News 24 Television
हिमाली जिल्लाभरि हिमपात, किसान खुशीले गद्गद्

मुगु । मौसममा आएको परिवर्तनसँगै देशका विभिन्न हिमाली जिल्लामा हिमपात सुरु भएको छ । मुगु, रसुवा, गोरखा, बैतडी, डोल्पा, मनाङ, मुस्ताङ, रुकुमपूर्व लगायतका हिमाली जिल्लामा भारी हिमपात भइरहेको छ । हिमपातका कारण दैनिक जनजीवन कष्टकर बनेपनि गहुँ लगायतका हिउँदे बालीलाई फाइदा पुग्ने भएकाले किसानहरूले भने राहत महसुस गरिरहेका छन् । 
 
हिमाली जिल्लाहरुमा भारी हिमपातका कारण जनजीवन कष्टकर बनेको छ ।  शुक्रबारदेखिको लगातारको वर्षासँगै हिमपात भएको हो । मुगुको उच्च हिमाली क्षेत्रमा बाक्लो हिउँ परेको छ भने तल्लो भेगमा वर्षा भइरहेको छ  । 

पूर्वी भेग मुगुम कार्मारोङ गाउँपालिकाका सबैजसो बस्तीमा बाक्लो हिमपात भइरहेको छ । छायाँनाथ रारा नगरपालिका, कार्मारोङ गाउँपालिका, खत्याड गाउँपालिका, सोरु गाउँपालिकाको सवै स्थानमा हिमपात भएको छ । गएको भदौं महिनाबाट बर्षासंगै हिउँपात नहुँदा सुख्खा खडेरीको मारसंगै कृषकहरुले लगाएको अन्नबाली, फलफुल, तरकारी सुकेर किसानमा भोकमरीकोे चिन्ता थियो । तर हिमपातले बाली सप्रने भन्दै किसान भने खुसी भएका छन् ।

मुगुमा ३ लाख १० हजार ३ सय १० हेक्टर जमिनमध्ये खेतियोग्य १६ हजार ७ सय ६३ हेक्टर जमिन रहेको छ । जसमध्ये १९ सय ३२ हेक्टर जमिनमा हिउँदे खेती गरीन्छ भने आलु र तरकारी ४ सय ७० हेक्टरमा लगाउने गरीन्छ । 

हिउँदे तरकारी तथा फलफुल १२ सय हेक्टरमा गरीएको छ । प्रायजसो सबै क्षेत्रमा आकासे पानीको भरमा खेति गरिन्छ । यस्तो अवस्थामा अहिले भएको हिमपातले कृषकहरुलाई निकै सहज भएको छ । 

गएको भदौं, असोज महिनादेखी बर्षा नहुदा कृषकहरुले लगाएका अन्न बालीहरुमा समस्या देखीएको थियो । मुगु लगायत साबिकको कर्णाली प्रदेश भरी हिमपात र बर्षा हँुदा कृषकहरुले लगाएका फलफुलका बिरुवा, बेमौसमी तरकार लगायत लगाउन सहज हुनुका साथै रोग, किरा कमीला सबै नष्ट हुने भएकाले कृषकहरुलाई निकै सहज भएको जिल्ला कृषि बिकास कार्यालय मुगुले जनाएको छ ।  

अध्याधिक मात्रामा हिउँ परेपछी नाग्म गमगढी सडक खण्ड अन्तरगत जुम्लाको जोठिज्यूला, भुलभुले, सातमोड, झाडनाउलामा सडक अबरुद्घ भएको छ । त्यस्तै रारा ताल्चा बिमानस्थल समेत बन्द हुँदा सुर्खेत, नेपालगंन्ज, काठमाडौं जाने आउने हवाइ यात्रु रोकिएका छन् भने मालवाहक सहितका साना ठुला सवारी साधन रोकीदा यात्रुहरु बीचबाटोमै अलपत्र परेका छन् । 

प्रकाशित मिति: बिहीबार, माघ १५, २०८२  ०८:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update