News 24 Television
विराटनगरमा सल्कियो बर्ड फ्लू, किसानको लाखौ क्षति

मोरङ । मोरङमा बर्ड फ्लू संक्रमण तीव्र रूपमा फैलिँदै जाँदा जिम्मेवार निकायको ढिलासुस्ती र लापरवाहीका कारण जोखिम झन् बढ्दै गएकोे छ ।

बर्ड फ्लू नियन्त्रण नियमावली–२०७८ अनुसार संक्रमण पुष्टि भएलगत्तै प्रभावित क्षेत्र चार किल्ला तोकेर आवतजावत तथा पंक्षीजन्य पदार्थको ओसारपोसारमा पूर्ण प्रतिबन्ध लगाउनुपर्ने व्यवस्था भएपनि त्यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । 

विराटनगर महानगरपालिका–४ स्थित दाहाल कृषि फार्ममा गत बुधबारदेखि कुखुरा मर्न सुरु भएको थियो । फर्म सञ्चालक बोधराज दाहालले कारण पत्ता लगाउन मृत कुखुरा पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा बुझाएका थिए । शनिबारसम्ममा करिब ३ हजार कुखुरा मरिसकेका थिए भने आइतबार बिहान मात्र बर्ड फ्लु पुष्टि भएको रिपोर्ट प्राप्त भयो । 

संक्रमण पुष्टि हुन करिब ४ दिन लागेको र त्यसपछि पनि नियन्त्रणका लागि आवश्यक कदम चाल्न थप समय लाग्दा फार्म आसपासका क्षेत्रमा ६ दिनसम्म कुनै सुरक्षा सतर्कता अपनाइएको थिएन । यस अवधिमा न त प्रभावित क्षेत्र घोषणा गरियो, न आवतजावतमा रोक लगाइयो । यसो हुँदा संक्रमण फैलने जोखिम अझ बढाएको छ ।

हाल मोरङका सुन्दरहरैंचा, उर्लाबारी, कटहरी र विराटनगर क्षेत्रमा बर्ड फ्लुका कारण करिब ५५ हजार कुखुरा नष्ट गरिसकिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, विराटनगरले जनाएको छ । 

अन्य स्थानबाट पनि कुखुरा मर्ने घटनाको रिपोर्ट आउने क्रम जारी रहेको र परीक्षण भइरहेको बताइएको छ । पंक्षी रोग विज्ञ डा. मनिष कुमार साहका अनुसार मापदण्ड विपरीत कुखुरा फार्म सञ्चालन हुनु र आवश्यक जैविक सुरक्षा बायो सेक्युरिटी नअपनाइनु संक्रमण फैलिनुको मुख्य कारण हो । उनले समयमै सतर्कता अपनाएर जोखिम पहिचान गर्न सके क्षति न्यून गर्न सकिने बताए ।

नियमावली अनुसार प्रभावित क्षेत्र घोषणा गरी कडाइका साथ नियन्त्रण उपाय लागू गर्नुपर्ने भएपनि त्यसको पालना नहुँदा संक्रमण अन्य क्षेत्रमा फैलिने खतरा बढेको विज्ञहरूको चेतावनी छ । 

यसैबीच, बर्ड फ्लुका कारण कुखुरा नष्ट भएपछि फार्म सञ्चालक दाहालले करिब ६० लाख रुपैयाँ बराबरको क्षति व्यहोर्नु परेको बताएका छन । उनले कृषि बीमा गराएको भए पनि एच–नाइन प्रकारमा मात्र बीमा लागू हुने र एच–फाइभमा दाबी गर्न नपाइने जानकारी दिए ।

संक्रमण नियन्त्रणमा ढिलाइ, नियमावलीको कमजोर कार्यान्वयन र किसानको बढ्दो क्षतिले मोरङमा बर्ड फ्लु संकट थप गम्भीर बन्दै गएको छ । 

प्रकाशित मिति: बुधबार, चैत ११, २०८२  ०९:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update