष दरेश चौधरी बताउछन् । 

अन्य नगरपालिकाहरूमा यस्तो कर नलाग्ने भए पनि लालबन्दीमा मात्र जबर्जस्ती कर लादिएकाले किसान र व्यवसायी दुवै अन्यायमा परेको अन्य किसानहरुको गुनासो छ ।   

लालबन्दीबाट हरियो खुर्सानी, भन्टा, करेला, सिमी, घिरौला, काँक्रो, बन्दकोभी, बोडी,लौका,परबल,टमाटर,चिप्लेभीन्डी,राजमा लगायतका तरकारीको निकासी हुँदै आएको  छ । लालबन्दी बजारबाट थोक तरकारी सर्लाहीकै विभिन्न हाट बजारसम्म पुग्नुका साथै काठमाडौँ, वीरगंज, पोखरा, नारायणगढ, जनकपुर, सिन्धुली, बुटवल लगायत अन्य सहर तथा बजारसम्म पुग्ने गरेको छ । लालबन्दीमा रहेको कृषि थोक बजार सर्लाहीकै ठूलो तरकारी बजार हो ।

निकासी करका कारण बाहिरी बजारहरुमा जाने तरकारी महंगोमा बेच्नुपर्ने बाध्यता छ ।  व्यवसायीहरु पलायन हुने अवस्थामा पुगेकोले माग सम्बोधन गर्न आफूहरुले ज्ञापनपत्र मार्फत नगरपालिकाको ध्यानाकर्षण गराउदा समेत अटेर गरेपछी आन्दोलनमा गर्नपरेको थोक बजार व्यवसायी बताउछन् ।  

लालबन्दीलाई मधेस प्रदेशमा गोलभेंडा उत्पादन गर्ने सहरको रुपमा पनि चिनिन्छ । ताजा तरकारी फलफुल थोक बजार व्यवसायी संघले नगरपालिकालाई निकासी कर नहटाएसम्म आन्दोलन  जारी राख्ने बताएको छ । 

प्रकाशित मिति: शुक्रबार, असार २०, २०८२  ०८:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update