बारा । बारा जिल्ला प्रशासन र जेनजी प्रदर्शनकारीका प्रतिनिधिबीच वार्ता भएको छ । बार्तामा जेनजी अगुवा सम्राट उपाध्यायले ६ बुँदे माग प्रस्तुत गर्दै सुरक्षामा कमजोरी भएको भन्दै बाराका प्रहरी प्रमुख सहितलाई कारबाही गर्न माग गरेका छन् । बार्तामा घाइतेको निःशुल्क उपचार, क्षतिपूर्तिको व्यवस्था र एमाले कार्यकर्तामाथि छानबिन गरी कारबाही गर्नुपर्ने जेनजी युवाको माग छ ।
बारा प्रशासन र जेनजी प्रदर्शनकारीका प्रतिनिधिबीच शुक्रबार वार्ता भएको छ । वार्तामा जेनजी अगुवा सम्राट उपाध्यायले ६ बुँदे माग प्रस्तुत गरेका छन् । उनले बुधबार र बिहीबारको घटनामा सुरक्षा कमजोरी गरेको भन्दै बाराका प्रहरी प्रमुख एसपी सन्तोष तामाङ तथा जिल्ला प्रहरी कार्यालय बारा र इलाका प्रहरी कार्यालय सिमराका डीएसपीलाई कारबाही हुनुपर्ने लगायतका माग राखेका छन् । यस्तै, घाइतेको निःशुल्क उपचार र क्षतिपूर्तिको व्यवस्थापन लगायतका माग जेनजी युवाले राखेका छन् ।
पथलैयास्थित सशस्त्र प्रहरीको प्राविधिक शिक्षालयमा भएको वार्तामा बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्र, जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख राजन पौडेल, जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी सन्तोष तामाङ, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान र नेपाली सेनाका जिल्ला प्रमुखहरू सहभागि थिए ।
वार्तामा जेनजीहरूको सुरक्षा, घाइतेहरूको उपचारमा समन्वय र घटनाको निष्पक्ष छानबिन तथा कारबाही गर्ने जस्ता तीन वटा विषयलाई समेटेर विज्ञप्ति निकाल्ने प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जनाएका छन् । प्रजिअ मिश्रले सार्वजनिक रूपमा घुमिरहेका आरोपित व्यक्तिहरूलाई तुरुन्तै पक्राउ गर्न आफूबाट निर्देशन भइसकेको भन्दै लुकेको अवस्थामा रहेकाहरूलाई पक्राउ गर्ने दिन तोक्न उपयुक्त नहुने बताएका छन् ।
दुवै पक्षबीच छलफल जारी रहेको समयमा जेनजीका अगुवा सुदन गुरुङ पनि सहभागी भएका छन् । छलफलमा सहभागी भएका उनले जेनजीमाथि कुटपिट गर्ने एमालेका कार्यकर्ता समात्न आन्दोलन नै गर्नुपर्ने अवस्था किन आयो भनेर प्रशासनसँग प्रश्न गरे ।
जेनजीहरूको उजुरीका आधारमा स्थानीय प्रशासनले तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । जसमा जितपुर सिमरा उपमहानगरपालिकाका एमालेबाट निर्वाचित दुई जना वडाध्यक्ष र अर्का एक स्थानीय एमालेका युवा नेता छन् ।
बुधबार एमाले नेता–कार्यकर्ताले केही जेनजी युवालाई कुटपिट गरेपछि चर्किएको विवादको कारण दुई दिनदेखि बारा अशान्त छ ।
