एचआईभी/एड्ससम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले एचआईभी हेल्थ केयर फाउन्डेसन (एचएचएफ) नेपालले विश्व एड्स दिवसको अवसरमा सांगीतिक कन्सर्ट आयोजना गर्ने भएको छ । फाउन्डेसनले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी डिसेम्बर १ अर्थात् मंसिर १५ गते ‘विश्व एड्स दिवस सांगीतिक कन्सर्ट २०२६’ आयोजना गर्ने जानकारी दिएको हो ।
काठमाडौंको नक्सालस्थित होलिडे इन एक्सप्रेसको संगम स्वर्णिम हलमा आयोजित पत्रकार सम्मेलनमा कार्यक्रमको उद्देश्य र महत्त्वबारे जानकारी गराइएको थियो । संगीत र मनोरञ्जनमार्फत एचआईभी/एड्सबारे समाजमा रहेका भ्रम हटाउँदै सचेतना फैलाउने कन्सर्टको मुख्य लक्ष्य रहेको आयोजकले जनाएको छ ।
कन्सर्टमार्फत सर्वसाधारणलाई समयमै एचआईभी परीक्षण गर्न प्रोत्साहित गर्नुका साथै उपचारको महत्त्वबारे जानकारी दिइनेछ । साथै एचआईभी संक्रमित व्यक्तिहरूले भोग्दै आएको सामाजिक लाञ्छना र विभेद अन्त्य गर्दै उनीहरूका लागि सम्मानजनक तथा सहयोगी वातावरण निर्माण गर्न पनि कार्यक्रमले सन्देश दिनेछ ।
कार्यक्रममा सहभागी हुन इच्छुकले खल्ती एपमार्फत निःशुल्क नाम दर्ता गर्न सक्नेछन् । कलाकार, दर्शक र आमसमुदायलाई एउटै मञ्चमा जोड्दै संगीतसँगै सामाजिक उत्तरदायित्वको सन्देश प्रवाह गर्ने आयोजकको विश्वास छ । कार्यक्रम व्यवस्थापन तथा सञ्चार समन्वयको जिम्मेवारी मार्स एड्भर्टाइजिङ एन्ड रिसर्च प्रालिले लिएको छ ।


